• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

अनलाइन बेटिङ र गेमिङको ‘कुलत’

  • २०८२ मंसिर १२, शुक्रबार

सम्पादकीय | प्रविधिको तीब्रतर विकास र सामाजिक सञ्जालले आम मानिसको जीवन दैनिकीमा जति सरल र सहजता ल्याइरहेको छ, उतिकै चुनौती र असुरक्षित पनि पैदा गरिहेको छ । प्रविधि र सामाजिक सञ्जालको नयाँ नयाँ आयामले मानिस विश्वको जुनसुकै भूगोलमा बसेर पनि जुनकुनै स्थानको काम गर्न र मनग्गे पैसा कमाउन सक्ने सुविधा र अवसर पनि सिर्जित छ । र, यो सँगै मानिसहरु अधिकांश समय मोवाइल प्रविधि र सामाजिक सञ्जालमै फगत समय व्यतित र बर्बाद गर्ने, यसलाई नै ठगी धन्दा बनाउने, ठगिनेहरुको संख्या र घटना पनि बढ्दै जान थालेको छ । पछिल्लो समय जेनजी पुस्ता अनलाइन बेटिङ र गेमिङको कुलतमा पर्न थालेका छन् । अहिले नेपालमा जारी क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)मा पनि अनलाइन बेटिङ र गेमिङमा करोडौंको खेल भइरहेको घटना र समाचार सार्वजनिक भइरहेका छन् ।

सामाजिक सञ्जाल रेडिटमा केही महिना भर्खरका किशोरहरुले लाखौ रूपैयाँ अनलाइन बेटिङमा गुमाएको घटनाहरु एक पछि अर्को सार्वजनिक भइरहेका छन् । बेटिङमा प्रायः युवाको संलग्नता छ । जबकि नेपालमा अनलाइन बेटिङ गैरकानूनी मानिन्छ । यही कारण यस्ता खेलमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले गिरफ्तार पनि गर्दै आएको छ । पछिल्लो एक वर्षमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गिरफ्तारीमा परेका ३५ जना १९ देखि ४८ वर्ष सम्मका छन् । काठमाडौं अपराध तथा अनुसन्धान कार्यालयले २०८१ फागुन ५ गते अनलाइन बेटिङमा संलग्न भएको आरोपमा २४ भारतीयलाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । सिंगो घर नै भाडामा लिएर बसेका उनीहरूले १ अर्ब ६४ करोड बराबरको अनलाइन जुवा कारोबार गरेका थिए । यो घटनाको करिब एक महिनापछि माघ १९ गते अनलाइन बेटिङमा संलग्न १० भारतीय र १४ नेपालीलाई प्रहरीले सानेपाबाट पक्राउ गरेको थियो । दुईवटा घर भाडामा लिएर बेटिङ चलाइरहेको उक्त समूहले ३ अर्ब ४ करोडमाथिको कारोबार गरेको थियो । पढेलेखेका युवा, जो डिजिटल ग्याजेट चलाउन दक्ष छन्, उनीहरू नै बेटिङमा संलग्न हुने र पछि पछुताउने गरेका छन् । बेटिङ साइटहरूले विभिन्न फेसबुक पेजमार्फत नेपाली भाषामै विज्ञापन गर्छन् । ‘केवल ३ हजार रूपैयाँलाई ५ मिनेटमै ६ लाखमा परिवर्तन गर्ने’ भन्दै बेटिङ प्लेटफर्मले फेसबुकमा ‘स्पोन्सर्ड’ विज्ञापन नै गर्ने गरेको छ । फेसबुक लगायत सामाजिक सञ्जालमार्फत व्यापक प्रचार गरिने यस्ता धेरै बेटिङ प्लेटफर्ममा भारतीयको लगानी छ । तर ती प्लेटफर्म नेपालीले सञ्चालन गर्छन् र आम्दानी बाँड्छन् । नेपालीले नै भारतीयलाई प्लेटफर्म बनाउन लगाएर चलाउने गरेको पनि पाइएको छ ।

पछिल्लो समय के गरी हुन्छ, छिटो पैसा कमाउने होड छ । यसमा पुराना पुस्ता त त्यही समाजको बेथिति रनभुल्लमा परे नै, अहिलेको जेनजी पुस्ता पनि ग्रस्त छ । शहरका अधिक युवा अनलाइन बेटिङ र गेमिङको कुलतमा देखिन्छन् । सरकारद्वारा विज्ञापनमा रोक लगाइएका सामग्रीलाई अप्रत्यक्ष रूपमा प्रवद्र्धन गर्ने मार्केटिङ रणनीति सरोगेट विज्ञापनमा कैयन सक्रिय देखिएका छन् । प्रहरीका अनुसार, सन् २०१८ तिरबाट वानएक्स बेटले नेपालमा पहुँच बनाएको थियो । हाल नेपालबाट १५० भन्दा धेरै बेटिङ साइट चलाउन सकिन्छ, जसमध्ये वानएक्स बेटको जालो ठूलो छ । नेपालमा अनलाइन बेटिङमार्फत हुने कारोबार रकमबारे कुनै औपचारिक तथ्यांक छैन । बेटिङसम्बन्धी अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारी दैनिक ५० करोड रूपैयाँभन्दा माथिको कारोबार हुने अनुमान गर्छन् । यो जित्दा त राम्रै होला । तर, हार्दै जाने हो भने त्यसले भोलिका दिनमा धेरैको जीवन भयावह बनाउन सक्ने खतरा छ । सरकार र सम्बन्धित निकायले यसमा समयमै यथोचित पहलकदमी लिन जरुरी छ ।

  • २०८२ मंसिर १२, शुक्रबार