नयाँ खोज्दा जनता फेरि पुरानैतिर फर्किनुपर्ने अवस्था आएको छ । नेपालको पछिल्लो राजनीतिको योभन्दा ठूलो विडम्बना अरू के हुन सक्छ ? पुराना दलबाट मुलुकको गति अगाडि बढ्ने नदेखेपछि जनताले नयाँ शक्तिलाई मत दिए । नयाँ आएपछि पुरानाले गरेका गल्ती दोहोरिँदैनन्, नयाँ सोच आउँछ, नयाँ योजना आउँछ, नयाँ कार्यक्रम आउँछ, भ्रष्टाचार नियन्त्रण हुन्छ, सुशासन स्थापित हुन्छ, युवाले देशमै रोजगारी पाउँछन् र मुलुकले आर्थिक विकासको नयाँ गति लिन्छ भन्ने आशा थियो । तर सत्तामा पुगेपछि नयाँहरू पनि पुरानै रोगका बिरामी देखिन थाले । भाषण नयाँ, अनुहार नयाँ, सामाजिक सञ्जाल नयाँ, तर शासन चलाउने शैलीमा खासै नयाँपन देखिएन । जनताको निराशा हटेन, बरु कतिपय नयाँ मतदाता सामान्य ग्यासको लाइनमा बसेर ‘मत गलत ठाउँमा दिएछु कि क्या हो ?’ भन्नुपर्ने अवस्थामा पुगे । जनताले नयाँलाई मत दिएका थिए, पुरानालाई गाली गर्न होइन । आफ्नो भविष्य बदल्न दिएका थिए । तर जब नयाँमै विवाद, अलमल, सत्ता संघर्ष र आन्तरिक किचलो देखिन थाल्यो, जनताको नजर फेरि पुरानातिर पर्नु अस्वाभाविक होइन ।
यहीँबाट नेपाली कांग्रेसका लागि एउटा नयाँ राजनीतिक सम्भावना जन्मिएको छ । प्रश्न हो, के कांग्रेस फेरि जनताको विकल्प बन्न सक्छ ? सम्भावना छ । तर त्यो सम्भावना कांग्रेसको इतिहासले होइन, उसको आजको व्यवहारले निर्धारण गर्नेछ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व आएको छ । गगन थापाको नेतृत्वमा कांग्रेसले आफूलाई पुनर्निर्माण गर्ने अवसर पाएको छ । लामो समय सत्ता, गठबन्धन र नेतृत्वलाई आफ्नो वरिपरि केन्द्रित गर्दै आएका शेरबहादुर देउवालाई नेतृत्वबाट हटाएर नयाँ पुस्तालाई अगाडि ल्याउनु कांग्रेसभित्रको सामान्य नेतृत्व परिवर्तन मात्र होइन, एउटा राजनीतिक सन्देश पनि हो । जेनजी आन्दोलनको अपनत्व लिएको पनि हो । तर कांग्रेसले एउटा कुरा बुझ्न जरुरी छ, सभापति फेरिँदैमा पार्टी फेरिँदैन । पुरानो संस्कार, पुरानो गुट, पुरानो भागबन्डा र पुरानो सत्ता संस्कृतिलाई नयाँ सभापतिको कुर्सीले ढाकेर मात्र कांग्रेस नयाँ बन्न सक्दैन ।
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको प्रक्रिया असोज ३ गते वडा तहबाट सुरु हुँदैछ । यो महाधिवेशन कांग्रेसका लागि अर्को नेतृत्व छान्ने कर्मकाण्ड मात्र बन्नु हुँदैन । यो कांग्रेसले आफूलाई जनतासामु पुनः प्रस्तुत गर्ने अवसर बन्नुपर्छ । तर महाधिवेशन सुरु हुनै लाग्दा इतर पक्षको समानान्तर महाधिवेशनको तयारीले कांग्रेसलाई फेरि उही पुरानो रोगतर्फ फर्काउने खतरा देखिएको छ । कांग्रेसलाई अहिले समानान्तर सत्ता होइन, समानान्तर विचार पनि होइन, समान उद्देश्य चाहिएको छ । फरक मत लोकतन्त्रको सौन्दर्य हो । असहमति पार्टी जीवनको स्वाभाविक प्रक्रिया हो । तर असहमतिको उपचार समानान्तर संगठन र समानान्तर महाधिवेशन हो भने कांग्रेसले विगतबाट केही पनि सिकेन भन्ने निष्कर्ष निकाल्नुपर्ने हुन्छ । देउवाले पनि अब एउटा कुरा स्वीकार गर्नुपर्छ, राजनीतिमा कुनै कुर्सी स्थायी हुँदैन । आफूले दशकौँसम्म नेतृत्व गरेको पार्टीमा नयाँ पुस्ता आएको छ भने त्यसलाई रोक्ने होइन, आफ्नो अनुभव हस्तान्तरण गर्ने बेला हो । समानान्तर शक्ति बनाएर प्रभाव जोगाउने प्रयासले देउवाको इतिहास ठूलो हुँदैन, बरु अन्तिम अध्याय विवादित बन्न सक्छ । त्यसैले देउवाका लागि पनि बाटो खुला छ, इगो होइन, इतिहास रोज्ने । आफ्ना समर्थकलाई समानान्तर संरचनामा लैजानुभन्दा उनीहरूलाई प्रतिस्पर्धाको मैदानमा पठाउने, आफ्नो विचार राख्ने र नयाँ पुस्तासँग राजनीतिक संवाद गर्ने । यही परिपक्वता अहिले देउवाबाट अपेक्षित छ ।
अर्कोतर्फ गगन थापाले पनि ‘विशेष महाधिवेशनबाट नेतृत्व पाएँ’ भनेर ढुक्क हुने अवस्था छैन । नेतृत्व पाउनु एउटा कुरा हो, नेतृत्वलाई स्वीकार्य बनाउनु अर्को कुरा । पार्टीभित्रका असन्तुष्टलाई साथमा लिन सक्नु, फरक मतलाई सम्मान गर्नु र विधि–विधानलाई व्यवहारमै स्थापित गर्नु उनको सबैभन्दा ठूलो परीक्षा हो । उनको पछिल्लो आह्वानले केही आशा जगाएको छ । असोज ३ र ४ गते हुने वडा अधिवेशनमा अलमलमा नपरी सहभागी हुन गरिएको आग्रह, सबै क्रियाशील सदस्यलाई सहभागी गराउने प्रयास र पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्यलाई समेत वर्तमान संरचनामा समेट्ने निर्णयले संस्थापन पक्ष केही लचिलो भएको संकेत गर्छ । लचकता कमजोरी होइन, नेतृत्वको शक्ति हो । अब इतर पक्षले पनि यही कुरा बुझ्नुपर्छ । कांग्रेसका लागि आज गुट जित्ने समय होइन, कांग्रेस जिताउने समय हो । समानान्तर महाधिवेशन गरेर कसले कसलाई हरायो भन्ने हिसाब राखिरहँदा जनताले भने अर्को हिसाब गरिरहेका हुन्छन्, ‘यी पनि उस्तै रहेछन् कि क्या हो ?’ कांग्रेसले यही प्रश्नको उत्तर दिनुपर्छ । हिजो कांग्रेसको विकल्प वामपन्थी थिए, वामपन्थीको विकल्प कांग्रेस । तर पछिल्लो दुई दशकमा सत्ता स्वार्थ, गठबन्धन संस्कृति, भागबन्डा र नेतृत्वकेन्द्रित राजनीतिले दुवै शक्तिप्रतिको जनविश्वास कमजोर बनायो । त्यसकै परिणाम तेस्रो शक्ति जन्मियो । जनताले नयाँलाई मौका दिए ।
अब नयाँ शक्तिप्रति निराशा बढ्दै जाँदा फेरी जनताले यि भन्दा त पुरानै ठिक ? भन्ने समय आउने संकेत देखिन थालेको छ । यस्तोमा बामपन्थीहरुमा उही गठबन्धन संस्कृतिप्रेमी नेतृत्व रही रहनु र नयाँको विकल्प खोजिनुले कांग्रेसका लागि बाटो खुलेको हो । तर यो जनताले कांग्रेसलाई माया गरेर दिएको अवसर होइन, अरूबाट निराश भएर दिएको अवसर हो । यसको अर्थ कांग्रेसले फेरि पुरानै शैलीमा फर्किने छुट पाएको छैन ।
कांग्रेसले अब गुटभन्दा संगठन, नेताभन्दा नीति, सत्ताभन्दा जनता र भागबन्डाभन्दा विधिलाई प्राथमिकता दिनुपर्छ । युवालाई भाषण होइन, अवसर दिनुपर्छ । रोजगारीको कुरा चुनावी नारामा होइन, नीतिमा देखिनुपर्छ । भ्रष्टाचारविरुद्ध बोल्दा आफ्नै मान्छे पनि कानुनको दायरामा आउनुपर्छ । सुशासनको भाषण गर्दा पार्टीभित्रै पारदर्शिता सुरु हुनुपर्छ । जनताले नयाँ अनुहार मात्र खोजेका होइनन्, नयाँ परिणाम खोजेका हुन् । कांग्रेसले यो कुरा बुझ्यो भने पुरानो पार्टी भएर पनि नयाँ विकल्प बन्न सक्छ । बुझेन भने नयाँबाट निराश जनता फेरि अर्को नयाँ खोज्न निस्कनेछन् । त्यसैले १५औँ महाधिवेशन कांग्रेसका लागि नेतृत्व चयनको महाधिवेशन मात्र होइन, विश्वास पुनःनिर्माणको महाधिवेशन बन्नुपर्छ । गगनका लागि यो नेतृत्व जोगाउने परीक्षा हो । देउवाका लागि इतिहास जोगाउने परीक्षा हो । शेखरका लागि कांग्रेस जोगाउने परीक्षा हो । इतर पक्षका लागि गुटभन्दा माथि उठ्ने परीक्षा हो । र सम्पूर्ण कांग्रेसका लागि, जनताले दिएको दोस्रो अवसर सदुपयोग गर्ने कि फेरि गुमाउने भन्ने परीक्षा हो । जनताले नयाँलाई खोजे । नयाँ आए । नयाँले आशा जगाए । आशा पूरा गर्न नसक्दा जनता फेरि विकल्प खोज्दैछन् । अब कांग्रेसले आफूलाई सोध्नुपर्ने प्रश्न एउटै हो, जनताले कांग्रेस रोज्न थालेका हुन् कि अरूलाई नरोज्ने अवस्थामा कांग्रेस परेको हो ? यसको उत्तर कांग्रेसले भाषणबाट होइन, १५औँ महाधिवेशनपछि आफ्नो व्यवहारबाट दिनुपर्नेछ । किनकि इतिहासले कांग्रेसलाई धेरै अवसर दिएको छ । अब जनताले दिएको यो अवसर अन्तिम हुन पनि सक्छ ।