• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

बागलुङमा ६४६ जनामा फैलियो डेङ्गु

  • २०८३ भाद्र ८, सोमबार

बागलुङमा डेङ्गु संक्रमण तिब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गु फैलिएको हो । जिल्लामा दुई महिनामा डेङ्गु बढेर ६४६ पुगेको हो ।

बागलुङ नगरपालिकामा मात्रै डेङ्गुको अधिकांश संक्रमण पुष्टी भएको पाइएको छ । १० पालिका मध्ये बागलुङ नगरपालिकामा मात्रै ४५९ जनामा डेङ्गु संक्रमण देखिएको छ । यो तथ्याङ असार र साउन महिनाको हो । यस्तै गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा ४५, जैमिनी नगरपालिकामा २७, ढोरपाटन नगरपालिकामा १७, ताराखोला गाउँपालिकामा ३, बडिगाड गाउँपालिकामा ३, निसीखोला गाउँपालिकामा ७, तमानखोला गाउँपालिकामा २ र बरेङ गाउँपालिकामा २ जना र अन्य पालिका घर भई बागलुङमा उपचारका लागि आउनुभएका ३८ जना गरी जम्मा ६४६ जनामा डेङ्गु देखिएको हो ।

बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारमा दैनिक २० देखि ३० जना सम्ममा डेङ्गु देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिनुभयो । बागलुङ बजारमा साउनमा मात्रै १८२ जनामा संक्रमण फैलिएको थियो । पानी निरन्तर परेसँगै यहाँ डेङ्गुका बिरामीको सङ्ख्या वृद्धि हुन थालेको हो  । बागलुङ नगरपालिका डेङ्गु सङ्क्रमणको हटस्पट बनेको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार डेङ्गु बढेपछि वडा तहमै खोज र नष्ट गर अभियान चलाइएको छ । लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने कार्यले निरन्तर सञ्चालन गरिएको छ ।

हरेक शुक्रबार खोज र नष्ट गर अभियान चलाउने कार्य चलिरहेको छ । लामखुट्टेको लार्भा र बासस्थान रहेको ग्यारेज, टायर, फुलदानी लगायतका क्षेत्रमा निगरानी बढाउने डेङ्गुको बासस्थान नास गर्ने काम चलिरहेको छ ।

डेङ्गु सङ्क्रमण फैलिएपछि धवलागिरि प्रादेशिक अस्पताल, बुर्तिवाङ र गलकोट अस्पतालमा उपचार गराउनेको संख्या बढेको प्रदेश जनस्वास्थ्यका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा जाँच गराएकाको मात्र हो । निजी संस्था र मेडिकलमा पनि डेङ्गु परीक्षण भइरहेकाले सङ्क्रमितको संख्या धेरै भएको अनुमान गरिएको छ ।

लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्ने, लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइका लागि समुदायमा जनचेतना फैलाउने कार्यलाई तिब्रता दिइएको छ ।

  • २०८३ भाद्र ८, सोमबार