बागलुङ । बागलुङको दुर्गम गाउँका तीन गाउँमा एक घर एक धारा निर्माण गरिएको छ । वर्षोदेखिको समस्याको रुपमा रहेको खानेपानी समस्या छ महिनामै अन्त्य भएको छ । बागलुङको दुर्गम मानिएको ढोरपाटन नगरपालिका–४ खुङ्गा, सेराबाङ र किरी बस्तीमा कादुरीको सहयोगमा ३६१ घरमा एक घर एक धारा निर्माण गरिएको छ ।
कादुरी एग्रिकल्चरल एड एसोसिएसन (ब्रिटिस गोर्खाज नेपाल) को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको योजनाबाट ३६१ घरमा खानेपानी पु¥याइएको छ । बर्सौदेखिको खानेपानीको समस्याको समाधान भएर घरमै खानेपानीको धारा आएपछि स्थानीय खुसी भएका छन् ।
वर्षौँदेखि पानीको अभाव झेल्दै आएका स्थानीयले अब घरघरमै शुद्ध खानेपानी पाएका छन् । ढोरपाटन नगरपालिका–४ का स्थानीय कमलाछवि विकले घरमै खानेपानीको धारा आउदा दंग परेको बताउनुहुन्छ । “पहिले दिनमा दुई–तीन गाग्री पानीले गुजारा चलाउनुपथ्र्यो, सुक्खा याममा त दुई–तीन घण्टा हिँडेर पानी ल्याउनुपर्ने अवस्था थियो,” विकले भन्नुभयो “खानेपानी मात्रै होइन, पशुचौपायालाई पानी खुवाउन र तरकारी खेती गर्न पनि सहज भएको छ । ”
ढोरपाटन नगरपालिका–४ का खुङ्गा, सोरबाङ र किरी बस्तीमा खानेपानी पु¥याइएको ढोरपाटन नगरपालिका–३ खुङ्गाका वडाध्यक्ष तिलक पुनले जानकारी दिनुभयो । योजनाका अनुसार ३६१ घरमा एक–एक वटा धारा जडान गरिएको छ । साथै सोरबाङ आधारभूत विद्यालय र दीपक आधारभूत विद्यालयमा शौचालय तथा विद्यालयका लागि बालमैत्री धाराको समेत निर्माण गरिएको छ । खानेपानी योजनामा कादुरीबाट रु.तीन करोड ३३ लाख ९४ हजार २५३ र ११ प्रतिशत जनश्रमदानबाट ४२ लाख बराबरको योगदान जुटाइएको छ । यससँगै कुल रु. तीन करोड ७५ लाख ९४ हजारको लागतमा योजना सम्पन्न भएको हो । विद्यालयका शौचालय निर्माणका लागि भने छुट्टै बजेट खर्च गरिएको वडाध्यक्ष पुनले जानकारी बताउनुभयो ।
२०८१ वैशाखमा विस्तृत सर्वेक्षण सम्पन्न गरी २०८२ कात्तिक १३ गते निर्माण सुरु गरिएको योजना २०८३ वैशाख २६ गते सम्पन्न भएको थियो । योजना सम्पन्न भएपछि जेठ २७ गते विशेष समारोहबीच उद्घाटन गरिएको थियो । नयाँ योजना निर्माण हुनु अघि प्रयोगमा रहेको पुरानो खानेपानी प्रणाली जीर्ण बन्दै गएको र मुहान तल भएकाले माथिल्लो बस्तीमा पानी पुग्नै नसक्ने अवस्था रहेको वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।
नयाँ योजनाअन्तर्गत बस्तीबाट करिब नौं किलोमिटर टाढाको मुहानबाट पानी ल्याइएको छ । रु.३२ हजार ५७० मिटर पाइपलाइन बिछ्याएर दुई वटा इन्टेक, एक फिल्टर ट्यांकी, १० वितरण च्याम्बर र १७ रिजर्भ ट्यांकी निर्माण गरिएको छ । सरकारी तथा अन्य स्रोतबाट पर्याप्त बजेट नपाएपछि कादुरीमार्फत योजना अगाडि बढाइएको वडाध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार अवकाशप्राप्त भारतीय सेना उजिरबहादुर पुनमार्फत पोखरास्थित वेलफेयर कार्यालयमा निवेदन दिएपछि योजना स्वीकृत भई कार्यान्वयनमा गएपछि स्थानीय खुसी भएका छन् । कादुरीले शुद्ध तथा गुणस्तरीय र समयमै काम सम्पन्न गर्ने अभ्यासका कारण स्थानीयले संस्थामाथि विश्वास गरेको बताउनुभयो ।
“यति ठूलो योजना निर्माणका लागि २१० दिनको समय निर्धारण गरिएको थियो र तोकिएकै अवधिमा काम सम्पन्न भयो,” वडा अध्यक्ष पुनले भन्नुभयो । योजना सञ्चालनमा आएपछि वर्षौँदेखिको पानी अभाव अन्त्य भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष बलबहादुर बुढाथोकीले जानकारी दिनुभयो । “पहिले माथिल्लो बस्तीमा पानी नै पुग्दैनथ्यो, पाइप चुहिने समस्या पनि धेरै थियो, अहिले सबै घरमा सहज रूपमा पानी पुगेको छ स्थानीयले छ महिनामै खानेपानी समस्या समाधान भएपछि स्थानीय दंग परेका छन्” उहाँले भन्नुभयो ।
योजनाको दीर्घकालीन सञ्चालनका लागि प्रत्येक धारामा मिटर जडान गरिएको छ । हाल प्रतिधारा मासिक रु.७० शुल्क उठाउने व्यवस्था गरिएको छ भने मर्मतसम्भार कोष र कर्मचारी व्यवस्थापनका लागि सोही रकम उपयोग गरिने समितिले जनाएको छ । घरघरमा खानेपानी पुगेपछि दैनिक जीवन सहज मात्र बनेको छैन, सरसफाइ, कृषि र पशुपालनमा समेत सकारात्मक परिवर्तन आएको छ । कादुरीले निर्माण गरेको प्रणालीको उचित संरक्षण गर्न सके आगामी धेरै दशकसम्म यस क्षेत्रको खानेपानी समस्या समाधान हुने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।