बागलुङ । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले आफ्नो जन्मदिन कुकुर होस्टेलमा पुगेर मनाउनुभएको छ ।
सामुदायिक तथा छाडा कुकुर व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले दुई महिना यता सञ्चालनमा ल्याइएकोे कुकुर होस्टेलमा कुकुरलाई आवश्यक खाद्यन्न र सरसफाईका सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
होस्टेलमा रहेका कुकुरलाई आवश्यक पर्ने चामल, बिस्कुट र सरसफाईका सामाग्री होस्टेलका कर्मचारीलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले पुण्य कार्य, जन्मदिन जस्ता कार्यमा कुकुरलाई समेत सहयोग गर्न सकिने उहाँको भनाई छ । समुदायमा रहेका, हेरचाह नपाएका र अपहेलित कुकुरलाई होस्टेलमा राखेर नगरपालिकाले व्यवस्थित गरिरहेको बताउदै श्रेष्ठले आफ्नो जन्मदिनमा १० हजार बढीको खाद्यन्न सहितको सामाग्री सहयोग गरेको बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले सडकमा छाडा छोडिएका कुकुरबाट हुने जोखिम, रेबिजजस्ता रोगको नियन्त्रण तथा कुकुरको सुरक्षाका लागि नगरपालिकाले कुकुर होस्टेल सञ्चालनमा ल्याएको बताउनुभयो । बागलुङ नगरपालिकाले वडा नम्बर ३ स्थित सिम्ले नजिकै पाँच रोपनी जग्गामा एक करोड खर्चेर होस्टेल निर्माण गरिएको छ । “पालिकाले निर्माण गरेको कुकुर होस्टेल देशकै नमूना र पहिलो हो, यो होस्टेलमा समुदायमा समस्या ग्रस्त, रोगी र अपाङ्ग कुकुरलाई राखिएको छ” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “होस्टलेमा रहेका कुकुरलाई आफ्नो खुसी समेत साट्न सकिने छ, पुश हितमा लागेका संघ संस्थाले समेत सहयोग गरेर कुकुरलाई माया देखाउन सक्नुहुन्छ ।”
कार्यक्रमका क्रममा नगरप्रमुख श्रेष्ठले होस्टेलमा कार्यरत रविबहादुर क्षेत्रीलाई चार बोरा चामल, कुकुरको दाना, काइयो तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो ।

५० वटा कुकुर राख्ने क्षमता रहेको होस्टेलमा पहिलो चरणमा नगरवासीलाई दुःख दिइरहेका २० वटा सामुदायिक कुकुरलाई उद्धार गरी राखिएको पशु सेवा शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी पौडेल, वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, प्रशासन प्रमुख भीमसेन पन्तसहित नगरपालिकाका कर्मचारी, पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पशु सेवा शाखा प्रमुख मित्रप्रसाद सापकोटाले गर्नु भएको थियो ।
बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयसँगको साझेदारीमा करिब एक करोड रुपैयाँ लागतमा नगरपालिका–३ स्थित पाँच रोपनी सार्वजनिक जग्गामा कुकुर होस्टेल निर्माण गरेको हो । होस्टेल निर्माणसँगै जग्गा तारबार गरिएको छ भने उद्धार गरिएका कुकुरको नियमित हेरचाहसमेत सुरु गरिएको छ । नगरपालिकाले दुई वर्षअघि नै आफ्नो नीति तथा कार्यक्रममा सामुदायिक कुकुर व्यवस्थापनका लागि कुकुर होस्टेल निर्माण गर्ने योजना समावेश गरेको थियो । सडकमा छाडा छाडिने कुकुरबाट हुने जोखिम र रेबिज लगायतका रोग नियन्त्रण गर्न होस्टेल संचालन गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । छाडा कुकुरका कारण दुर्घटना भएर मोटरसाईकल चालक घाइते भएको र स्थानीयलाई टोकेर रेबिज रोगसमेत लाग्न थालेपछि नगरपालिकाले करोड खर्चेर होस्टेल निर्माण गरेको हो ।
नगरपालिकाले घरमा पाल्ने कुकुरको दर्ता अनिवार्य गरेको, कुकुरको पहिचान गर्ने र औषधी र खोपको समेत व्यवस्था मिलाएको छ । दर्ता गरेको कुकुर सडकमा आएमा घरधनीलाई जिम्मेवार बनाउन अनिवार्य दर्ताको व्यवस्था मिलाएको पशु शाखाले जनाएको छ । दर्ता गर्दा २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । दर्ता गरिएका कुकुरलाई नगरले खोप र औषधि सेवा निःशुल्क र मृत्यु भएमा शव व्यवस्थापन समेत गर्दै आएको छ । खोप लगाएका कुकुरलाई घरमा पालेको भए रातो र सामुदायिक भए घाटीमा नीलो पेटी समेत लगाएर पहिचान दिने व्यवस्था थालिएको हो ।
नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले छाडा कुकुरलाई खोप लगाउने र समातेर होस्टेल पठाउने काम गरिरहेको हो । कुकुर होस्टेल नेपालमै नमूना कार्यक्रम रहेको नगरपालिकाको भनाई छ । सामुदायिक कुकुरबाट रातको समयमा नागरिकलाई निकै समस्या भइरहेको सन्दर्भमा नगरपालिकाले चालेको अभियान राम्रो भएको बागलुङ बजारका स्थानीय रवि सुवेदीले बताउनुभयो ।