• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

प्रकोप पूर्व सूचना प्रणालीतर्फ ध्यान जावोस्

  • २०८३ भाद्र १२, शुक्रबार

सम्पादकीय । नेपालको उत्तरी भेगमा फैलिएका हिमशृंखलाहरू हाम्रो प्राकृतिक सम्पदा मात्र होइनन्, देशको पर्यटन, जलस्रोत र आर्थिक समृद्धिका महत्वपूर्ण आधार पनि हुन् । हिमालले विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षित गरेको छ, नदीहरूमा पानी दिएको छ र जलविद्युत् उत्पादनको ठूलो सम्भावना बोकेको छ । तर यही हिमाली भूगोलमा रहेका हिमताल, हिमपहिरो, पहिरो र नदीका मुहानमा हुने आकस्मिक परिवर्तनले तल्लो तटीय क्षेत्रमा बस्ने नागरिकको जीवनलाई निरन्तर जोखिममा पारिरहेको छ । हालैको रसुवा–भोटेकोशी बाढीले फेरि एउटा गम्भीर प्रश्न उठाएको छ, हामी विपद् आउनुअघि नागरिकलाई जोगाउन सक्षम छौं कि विपद् आएपछि मात्र उद्धार र राहतमा दौडिने अवस्थामा छौं ?समाचारअनुसार बाढी आउनुभन्दा करिब १२ घण्टा अगाडि नै नदीमा पानीको सतह सतर्कता तह पार गरेको सूचना सार्वजनिक भएको थियो । तर त्यो सूचना सम्भावित विनाशको पूर्वानुमान गरेर जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्न पर्याप्त भएन । कारण स्पष्ट छ, नदीको सतह मापन गर्ने प्रणाली र आकस्मिक रूपमा आउने बाढी, हिमपहिरो वा हिमताल फुट्ने घटनाको पूर्वानुमान गर्ने प्रभावकारी प्रणाली एउटै कुरा होइन । पूर्वसूचना भनेको सामाजिक सञ्जालमा सूचना राखिदिनु मात्र होइन ।

कुन ठाउँमा, कस्तो जोखिम, कति समयमा आइपुग्न सक्छ र त्यसबाट बच्न नागरिकले तत्काल के गर्नुपर्छ भन्ने सूचना जोखिममा रहेका व्यक्तिसम्म समयमै पुग्नु नै वास्तविक पूर्वसूचना हो ।अब पुरानो शैलीबाट बाहिर निस्कनुपर्छ । हिमाली क्षेत्रमा नदीका मुहान, हिमताल, हिमपहिरोको सम्भावित क्षेत्र र जोखिमयुक्त भूभागमा आधुनिक सेन्सर, क्यामेरा, जलमापन केन्द्र तथा अन्य निगरानी उपकरण विस्तार गर्नुपर्छ । सम्भव भएसम्म उपग्रह, ड्रोन, रिमोट सेन्सिङ तथा कृत्रिम बुद्धिमत्ताजस्ता प्रविधिको प्रयोग गरेर जोखिमको संकेत पहिचान गर्ने प्रणाली विकास गर्नुपर्छ । मुहानमा असामान्य कम्पन, पानीको बहाव वा भू–आकृतिमा आएको परिवर्तन देखिएमा स्वचालित रूपमा साइरन बज्ने र सम्बन्धित बस्तीमा मोबाइल सन्देश पुग्ने व्यवस्था गर्न सकिन्छ कि ?त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी र समन्वय आवश्यक छ । चीनसँग जोडिएका उत्तरी नाका तथा हिमाली उद्गमस्थलमा हुने परिवर्तनको सूचना नेपालसम्म तत्काल आइपुग्ने गरी सीमापार सूचना आदानप्रदानको संयन्त्रसमेत विकास गर्नुपर्छ । अर्को महत्वपूर्ण पक्ष नागरिकको तयारी हो । पूर्वसूचना पाएपछि कहाँ जाने, कसरी जाने र कसलाई खबर गर्ने भन्ने विषयमा जोखिमयुक्त बस्तीमा नियमित अभ्यास गरिनुपर्छ । विद्यालय, स्थानीय समुदाय, सुरक्षा निकाय र स्वयंसेवकलाई विपद् पूर्वतयारीमा जोडिनुपर्छ ।

विपद् रोक्न सधैं सम्भव नहुन सक्छ । तर त्यसबाट हुने क्षति घटाउन भने राज्यले धेरै काम गर्न सक्छ । प्रत्येक विपद्पछि राहत र उद्धारका लागि बजेट छुट्याउनेभन्दा विपद् आउनुअघि जोखिम पहिचान, पूर्वसूचना र सुरक्षित स्थान निर्माणमा लगानी गर्नु बुद्धिमानी हो ।रसुवा–भोटेकोशीको घटना अर्को एउटा दुःखद् समाचार बनेर हराउनु हुँदैन । यसले दिएको पाठ स्पष्ट छ, विपद् आएपछि उद्धार गर्ने राज्यभन्दा विपद् आउनुअघि नागरिकलाई चेताउने र सुरक्षित बनाउने राज्य आवश्यक छ । अब पनि चेतिएनौं भने भोलिको क्षतिको जिम्मेवारी प्रकृतिमाथि मात्र थोपर्न मिल्ने छैन । यतिबेला उद्धार, व्यवस्थापन र राहतमा जुट्दै आगामी दिनमा यस्ता खाले विपदबाट जोगिनका लागि आवश्यक तयारीका बारेमा अहिले देखि नै लाग्न आवश्यक छ । घटना भएपछि लौ न केही गरौ भन्ने, घटनाको घाउ बस्दै गएपछि बिर्सने गर्नु हुदैन ।

  • २०८३ भाद्र १२, शुक्रबार