पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने दिशामा महत्वपूर्ण प्रगति भएको छ । आवश्यक सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण सम्पन्न भएपछि फ्लाईदुबईले आगामी सेप्टेम्बर २३, २०२६ देखि दैनिक उडान सञ्चालनका लागि अनुमति प्राप्त गरेको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै यसलाई पोखराका लागि खुसीको खबर र ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्नु भएको छ । उहाँका अनुसार यो केवल नयाँ हवाई सेवा थपिने विषय मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, आर्थिक गतिविधि विस्तार गर्ने तथा काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने महत्वपूर्ण अवसर हो ।
प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएसँगै दुबईमार्फत मध्यपूर्व, युरोप, अफ्रिका लगायत विश्वका ३०० भन्दा बढी सहरसँग पोखराको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । यसले पर्यटन उद्योग, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यवसायिक क्षेत्रलाई समेत प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।
मेयर आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि लामो समयदेखि प्रयास हुँदै आएको उल्लेख गर्दै यस अभियानमा सहयोग पु¥याउने नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेल, युनिभर्सल ट्राभल्सका अध्यक्ष पराशर प्रसाई तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्नु भएको छ ।
उहाले पर्यटन व्यवसायी, पोख्रेली नागरिक तथा स्वदेश–विदेशमा रहेका नेपालीलाई प्रारम्भिक चरणमा पोखरा–दुबई रुट प्रयोग गरी सेवा दिगो बनाउन सहयोग गर्न आग्रह गर्नु भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयपछि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सम्भावना बलियो बनेको भन्दै पर्यटन तथा व्यवसायिक क्षेत्रले यसलाई उत्साहजनक उपलब्धिका रूपमा लिएका छन् ।