• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

दोहोरी सांझको विवाद प्रकरण : घटनाको निष्पक्ष छानबिन गर्न दुवै पक्षको माग

  • २०८३ असार १८, बिहीबार

 

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघ र पुवार खड्का समाज बागलुङबीच असार १३ गते राति भएको घटनालाई लिएर विवाद चर्किएको छ । दुवै पक्षले आ–आफ्नो धारणा सार्वजनिक गर्दै घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् ।

बागलुङ उद्योग वाणिज्य संघले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत संघ र पदाधिकारीलाई लक्षित गरी प्रकाशित केही अभिव्यक्ति तथा आरोपहरू भ्रामक र तथ्यहीन रहेको जनाएको छ ।

संघका अनुसार असार १३ गते राति भएको घटना संघको कुनै आधिकारिक कार्यक्रम, निर्णय वा संस्थागत गतिविधिसँग सम्बन्धित नभई व्यक्तिगत प्रकृतिको घटना भएको उल्लेख गरेको छ । संघले घटनालाई संस्थासँग जोडेर प्रचारप्रसार गर्नु गलत भएको भन्दै आपत्ति जनाएको छ ।

विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूलाई दोषी देखाउने वा जातीय तथा सामाजिक रंग दिएर प्रचार गर्नु दुःखद र गैरजिम्मेवारपूर्ण कार्य भएको उल्लेख गरिएको छ । संघले जाति, समुदाय, वर्ग र क्षेत्रका आधारमा विभेद वा सामाजिक द्वेष फैलाउने गतिविधिको समर्थन नगर्ने स्पष्ट पारेको छ ।

घटनाको वास्तविकता सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको अवस्थामा एकपक्षीय तथा भ्रामक सूचना सार्वजनिक नगर्न संघले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई आग्रह गरेको छ ।

यता, पुवार खड्का समाज बागलुङले पनि छुट्टै विज्ञप्ति जारी गर्दै आफ्ना सदस्यद्वय मनोज खड्का र सचिन खड्कामाथि जातीय रूपमा अपमानजनक व्यवहार भएको दाबी गरेको छ ।

समाजका अध्यक्ष अमर खड्काद्वारा जारी अनुरोध पत्रमा असार १३ गते राति गोल्डेन गेटस्थित दोहोरी साँझमा भएको घटनामा उद्योग वाणिज्य संघका केही पदाधिकारीबाट अपमानजनक व्यवहार भएको आरोप लगाइएको छ ।

समाजले घटनामा संलग्न भनिएका व्यक्तिहरूले मदिरा सेवन गरी विवाद सिर्जना गरेको, टेबल तथा माइक तोडफोड गरेको र छुट्याउन खोज्दा आफ्ना सदस्यहरूमाथि कुटपिट तथा अपमान गरेको दाबी गरेको छ ।

समाजले घटनालाई एकतर्फी रूपमा प्रस्तुत गरी आफ्ना सदस्यहरूलाई मात्र लक्षित गरेर मुद्दा दर्ता गरिएको आरोप लगाउँदै पत्रकार, बुद्धिजीवी तथा समाजका अगुवाबीच छलफल गर्नुपर्ने जनाएको छ ।

घटनाबारे दुवै पक्षका फरक–फरक दाबी सार्वजनिक भएपछि निष्पक्ष छानबिनमार्फत वास्तविकता बाहिर ल्याउनुपर्ने आवाज उठ्न थालेको छ । सामाजिक सद्भाव र संस्थागत प्रतिष्ठामा असर नपर्ने गरी कानुनी प्रक्रियाबाट समाधान खोजिनुपर्ने सरोकारवालाहरूको भनाइ छ । घटनाका बारेमा अनुसन्धान भइरहेको, निवेदन उपर छलफल भइरहेको र अन्य कुरा बोल्न नमिल्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी रामेश्वर त्वातिले बताउनुभयो ।

  • २०८३ असार १८, बिहीबार