म्याग्दी । बेनी नगरपालिका ६ का बीरेन्द्र ढुंगानाले आफ्नै ठाउँमा थालेको व्यवसायबाट अहिले मासिक तीन लाख हाराहारी बचत गर्ने गर्नुभएको छ । आफूले थालेर पारिवारिक मेहनतले अघि बढेको धौलागिरी डेरी उद्योगले सबै खर्च कटाएर मासिक दुई देखि तीन लाख रुपियाँ बचत गर्ने गरेको हो ।
ढुंगानाले परिवारकै सक्रिय सहभागितामा सञ्चालन गर्दै आउनु भएको डेरीमा उहाँलाई ४० वर्षीया श्रीमती, १७ वर्षका छोरा, १९ वर्षकी छोरी साथै थप उक जनाले रोजगार पाएका छन् । परिवारका चार सहित पाँच जनाको संयुक्त परिश्रम जोडिएको दुग्ध व्यवसायले म्याग्दी मात्रै नभएर हिमालपारीको जिल्ला मुस्ताङ सम्म दुध पुगाउने गरेको छ । बिहानैदेखि रातिसम्म दुध संकलन, प्रशोधन, परिकार निर्माण र वितरणमा सबै सदस्यको छुट्टाछुट्टै भूमिका हुने ढुंगानाको भनाइ छ ।
ढुंगानाको दुग्ध व्यवसायले पछिल्लो २३ वर्ष देखि म्याग्दी सदरमुकाममा एकछत्र राज गरेको छ । बेनी नगरपालिका–७ न्यूरोडमा रहेको धौलागिरी डेरी उद्योगले आफ्नो पहिचानका साथै दुग्ध व्यवसायमा एकछत्र बजार हिस्सा आफ्नै पकडमा राखेको छ ।
वि.सं. २०५९ असार १० गते स्थापना गरे हाल सम्म निरन्तर सेवा दिंदै आएको धौलागिरी डेरी उद्योग म्याग्दीको स्थानीय अर्थतन्त्रमा उत्कृष्ट उद्यमशीलताको उदाहरण मान्न सकिन्छ । शुरुमा गरिएको सामान्य लगानी र सीमित स्रोत साधन बाट थालिएको डेरी उद्योग परिवारकै समर्पण र निरन्तर मेहनतका कारण स्थायी तथा सुदृढ व्यवसायको रूपमा हाल उभिएको मान्न सकिन्छ ।
ढुंगाना भन्नुहुन्छ “परिवारकै भरोसा, समयमै काम र गुणस्तर कायम गर्नु नै डेरी टिकाउनुको मुख्य कारण हो ।” उहाँका अनुसार परिवारकै सदस्यहरुको मेहनतले गर्दा नै आफ्नो गुणस्तर कायम गर्न सकेका छौं । धौलागिरी डोरी उद्योगमा हालको अवस्था हेर्दा दैनिक एक हजार पाँच सय लिटर सम्म दुध संकलन हुने गरेको छ ।
स्थानीय किसानले घर–घरमा बिहानको पहिलो घाम झुल्किनु अघि नै डेरीमा दुध बठाउने भाँडाकुँडाका आवाज निकाल्छन् । दुध संकलनमा स्थानीय गोठाला, किसान र महिला समूहहरूको ठूलो मेहनत र योगदान रहेको छ । कृषकको मेहनत अनि डेरीले दिने सेवाले गर्दा नै व्यवसाय दोहोरो रुपमा चलेको रमेश कटुवालको भनाई छ । कृषकले लगेर डेरीमा दुध बुझाउनु मात्रै ठूलो कुरा होइन त्यसको मुल्य समयमा पाउनु र रकम समयमै हात लाग्नु झन महत्वपूर्ण पाटो हो ।
धौलागिरी डेरीले संकलन गर्ने दुधको ठूलो भाग बेनी बजारमा खपत हुने गरेको छ । बेनी बजारका साथै पर्यटन र व्यापारिक गतिविधि हुने मुस्ताङमा पनि दैनिक सयदेखि तीन सय लिटर दुध पठाइने गरीन्छ । मुस्ताङ पठाउने दुधको खासै एकीन हुँदैन तर थोरैमा सय लिटर चाँही पक्का छ विरेन्द्रले भन्नुभयो ।

धौलागिरी डेरी उद्योगले गुणस्तरलाई प्राथमिकतामा राख्दै दुधको फ्याट ५, एसएनएफ ८ कायम राखेर बिक्री हुने दुधमा पानीको मात्र भने शुन्य गरेरै बिक्री गर्दै आएको छ । यति गुणस्तरको दुध प्रतिलिटर एक सय २० रुपैयाँमा खरिद गरेर प्रशोधन सहित एक सय ४० रुपियाँ प्रतिलिटरका दरले बिक्री हुन्छ । बजारमा गुणस्तरप्रति विश्वास बढ्दै गएपछि डेरीका अन्य परिकारको पनि माग समानान्तर रूपमा बढिरहेको छ ।
डेरीले घ्यू, पनीर, कुराउनी, दही, छुर्पी, आइसक्रिमलगायतका दुधजन्य सामग्री समेत उत्पादन गर्ने गरेको छ । धौलागिरी डेरीमा उत्पादित छुर्पी, कुराउनी तथा पनिर लगायतका बस्तुको बजारमा माग उच्च रहेको छ । डेरीमा उत्पादित सामग्रीहरुले म्याग्दी र मुस्ताङमा छुट्टै पहिचान कायम गरिसकेका छन् । मुस्ताङमा दुध उत्पादन खासै धेरै नहुने हुँदा म्याग्दी तथा अन्य जिल्लाबाटै खपत गर्ने गर्दछन् । त्यसका लागि म्याग्दी उत्कृष्ट हुने व्यापारीको भनाई छ ।

विशेषगरी बेनी बजारका होटल तथा पर्यटन क्षेत्रका व्यवसायीहरू धौलागिरी डेरीका परिकारमा भर पर्छन् । स्थानीय उपभोक्ताले पनि “गुणस्तरीय, ताजा र विश्वासिलो” भन्दै प्रशंसा गर्ने गरेका छन् । दुधको बढी माग हुने चाडपर्वहरुमा दुधको मुख्य माग धान्ने भनेकै धौलागिरी डेरी रहेको म्याग्दी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बेलबहादुर कटुवाल बताउनुहुन्छ । दुधको माग धेरै हुने समयमा धौलागिरी डेरी बाहेक अन्यले आवश्यकता अनुसार दुध उपलव्ध गराउनै सक्दैनन् बेनी नगरपालिका ८ का मुक्ती पौडेलले भन्नुभयो । हामी उपभोक्ता हो सँधै धेरै नचाहीन सक्छ तर आवश्यक पर्दा मागे जति पाउँछौं उहाँले सुनाउनुभयो ।
परिवारकै व्यवस्थापन, स्थानीय कच्चा पदार्थको सहज उपलब्धता र बजारको स्थिर मागका कारण डेरी उद्योग आर्थिक रूपमा पनि मजबुत बन्दै गएको छ । उत्पादन र बिक्री दुवै स्थिर हुँदा डेरी उद्योगले स्थानीय किसानको दुध पनि नियमितरूपमा संकलन गर्न सकेको छ । ढुंगानाका अनुसार, “कहिलेकाहीँ म्याग्दीमै मागभन्दा बढी दुध संकलन हुन्छ, त्यस्ता दिनमा हामी अन्य जिल्लामा समेत दुध पठाउँछौँ । किसानको दुध खेर जाने अवस्था कहिल्यै आउँदैन ।”
धौलागिरी डेरी उद्योग केवल एक व्यावसायिक केन्द्र मात्र होइन, स्थानीय उत्पादन, रोजगारी, मूल्य अभिवृद्धि र कृषिमा आत्मनिर्भरता बढाउने महत्वपूर्ण आधार पनि बनेको छ । डेरीबाट दैनिक रूपमा किसानले आम्दानी पाउने भएकाले गाउँघरमा दुध उत्पादन गर्ने प्रोत्साहन पनि बढेको छ ।
समयमै तौल, सही मूल्य, गुणस्तरको ग्यारेन्टी र बजारको स्थिरता जस्ता कारणले धौलागिरी डेरी स्थानीयस्तरको भरपर्दो डेरीको रूपमा स्थापित भएको बेनी नगरपालिका ४ सिंगाका डण्डपाणी पौडेलले बताउनुभयो ।