• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

मुख्यमन्त्रीको प्रश्न : प्रदेश सरकारले केही गरेन भन्ने चिल्ला सडकमा हिँड्ने ?

  • २०८३ जेष्ठ ६, बुधबार

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले प्रदेश सरकारले थुप्रै विकास निर्माणका काम गरेको बताउनुभएको छ । उहाँले चिल्ला सडक, पक्की पुल, कृषिमा लगानी, खानेपानी र स्वास्थ्य क्षेत्रमा उल्लेख्य फड्को मारिएको दाबी गर्नुभयो ।

नागरिकका आधारभूत आवश्यकता पूरा गर्न प्रदेश सरकार लागिरहेको भन्दै कतिपय विषयमा प्रदेश र स्थानीय सरकारबीच भएका समान कार्यको समीक्षा हुनुपर्ने उहाँको भनाइ थियो । बागलुङ नगरपालिका को चार वर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले “चिल्ला सडकमा गाडी कुदाएर केही भएन भनेर नारा लगाउने भाष्य सिर्जना भएको” टिप्पणी गर्दै ९० प्रतिशत भौतिक पूर्वाधार प्रदेश सरकारले निर्माण गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले सडक, पक्की पुल, घर–घरमा धारा, उज्यालो गण्डकी लगायतका धेरै महत्वपूर्ण काम भए पनि जनतालाई प्रभावकारी रूपमा बुझाउन नसकिएको उल्लेख गर्नुभयो । उहाँले बागलुङ नगरपालिकाभित्र देखिएका विकासका नमूनामा प्रदेश सरकारको समेत योगदान रहेको बताउँदै नवप्रवर्तन कार्यक्रमअन्तर्गत कुकुर होस्टेल निर्माणमा समेत सहयोग गरिएको जानकारी दिनुभयो ।

“संघीय सरकारको नजरमा नपरेका बागलुङकै धेरै सडक कालोपत्र भएका छन्, बागलुङ नगरपालिकाका चिल्ला सडकमा प्रदेश सरकारको लगानी छ, कुकुर होस्टेलमा साझेदारी गरियो,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्रदेश सरकारले बागलुङका तीनवटा अस्पताल एकसाथ स्तरोन्नति गरेको छ । नागरिकलाई प्रदेश सरकारको महत्व बुझाउन सकिएन कि भन्ने लाग्यो । संघीय सरकारले जारी गरेको प्रगतिमा समेत पछिल्लो १० वर्षको उपलब्धि समेटिएको छ ।”

उहाँले बागलुङ गाँजा खेतीका लागि उर्वर भूमि रहेको उल्लेख गर्दै प्रदेश सरकारले गाँजालाई वैधानिक बनाउन नियमावली तयार गरी प्रदेश सभामा पेश गर्ने तयारी गरिरहेको बताउनुभयो । गाँजाबाट कपडा उत्पादन गर्न सकिने तथा औषधिका लागि कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने उहाँको भनाइ थियो ।

स्थानीय मदिरालाई वैधानिकता दिने तयारी समेत प्रदेश सरकारले गरिरहेको भन्दै गाउँलाई उत्पादनसँग जोडेर स्वरोजगार सिर्जना गर्ने योजना रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

कार्यक्रममा अब बन्ने प्रदेशको नीति तथा कार्यक्रममा बागलुङलाई प्राथमिकतामा राखेर योजना ल्याउन आग्रह गरिएको थियो । बागलुङ नगरपालिकाले पछिल्ला चार वर्षमा गरेका उपलब्धि समेटिएका तीनवटा वृत्तचित्र प्रदर्शन गरिएको थियो भने फोटो कथा विमोचनका साथै नगरपालिकाका विकास निर्माण र पर्यटकीय स्थल झल्किने एक सयभन्दा बढी फोटो प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ले नगरपालिकाको परिचय तथा आर्थिक, भौतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

त्यस अवसरमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपाली, गण्डकी प्रदेशसभा उपसभामुख विना कुमारी थापा, पूर्व स्वास्थ्य मन्त्री कृष्ण पाठक, प्रदेशसभा सदस्यहरू कुशुम बुढा, चम्पा खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा ले सर्वोत्कृष्ट कर्मचारी भीमसेन पन्त र उत्कृष्ट कर्मचारी सरस्वतीदेवी रेग्मीलाई सम्मानका लागि घोषणा गर्नुभएको थियो । मुख्यमन्त्री पाण्डेले उहाँहरूलाई नगदसहित सम्मान गर्नुभएको थियो । यसैबीच, कार्यक्रममा बागलुङ नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो भने नगर उपप्रमुख राजु खड्का ले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

  • २०८३ जेष्ठ ६, बुधबार