• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

ग्यास अभावको हल्ला र वैकल्पिक उर्जा खोज्ने आवश्यकता

  • २०८३ श्रावण २६, मंगलवार

सम्पादकीय। विहान ४ बजेदेखि बागलुङ बजारका चोकचोकमा खाली ग्यास सिलिन्डर बोकेर दौडिरहेका उपभोक्ताको दृश्य हप्तौँदेखि दोहोरिँदै आएको छ । तर, ग्यास सहज रूपमा पाउने वातावरण अझै बनेको छैन । गृहलक्ष्मी, भानु, शक्ती र नेपाल ग्यासजस्ता कम्पनीमार्फत वितरण हुँदै आएको एलपी ग्यास बागलुङमा नियमित रूपमा उपलब्ध थियो । तर देशभर अभाव भएको समाचार र सामाजिक सञ्जालमा प्रचार भएपछि प्रशासनले अनुगमन सुरु ग¥यो । एक दिन १८ वटा डिपोमा भित्रिएका सिलिन्डर सडकमै वितरण गरिएको थियो । बागलुङमा दैनिक ३ सय, मासिक ९ हजार सिलिन्डर ग्यास खपत हुन्छ । तर साउन २५ गतेसम्म १४ हजारभन्दा बढी सिलिन्डर भित्रिएको तथ्याङ्क छ । प्रहरी प्रशासनकै रोहोबरमा वितरण भए पनि उपभोक्ता अझै सडकमै ग्यास खोजिरहेका छन् । प्रश्न उठ्छ के साँच्चै अभाव छ रु एक महिनामै ५ हजारभन्दा बढी उपभोक्ता थपिएका हुन रु वा प्रशासनले दिएको सूचना जनतासम्म नपुगेको हो रु सोमबार नागरिकता बुझाएर ग्यास वितरण गरिएको थियो । प्रशासनले संचित गर्ने प्रवृत्ति रोक्न उपाय खोजेको छ । डिलरमार्फत वितरण गर्दा ग्राहकको वास्तविक आवश्यकता बुझ्न सकिन्छ, जसले कृत्रिम अभाव रोक्छ ।

नेपालमा ग्यास वा पेट्रोलियम उत्पादन हुँदैन । परनिर्भर वस्तुको अभावको हल्ला सत्य होस् वा असत्य, उपभोक्ताको मनमा त्रास पैदा हुन्छ । त्यसैले सरकारको जिम्मेवारी उपभोक्तालाई विश्वास दिलाउने हुन्छ । परनिर्भरता घटाउन वैकल्पिक उर्जा खोज्नु अपरिहार्य छ । हरित उर्जा वा विद्युत यसको विकल्प हुन सक्छ । नेपालमा विद्युत उत्पादन बढ्दै गएको छ, विशेषतः बर्खामा खेर जाने उर्जा प्रयोग गर्न सकिन्छ । सरकारले विद्युतीय उपकरण प्रयोगमा प्रोत्साहन, अनुदान र संरचना विस्तार गर्नुपर्छ । विदेशीलाई मात्र फाइदा हुने अर्थनीति बनाउनु हुँदैन । नेपालको माटो सुहाउँदो नीति अपनाउँदा जनताको भलो हुन्छ । उत्पादन भैरहेको उर्जा खेर फाल्नेगरी शुल्क र भ्याट लगाएर देश उँभो लाग्दैन । बरु उत्पादन र प्रयोगमा प्रोत्साहन बढाउनुपर्छ ।

बागलुङमा देखिएको ग्यास अभावको हल्ला केवल आपूर्ति व्यवस्थापन र सूचना प्रवाहको कमजोरी हो । वास्तविक अभाव नभए पनि उपभोक्ताको मनमा त्रास पैदा भएको छ । अहिलेको यो अवस्था हेर्दा सरकारले समयमै सूचना दिनु, पारदर्शी वितरण गर्नु, र वैकल्पिक उर्जा प्रयोगमा प्रोत्साहन गर्नु अपरिहार्य छ । ग्यास अभावको हल्ला रोक्ने उपाय केवल अनुगमन होइन, दीर्घकालीन समाधान वैकल्पिक उर्जा हो । नागरिकलाई विश्वास दिलाउने सरकार नै जिम्मेवार हुन्छ, जिम्मेवार सरकार नै भविष्यको प्रेरणा हुन्छ ।