• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन बागलुङका स्थानीय तहलाई निर्देशन

  • २०८३ बैशाख २१, सोमबार

 

बागलुङ ।  जिल्ला प्रशासन कार्यालय बागलुङ ले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लाका १० वटै स्थानीय तहलाई निर्देशन दिएको छ।

कार्यालयद्वारा जारी सूचनामा सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, अभिलेख व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणसम्बन्धी कार्यमा विशेष ध्यान दिन स्थानीय तहलाई आग्रह गरिएको छ।

गृहमन्त्रालय नेपाल ले सार्वजनिक जग्गा अतिक्रमण रोक्न तथा अवैध रूपमा निर्माण गरिएका घरटहरा हटाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई सक्रिय बनाउन परिपत्र गरेको हो।

यसअघि पनि विभिन्न मितिमा निर्देशन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नभएको भन्दै पुनः ध्यानाकर्षण गराइएको कार्यालयले जनाएको छ।

पत्रअनुसार सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउने, अभिलेख अद्यावधिक गर्ने र व्यवस्थापनलाई व्यवस्थित बनाउने कार्यमा स्थानीय तह तथा सरोकारवाला निकायलाई सक्रिय हुन आग्रह गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालका अनुसार अतिक्रमित जग्गामा निर्माण गरिएका घर तथा टहरा हटाउने काममा स्थानीय तहले पहल गर्नुपर्नेछ भने प्रशासनले शान्ति सुरक्षा सुनिश्चित गर्नेछ।

जिल्ला प्रशासन कार्यालयले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अतिक्रमण हटाउने तथा सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

  • २०८३ बैशाख २१, सोमबार