बागलुङ । बागलुङको बडिगाड गाउँपालिकालाई देशकै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा गरिएको छ । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले बडिगाड गाउँपालिकालाई पोषणमैत्री गाउँपालिका भएको घोषणा गर्नुभएको छ ।
घोषणा कार्यक्रममा बोल्दै पाण्डेले देशकै पहिलो पोषणमैत्री गाउँपालिका बनेर गण्डकीको इतिहास रचेको बताउनुभयो । दुर्गम गाउँपालिका मध्येको बडिगाडले पोषणको क्षेत्रमा आफूलाई देशभरमै अब्बल बनाएको बताउनुभयो ।
“बडिगाडमा १५ शैयाको अस्पतालमा सञ्चालनमा आउनु, डाइलाइसिस सेवा दिन थाल्नु र पोषणमैत्री गाउँपालिका बन्नु गण्डकी प्रदेशकै नमूना काम भएको हो” मुख्यमन्त्री पाण्डेले भन्नुभयो “पुल, अस्पताल र बाटोले बडिगाड जस्ता दुर्गम गाउँले मुहार फेरेको बताउनुभयो ।”
बडिगाडका सबै वडालाई असार ६ गते अघिनै पोषणमैत्री घोषणा गरिएको थियो । बडिगाड गाउँपालिका पोषणमैत्री स्थानीय शासन युक्त घोषणाका लागि आवश्यक सबै सूचक तथा १० वटै वडा पोषणमैत्री घोषण भइसकेपछि सोमबार बडिगाड गाउँपालिकालाई पोषण्मैत्री गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।
देशभरको तथ्याङ्क अनुसार बागलुङको बडिगाड गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका पोषणमैत्री वडा घोषणा गरेर पालिका घोषणाको चरणमा पुगेकोमा बडिगाड सोमबार पोषणमैत्री घोषणा गरिएको हो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समेत सबै वडा पोषणमैत्री घोषणा गरेपनि अहिले सम्म पालिका घोषण नभएको कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले बताउनुभयो ।
बडिगाड गाउँपालिकाले संघीय सरकारको सहयोगमा तीन वर्ष यता पोषणमैत्री गाउँपालिका बनाउने अभियान सफल भएर बडिगाड गाउँपालिका १० वटै वडालाई पोषणमैत्री वडा घोषणा सम्पन्न भएर गण्डकी प्रदेश सरकारको अनुमतीमा बडिगाड गाउँपालिका देशकै पहिलो पोषणमैत्री गाउँपालिका घोषणा गरिएको हो ।
पोषणमैत्री गाउँपालिका निर्माणका लागि आवश्यक ३४ वटै सूचक पूरा भएपछि पोषणमैत्री गाउँपालिका घोषणा भएको हो । जिल्ला बडिगाड गाउँपालिकामा तीन वर्ष यता पोषण सुधारमा थुप्रै काम भएको स्थलगत अनुगमनमा देखिएको र विभिन्न समूहहरु गठनगरी पोषण सचेतना सहित आवश्यक सबै तयारी पुरा भई सबै वडाहरु पोषणमैत्री घोषणा सम्पन्न भएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले जानकारी दिनुभयो ।
बडिगाड गाउँपालिकामा २०७९÷०८० देखि गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयनमा ल्याएर वडा–वडामा सहजकर्ता खटाउने, तालिम दिने, करेशावारी, भान्सा, गोठ सुधार संगै रैथाने अन्नबालीको उपयोगमा जोड दिएपछि गाउँपालिका पोषणमैत्री बनेको हो ।
विद्यालयका विद्यार्थीले विद्यालयमा पत्रुखाजा निषेध गरेर सातु, कोदोको हलुवा, खिर, चना र अण्डा लगायतका खाजा खुवाउन थालिएको छ । अहिले विद्यालयमा शुद्ध खानेपानी देखि तौल गर्न स्वास्थ्य चौकी आएका बालबालिकालाई अण्डा उपहार समेत दिन थालिएको बडिगाड गाउँपालिका–१० स्थित दुर्गममा रहेको दर्लिङ आधारभूत स्वास्थ्य केन्द्रका भीम कुमारी बुढा मगरले जानकारी दिनुभयो ।
बडिगाडका सबै विद्यालयमा पत्रु खाना (जङ्क फुड) लैजान रोक लगाइएको छ । विद्यार्थीले घरबाटै ल्याउनुपरेमा पनि पोषणयुक्त खाना मात्र विद्यालयमा ल्याउन पाइने नियम छ । विद्यालयबाहेकको समयमा पनि घर र समुदायमा पुगी पोषणयुक्त खानेकुराको महत्व र प्रयोगका बारेमा सचेतना जगाउने काम भइरहेको बडिगाड गाउँपालिका–१ का पोषण सहजकर्ता टीका गिरीले बताउनुभयो ।
गाउँपालिकाका पोषणमैत्री घोषणा गर्न दसवटै वडामा पोषण प्रवद्र्धन तथा सुधारका गतिविधि सञ्चालन सम्पन्न भइसकेको र स्वास्थ्य, शिक्षा, कृषि, पशु, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका र शासकीय प्रबन्धका क्षेत्रमा तोकिएका सूचकहरु पूरा भएको कार्यक्रमका संयोजक शेरबहादुर बुढाले बताउनुभयो । गाउँपालिकाभित्र रहेका ६९ टोल पूर्ण सरसफाइयुक्त घोषणा, सबै स्वास्थ्य संस्था समेत पोषणमैत्री बनिसकेको उहाँको भनाई छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याएको ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०८०’ ले पोषणमैत्री स्थानीय तह घोषणाका लागि ३४ वटा सूचक तय गरेको मा सबै सूचकमा नतिजा हासिल भइसकेको छ ।