बागलुङ । जैमिनी नगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई जैमिनी नगरपालिका–६ अर्जेवामा सम्पन्न भएको छ ।
चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो चौमासिकको लागि जैमिनी नगरपालिका वडा नं. ६ अर्जेवामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागिले खानेपानी, औषधी दिने, बादर आतंक रोकने लगायतका सुझाव दिनुभएको छ । नागरिकहरुले कृषि क्षेत्रमा समयमै मल नपाएको, बादर आतङ्क क्षेत्रलाई बचाउन नसके बसाइँसराइको तिब्रता अझै बढ्ने पनि गुनासो गरेका छन् । झाडी र बुट्यान हटाउने काममा नगरपालिकाले साथ नदिएको, मल र बीउ समयमा नआएको र प्राकृतिक रुपमा पनि खडेरी, हावाहुरी र असिना जस्ता प्रकोपले सताएको सुम्सामा खानेपानीको समस्या, किसानले समयमा मल र बीउ पाउन नसकेकोले उत्पादनमा असर परेको लगायतका समस्या राखेका थिए ।

जैमिनी नगरपाकिला–१ का तिलक थापा, दल बहादुर थापा, चित्र थापा, याम बहादुर पुन, निर्माला केसी, लालमाया थापा, नगेन्द्र नायकल लगायतले पटक पटक नगरपालिकामा आवाज उठाएपछि ढीलागरी मल आएको स्वास्थ्य बीमा गरेकाहरुले पनि समयमा औषधी नपाएकोले नगरपालिकाले अत्यावस्यक सेवामा चासो राख्ने र सेवा प्रवाहमा असर परेको देखिएमा हस्तक्षेप गर्नुपर्ने सुझाव दिएका थिए । उनिहरुले कृषि प्राविधिकहरु किसानको घरदैलोमा नगएको समेत टिप्पणी गरेका थिए ।

उनीहरुले बाँदर आतङ्कले खेतीपातीमा असर परेको गुनासो गर्दै प्राकृतिक स्रोत साधन उत्खनन्मा नगरपालिकाले अनुगमन गर्न नसकेको बेरुजु बढ्दै गएको खानेपानीको समस्यामा परेका बस्तीमा नगरपालिकाले सम्बोधन नगरेको लगायतका समस्या राखेका थिए ।
नगरप्रमुख नरबहादुर पुनले कानुन संशोधन अभावमा विकासका काम रोकिएको भन्दै बाँदर नियन्त्रण र रुख बुट्यान काट्ने काम कानुनी समस्याले असर परेको बताउनुभयो । त्यस्तै औषधी र कृषि मलबारे आएको समस्याको समाधानमा तत्काल पहल गर्ने र आगामी दिनमा अप्ठ्यारो पर्न नदिने पुनले बताउनुभयो ।
नगर उपप्रमुख हरिहर शर्माले कृषि सडक कालोपत्र गरेर किसानका उत्पादनलाई बजारसम्म लैजने योजनासहित एशियाली विकास बैंकको सहयोगमा कालोपत्र गर्ने लक्ष्यमा लागेको बताउनुभयो । उहाँले बजेट व्यवस्थापन गरेर अन्य धेरै विकासका कामलाई अगाडि बढाउने सोचबारे समेत जानकारी गराउनुभएको थियो । पर्यटन प्रवर्धन र कालीगण्डकी करिडोरको उपयोग गर्ने अभियानमा स्थानीयलाई समेत जागृत गराउने उहाँको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बेरुजु कम गर्न पहल भएको, सैद्धान्तिक बेरुजु बाहेक अन्य न्यूनीकरण भएको, सार्वजनिक खरिद ऐनका कारण आएका समस्या समाधान गर्ने र ठेकेदारलाई काममा फर्काएर अलपत्र काम पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले चालु आर्थिक वर्षमा १७ प्रतिशत वित्तिय प्रगति गरेको जानकारी दिनुभयो ।
