• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

सम्पादकीय : आन्तरिक झमेलामा कांग्रेस

  • २०८२ पुष १८, शुक्रबार

नेपाली कांग्रेस नेपाली राजनीतिको सबै भन्दा पुरानो र पाको पार्टी हो । जसको प्रजातन्त्र स्थापनादेखि आजको दिन र व्यवस्था सम्म पनि मूलधारको मुख्य राजनीतिक पार्टीको रुपमा महत्वपूर्ण भूमिका छ । मुलुकमा लोकतन्त्र स्थापित गर्ने क्रममा यसको जुन भूमिका छ, त्यो स्मरणीय नै छ । तर, पटक पटक सरकारको नेतृत्व गर्ने अवसर पाएको नेपाली कांग्रेसका लागि जनताले जिवन्त स्मरण गर्ने नेतृत्व र कार्यकाल भने देखिदैन । पछिल्लो समय त प्रधान शत्रु मानिएको कम्युनिष्ट पार्टीसँगकै गठबन्धन र साठगाठमा सरकारमा सहभागी भएर पटक–पटक बदनामी समेत बेहोरीसकेको छ । अहिले भने गत भाद्र २३ र २४ को जेनजी आन्दोलन पश्चात नेपाली कांग्रेस इतिहासकै कठिन मोडमा छ । जेनजी आन्दोलनको भावना र मर्म अनुसार समयमै नियमित महाधिवेशन गर्न नसकेको कांग्रेस अब विशेष महाधिवेशन तर्फ मोडिएको छ । भलै यसमा चरम विवाद छ ।

कांग्रेसमा तत्काल नियमित महाधिवेशन, नत्र विशेष महाधिवेशनको पक्षमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा खरो रुपमा उत्रिएका छन् । नियमित महाधिवेशनको लागि तोकिएको अवधि पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन हुन नसक्ने निश्चित भएको छ । यो सँगै गगन–विश्व दुई महामन्त्रीले वक्तव्य निकालेर विशेष महाधिवेशन आव्हान गर्नुपरेको कारण समेत बताएका छन् । पुस २६ गते नियमित महाधिवेशनको कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएको कारण सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बन्न पुगेको छ । विशेष महाधिवेशनका लागि भृकुटीमण्डप स्थान बुक पनि गरिएको छ । सभापतिले आव्हान नगरेपछि विधानले विशेष महाधिवेशन बोलाउन महामन्त्रीलाई अधिकार दिएको दाबी सहित विशेष महाधिवेशन आव्हान गरिएको छ । केन्द्रीय कार्यालय महामन्त्री मातहतमा रहने विधानको व्यवस्था छ । सोही मुताबिक विशेष महाधिवेशनको मागलाई केन्द्रले बोलाउन् सक्ने व्यवस्था, केन्द्र भनेको केन्द्रीय कार्यालय हुने र उक्त कार्यालय महामन्त्री मातहत हुने हुँदा विशेष महाधिवेशन बोलाएका छन् । भलै अब संस्थापन पक्षले के गर्छन् ? त्यो देख्न बाँकी छ ।

पार्टीभित्र अन्योल र अनिश्चिततालाई अन्त्य गर्ने अपरिहार्य कदम कांग्रेसका लागि जरुरी थियो । तर, कांग्रेस न त नियमित महाधिवेशन गर्न सक्यो, न त विशेष महाधिवेशन बोलाउन सक्ने अवस्थामा थियो । यसले जेनजी आन्दोलन पछि पनि यथास्थितिमै रहने बिडम्बनापूर्ण अवस्थाबाट कांग्रेसलाई पुर्नजीवन दिने नेतृत्व र टिमले अहिले केही अग्रसरता लिएको देखिन्छ । यद्यपि यसले कति सार्थकता र बैधता प्राप्त गर्छ ? त्यो परीक्षाकै विषय छ । नेपाली कांग्रेस अहिले जे जस्तो नियतिबाट गुज्रिरहेको छ । त्यो निकै सकस लाग्दो छ । नेपाली कांग्रेसमा सभापति, कार्यबाहक सभापति लगायत पुरानो नेताको पक्षमा सक्रिय छन् भने महामन्त्रीद्धय थापा र शर्मा पार्टीलाई रुपान्तरण र नेतृत्व हस्तान्तरण गरेर मात्र चुनावमा जाने तयारीमा छन् । बिहीबार मात्र थापा र शर्माले नियमित महाधिवेशनको कार्यक्रम स्थगन गरेर विशेष महाधिवेशनमा जाने सर्कुलर गरेका छन् । यसले पार्टीमा ठुलो तरंग पैदा गरेको छ । यति सम्म कि कांग्रेस बिभाजन हुने त होइन भन्ने संशय समेत पैदा गरेको छ । नेपाली कांग्रेस कि त विशेष महाधिवेशन गर्ने, कि त प्रस्तावकहरूलाई पार्टी हितका लागि यो प्रस्ताव फिर्ता लिन मञ्जुर गराउन सक्नुपथ्र्यो । यो दुबै गर्न नसके पछि अब विशेष महाधिवेशनको मागलाई नजरअन्दाज गर्ने अवस्था देखिदैन । विधान कार्यान्वयनले त पार्टीलाई वैधता दिन्छ, विभाजन गर्दैन । यो नेपाली कांग्रेसको हितमा पनि छ । कांग्रेसले आन्तरिक लोकतन्त्रको अभ्यास र विधान पालनामा कमजोरी देखाएको छ, जसले पार्टीलाई दीर्घकालमा कमजोर बनाउने खतरा छ । आसन्न निर्वाचनमा केन्द्रित हुने बेला उत्पन्न आन्तरिक झमेला घातक सावित हुन सक्छ । अतः अबको कदम सुझबुझपूर्ण हिसाबले विधिलाई बैधता र प्राथमिकता दिने गरी अघि बढाओस् ।

  • २०८२ पुष १८, शुक्रबार