बागलुङ । जिल्लाको गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गते आएको बाढी, पहिरो र हावाहुरीका ठूलो भौतिक क्षति भएको छ । बाढी पहिरो र हावाहुरीका कारण घर, गोठ, खेतियोग्य जमिन, सिँचाइ संरचना तथा पशुपन्छीमा ठूलो क्षति पुगेको हो ।
गलकोट नगरपालिकाका अनुसार एक वडा कार्यालय सहित ६३ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने १०० घरमा अधिकांश भाग क्षति र ३३ घरमा सामान्य क्षति पुगेको छ । क्षति भएका घरमध्ये १७ वटा पक्की र १७९ वटा ढुङ्गामाटोबाट जोडिएका घर छन् ।
बाढी तथा पहिरोका कारण २४ घर पूर्ण, ४८ घरमा अधिकांश भाग र २६ घरमा सामान्य क्षति भएको छ । यस्तै, हावाहुरीका कारण ३९ घर पूर्ण, ५२ घरमा आंशिक र सात घरमा सामान्य क्षति पुगेको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । नगरपालिकाले क्षतिको विवरण संकलन गरी पुनस्थापनाको योजना थालेको उहाँको भनाई छ ।
गोठतर्फ ३० वटा पूर्ण र २४ वटा गोठमा सामान्य क्षति पुगेको छ । बाढीपहिरोका कारण १२ गोठ पूर्ण र ११ गोठमा सामान्य क्षति भएको छ भने हावाहुरीले १८ गोठ पूर्ण र १३ गोठमा आंशिक क्षति पु¥याएको छ । बाढीका कारण करिब १२३ रोपनी खेतियोग्य जमिन पुरिएर बगरमा परिणत भएको छ । बाढीको कटानबाट करिब ४४५ रोपनी जमिन कटान गरेको छ ।
सिँचाइतर्फ पक्की सिँचाइका २१ आयोजना ठूलो क्षति र २४ वटामा सामान्य क्षति पुगेको छ । यस्तै, कच्ची सिँचाइका २०३ संरचनामा ठूलो क्षति र २० वटामा सामान्य क्षति भएको हो ।
बाढी पहिरोका कारण आठ बंगुर, तीन भैँसी, १० बाख्रा तथा करिब ५०० माछामा क्षति भएका छन् । यस्तै, १८७ कुखुरा र हाँसका ५० छाउरामा क्षति भएको हो ।