बागलुङ । दोस्रो गण्डकी लोक ताराका लागि बागलुङ जिल्लाबाट जैमिनी नगरपालिका १० राङ्खानी निवासी ललिता घर्ती मगरले प्रतिस्पर्धा गर्नु हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले यहि जेठ ९ गते आयोजना गरेको दोस्रो गण्डकी लोक ताराका लागि बागलुङ जिल्लाबाट घर्तीले प्रतिस्पर्धा गर्नु हुने भएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति बागलुङले शनिवार आयोजना गरेको जिल्ला छनौटबाट घर्तीले प्रथम स्थान प्राप्त गर्दै गण्डकी लोक ताराका लागि छनौट हुनु भएको प्रतिष्ठानका सचिव मनिष कँडेलले जानकारी दिनुभयो ।
पहिलो लोक ताराका लागि बागलुङबाट घर्ती छनौट चरणमा उपबिजेता बनेपनि प्रतिस्पर्धामा जानु भएको थियो ।
पहिलो लोक तारामा बागलुङ बिजयी भएको थियो । छनौट प्रतियोगितामा प्रथम हुन सफल घर्तीलाई नगद ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

१२ जना सहभागी छनौट प्रतियोगिताबाट बडिगाड गाउँपालिका निवासी मिना घर्तीले द्धितीय स्थान प्राप्त गरि नगद ३ हजार सहित प्रमाण पत्र र जैमिनी २ दमेक निवासी मुना बिश्वकर्माले तृतीय स्थान प्राप्त गरि नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गर्नु भएको प्रतिष्ठानका अध्यक्ष सरस्वती खड्का परियारले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका निवासी प्रतिभा कुँवरले सान्त्वना पुरस्कार स्वरुप नगद १ हजार सहित प्रमाणपत्र प्राप्त गर्नु भएको छ । प्रतिष्ठानका केन्द्रिय सहसचिव तारानाथ आचार्यले उद्घाटन गर्नु भएको कार्यक्रममा आचार्य सहित जिल्लाका पूर्व अध्यक्ष रेणु केसी हमाल, सल्लाहकार महेन्द्र केसी र जुम्ला जिल्लाका निवर्तमान अध्यक्ष रामकृष्ण आचार्यले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष सरस्वती खड्का परियारको अध्यक्षता, प्रथम उपाध्यक्ष शिव शर्माको स्वागत र सचिव मनिष कँडेलको संचालनमा सम्पन्न भएको थियो ।