• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

वार्षिक प्रगति सार्वजनिक गर्ने बागलुङको पहिलो कार्यालय बन्यो जनस्वास्थ्य

  • २०८३ असार २४, बुधबार

बागलुङ । बागलुङ जिल्लाको प्रदेश जनस्वास्थ्य कार्यलायले चालु आर्थिक वर्षको प्रगति सर्वजनिक गरेको छ । चालु आर्थिक वर्षको प्रगति सार्वजनिक गर्ने प्रदेश जनस्वास्थ्य कार्यालय पहिलो बनेको छ ।
कतिपय कार्यालयले प्रगति सार्वजनिक समेत गर्न नसकेको सन्र्दभमा प्रदेश जनस्वास्थ्य कार्यलयले चालु आर्थिक वर्षको असार २४ गते नै कार्यक्रम सम्पन्न गरी प्रगति सार्वजनिक गरेको छ । कार्यालय प्रमुख प्रविण शर्माका अनुसार कार्यालयले समग्रमा ९० प्रतिशत उपलब्धी हासिल गरेको बताउनुभयो ।

कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु. ६ करोड ५१ लाख ८३ हजार बजेटमध्ये रु.४ करोड २५ लाख ९० हजार ४६८ खर्च गरेको जनाएको छ । समग्र वित्तीय प्रगति ६५.३४ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत रहेको छ । चालुतर्फ ७०.९५ प्रतिशत तथा पुँजीगततर्फ ३०.३३ प्रतिशत वित्तीय प्रगति हासिल भएको शर्माले बताउनुभयो । कार्यालयले चालु आर्थिक वर्षमा दादुरा महामारी नियन्त्रण, पूर्ण खोप सुनिश्चितता, मातृ तथा शिशु स्वास्थ्य, पोषण, नसर्ने रोग नियन्त्रण, क्षयरोग तथा कुष्ठरोग व्यवस्थापन लगायतका जनस्वास्थ्य कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेको जनाएको छ ।

कार्यालयले पत्रकार अन्तरक्रिया कार्यक्रममार्फत वर्षभरि सम्पन्न भएका कार्यक्रम र उपलब्धिहरू सार्वजनिक गरेको हो । सार्वजनिक कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी नवराज वरालले पारदर्शीतामा प्रदेश जनस्वास्थ्य कार्यालय पहिलो भएको बताउनुभयो । जिल्लामा फैलिएको दादुरा महामारीबाट २४४ जना संक्रमित भएका थिए । महामारी नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानको पहिलो चरणमा ढोरपाटन नगरपालिकामा ६ हजार ७५ र दोस्रो चरणमा निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका तथा गलकोट नगरपालिकामा २६ हजार ३४७ जनालाई खोप लगाइएको थियो । यसरी अभियानमार्फत कुल ३२ हजार ४२२ जनाले खोप प्राप्त गरेका छन् । यस्तै, नियमित खोप कार्यक्रममार्फत १० हजार ९७९ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम, विद्यालय केन्द्रित खोप अभियान, खोप केन्द्रहरूको अनुगमन, कोल्डचेन व्यवस्थापन, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको परिचालन, नियमित समीक्षा र खोज तथा खोप अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।


मातृ तथा नवशिशु स्वास्थ्यतर्फ बर्थिङ सेन्टर तथा आपत्कालीन प्रसूति सेवामा कार्यरत स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, किशोरकिशोरी लक्षित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य शिक्षा, प्रजनन स्वास्थ्य स्क्रिनिङ, मातृ मृत्यु निगरानी तथा स्वास्थ्य संस्थामा अनसाइट कोचिङ सञ्चालन गरिएको छ । यसका साथै महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आधारभूत तथा पुनर्ताजगी तालिम, यातायात तथा सञ्चार खर्च उपलब्ध गराइएको छ ।
बाल स्वास्थ्य कार्यक्रममा तालिम तथा समीक्षा सम्पन्न गरिएको छ भने परिवार योजना कार्यक्रमअन्तर्गत समुदायस्तरीय अन्तरक्रिया, परिवार योजना शिविर र तथ्याङ्क व्यवस्थापनसम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको कार्यालयले जनाएको छ । पोषण सुधारका लागि पोषण अवस्थाको लेखाजोखा, स्वास्थ्य प्रवद्र्धनात्मक विद्यालय कार्यक्रम, स्तनपान परामर्शदाता तालिम, पोषणमैत्री स्वास्थ्य संस्था अभिमुखीकरण तथा पोषणसम्बन्धी अन्तरक्रियाहरू सञ्चालन गरिएका छन् ।

एचआईभी तथा यौनरोग नियन्त्रणअन्तर्गत विद्यालयहरूमा ४६ वटा सचेतनामूलक सत्र सञ्चालन गरिएको छ । पत्रकार, जनप्रतिनिधि, प्रहरी तथा मुख्य जोखिम समूहका व्यक्तिहरूसँग लाञ्छना तथा भेदभाव न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको कार्यालयले जनाएको छ । क्षयरोग तथा कुष्ठरोग नियन्त्रणका लागि सक्रिय खोजपड्ताल, सम्पर्क परीक्षण, पुनर्ताजगी तालिम, कोहोर्ट विश्लेषण तथा प्राविधिक अनुगमन गरिएका छन् । नसर्ने रोग तथा मानसिक स्वास्थ्य कार्यक्रमअन्तर्गत मधुमेह, उच्च रक्तचाप, रक्तअल्पता तथा मानसिक स्वास्थ्य समस्याको स्क्रिनिङबाट ६०४ जना लाभान्वित भएका छन् भने मानसिक स्वास्थ्य प्रवद्र्धन, आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मी अभिमुखीकरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

महामारी तथा रोग नियन्त्रण कार्यक्रमअन्तर्गत सुरक्षित खानेपानी, डेंगी नियन्त्रण, लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । प्रयोगशालाबाट जिल्लाभर ३६९ वटा खानेपानी नमुना परीक्षण गर्दा ७७ नमुनामा कोलिफर्म जीवाणु फेला परेको कार्यालयले जनाएको छ । सबैभन्दा धेरै कोलिफर्म गलकोट नगरपालिकाका ३८ नमुनामा, त्यसपछि जैमिनी नगरपालिकाका २७ नमुनामा भेटिएको छ ।

उपचारात्मक सेवातर्फ आधारभूत स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धति, आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी प्राथमिक उपचार, औषधिको माग प्रक्षेपण तथा स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्डसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । साथै स्वास्थ्य व्यवस्थापनतर्फ निजी स्वास्थ्य संस्था अनुगमन, स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि, स्वास्थ्य सूचना प्रणाली तालिम, एम्बुलेन्स सेवा समीक्षा, डाटा प्रमाणीकरण तथा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

  • २०८३ असार २४, बुधबार