बागलुङ । प्रबुद्ध युवा समूह, बागलुङको आयोजनामा प्राथमिक मनोवैज्ञानिक उपचार, आत्महत्या न्यूनीकरण तथा सामाजिक सञ्जालका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
समाजमा जुनसुकै समयमा जस्तोसुकै घटना तथा परिस्थिति सिर्जना हुन सक्ने भएकाले त्यस्ता घटनालाई विकराल रूप लिन नदिन कार्यक्रम आयोजना गरिएको समूहका अध्यक्ष रोहित सुनारले बताउनुभयो ।
कार्यक्रममा प्राथमिक मनोवैज्ञानिक उपचारसँगै पछिल्लो समय बढ्दै गएको आत्महत्याको जोखिम र सामाजिक सञ्जालको प्रभावबारे छलफल गरिएको थियो । सामाजिक सञ्जालको गलत प्रयोग तथा त्यसबाट उत्पन्न मानसिक तनावका कारण विभिन्न समस्या सिर्जना भइरहेको भन्दै त्यसको न्यूनीकरणका उपायबारे सहभागीले धारणा राखेका थिए ।
कार्यक्रमको सहजीकरण गर्दै खुसी मन बागलुङका अध्यक्ष नारायण आचार्यले सामाजिक विकृति तथा समस्यालाई न्यूनीकरण गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । युवालाई सकारात्मक दिशातर्फ लैजान यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरणका विषयमा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमको आवश्यकता बढ्दै गएको बताउनुभयो । उहाँले कार्यक्रमलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा कन्टेन्ट क्रिएटर सेलिजा क्षेत्रीले सामाजिक मर्यादा र जिम्मेवारीलाई ध्यानमा राखेर सामग्री निर्माण गर्न सुझाव दिनुभयो । उहाँले नकारात्मक प्रभाव पार्ने तथा विकृति फैलाउने सामग्रीभन्दा समाजलाई सकारात्मक सन्देश दिने र सिर्जनात्मक सामग्री निर्माणमा जोड दिनुभयो । संयुक्त चार युवा क्लबका अध्यक्ष साकार अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य मन्जुल शाक्य, पर्वत कुँवर, प्रदीप खड्काथोकी, अशोक केसी र सुवास शर्मा सापकोटालगायतले कार्यक्रमको प्रभावकारिता तथा आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा धारणा राख्नुभएको थियो ।
समूहका अध्यक्ष रोहित सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष रेजिना खत्रीले गर्नुभएको थियो भने सञ्चालन समूहका सल्लाहकार दिलीप प्रतेलले गर्नुभएको थियो ।