• २०८३ मंसिर ४, बिहीबार
  • 2026 November 19, Thursday

पत्रकारको जिल्ला प्रशासन कार्यालयका धर्ना

  • २०८३ जेष्ठ २९, शुक्रबार

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले विभेदकारी विज्ञापन नीतिको विरुद्धमा जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिइएको छ ।  निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक लगाउने सरकारी निर्णयको विरोध गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाले जनाएको छ ।

महासंघले सरकारी विज्ञापन वितरणमा सबै सञ्चारमाध्यमको समान अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन दिने निर्णय विभेदकारी भएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

सरकारको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि असर पार्ने, सूचना प्रवाहमा नियन्त्रण गर्ने तथा सरकारी खर्च कटौतीको बहानामा निजी सञ्चारमाध्यमलाई विज्ञापनबाट वञ्चित गर्ने नीति स्वीकार्य नहुने नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापाले बताउनुभयो ।

धर्ना कार्यक्रममा महासंघका पदाधिकारी, पूर्वअध्यक्ष, पेशागत संगठनका अध्यक्ष तथा पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यहरू, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको आह्वानमा सञ्चालन गरिएको देशव्यापी दबाबमूलक अभियानअन्तर्गत सङ्कलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य मार्फत प्रधामन्त्रीलाई बुझाइएको थियो ।

महासंघले संघ, प्रदेश तथा स्थानीय तहका सबै निकायबाट वितरण हुने सरकारी विज्ञापनमा समान पहुँच र अवसर सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । देशभर सञ्चालन भइरहेको विरोध अभियानमार्फत पत्रकार महासंघले सरकारी विज्ञापनसम्बन्धी निर्णय पुनर्विचार गर्न सरकारलाई निरन्तर दबाब दिइरहेको छ ।

  • २०८३ जेष्ठ २९, शुक्रबार