बागलुङ । बागलुङमा दूग्ध र दूग्धजन्य पदार्थको गुणस्तर परिक्षण गरिएको छ । बागलुङ बजारमा सञ्चालनमा रहेका दूध डेरी पसल तथा उद्योगबाट संकलन गरिएको नमूनामा कुनै अखाद्य पदार्थ मिसावट नरहेको पुष्टी भएको छ ।
१४ वटा डेरी पसल र उद्योगको खुल्ला र प्याकेट दूध र दहीको नमूना परिक्षण गर्दा कुनै पनि नमूनामा अखाद्य वस्तु मिसावट नरहेको र कैफियत नदेखिएको पुष्टी भएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखरा, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, एकीकृत सेवा कार्यालय बागलुङ, बागलुङ नगरपालिका र उपभोक्ता मञ्च बागलुङको सहभागितामा डेरी पसलको अनुगमनसंगै नमूना परिक्षण गरिएको थियो ।
अनुगमन टोलीले बागलुङ बजारका विभिन्न डेरी पसल तथा उद्योगबाट दूधका नमूना संकलन गरी मोबाइल भ्यान प्रयोगशालामार्फत परीक्षण गरेको थियो । परीक्षणका क्रममा अधिकांश १४ वटै दुध तथा दही गुणस्तर युक्त रहेको पाइएको बागलुङ नगरपालिकाका अधिकृत सरस्वती रेग्मीले बताउनुभयो । ।
अनुमगनमा उचित तापक्रममा भण्डारण गर्न र सरसफाइमा ध्यना दिन अनुगमनका क्रममा सुझाव दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका अनुसन्धान अधिकृत मुना कटुवालले जानकारी दिनुभयो । अनुगमन समितिले बजारमा बिक्री हुने खाद्य वस्तुको गुणस्तर कायम राख्न नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
बागलुङ बजारको बागलुङ दुग्ध उत्पादन सहकारी संघ, श्रीकृष्ण गाईभैसी फर्म, न्यू प्रगति डेरी, अभिषेक दूध पसल, निशा ट्रेडर्स, झुलनी दूध डेरी, एमएस एण्ड ब्रदर्श डेरी, बलेवा भैरव दूध डेरी, पप्पु जुस तथा डेरी पसल, रियाना जुस तथा कफी पसलबाट दूध र दहीको खुल्ला र प्याकेटको नमूना संकलन गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराको प्रयोगशाला सहितको भ्यान बागलुङ बजारमा पुगी अनुगमन स्थलमै नमुना परीक्षण गरेर रिपोर्ट जारी गरेको थियो ।
अनुगमनको क्रममा बजारमा अवस्थित डेरी पसल तथा उद्योगबाट सम्वेदनशिल मानिने दुग्ध पदार्थको १४ थान नमुना सकलन गरी परीक्षण गर्दा परीक्षण गरिएको पारामिटरको आधारमा कुनै पनि नमुनामा अखाद्य पदार्थ मिसावट रहेको नपाइएको हो ।
दुधको ओसारपोसार र भण्डारणमा विशेष ध्यान दिन, फ्रिजको तापक्रम ०(४ डिग्री सेल्सियस कायम राख्न व्यवसायीहरुलाई निर्देशन समेत दिईएको थियो ।