बागलुङ । बागलुङ जिल्लामा एक वर्षमा १०७ सिँचाइका योजना कार्यान्वयन भएका छन् । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङले ११४ सिँचाइका योजना मध्ये १०७ योजना सम्पन्न गरेर ८० हेक्टर अतिरिक्त जमिनमा सिँचाइको पुहँच विस्तार गरेको छ ।
चालु आर्थिक वर्षमा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङबाट सिँचाई कुलो र नदी नियन्त्रणका लागि रु. १२ करोड ६६ लाख ५० हजारका योजना रहेकोमा १०७ योजना कार्यान्वयन भएको पाइएको हो । कार्यालयका प्रशासकीय अधिकृत बाबुराम आचार्यका अनुसार १०७ योजना कार्यान्वय भएपछि ८० हेक्टर जमिनमा थप सिँचाइको पहुँच पुगेको बताउनुभयो ।
बागलुङमा झण्डै सात हजार हेक्टर क्षेत्रफलको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको बताउदै ८० हेक्टर जमिनमा अतिरिक्त सुविधा यस वर्ष थपिएको हो । ६ हजार ९४४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुगेको आचार्यको भनाई छ ।
“यो वर्ष कार्यालयबाट कार्यान्वयनका लागि एक सय १४ योजना स्वीकृत भएकोमा १०७ वटा योजना कार्यान्वय नभएको र ७ वटा योजना विभिन्न समस्याका कारण कार्यान्वयनमा नआएका हुन्, कार्यान्वयनमा आएका योजनाबाट ८० हेक्टर जग्गामा सिँचाइ पुगेको छ भने कतिपय बाँझो जग्गामा खेतीगर्न थालिएको छ” आचार्यले भन्नुभयो “प्राविधिक समस्या र स्थलगत समस्याका कारण यो वर्ष सात वटा योजना असफल भएका हुन् ।”
निसीखोलाको एउटा योजना ढोरपाटन सिकार आरक्ष भित्र परेकाले काम गर्न नसकिएको र केही योजनामा लागत ठूलो र बजेट एकदमै कम भएको कारण कार्यान्वयन नभएको उहाँको भनाई छ ।
पोखरीडाँडा दउराली सिम्ले सिँचाई योजना काठेखोला—७ रेश, बगरखोला बारीगाउँ तालकोट सिँचाई योजना बडिगाड—४ जलजला, मालारानी सिँचाई योजना बडिगाड—९ तल्लो दर्लिङ, ठूलो कुलो सिँचाई योजना बडिगाड—५ ग्वालीचौर, खाराखेतदेखि भब्रेटा झिन्गलबारी रातमाटा घम्सिन सोरबोट खप्तरीबाङ सिँचाइ योजना ढोरपाटन—१ बुर्तिबाङ, जाउलेपानी मधु सिँचाई योजना निसीखोला—६ र बागपानी कटुवाल डेरा सिँचाई योजना निसीखेला—५ यस पटक कार्यान्वयन आउन नसकेको आचार्यको भनाई छ । यीमध्ये जाउलेपानी मधु सिँचार्य योजना ढोरपाटन सिकार आरक्ष क्षेत्रभित्र परेका कारण कार्यान्वयनमा आएन भने खाराखेतदेखि भब्रेटा झिन्गलबारी रातमाटा घम्सिन सोरबोट खप्तरीबाङ सिँचाइ योजना ढोरपाटन—१ लिफ्टीङ गर्नुपर्ने भएकाले प्राविधिक रुपमा असहज भएकाले कार्यान्वयन नभएको हो ।
यस्तै बागपानी कटुवाल डेरा सिँचाई योजना निसीखोला—५ का लागि दुइ पटक टेन्डर सूचना निकाल्दा पनि निर्माण कम्पनीले बिड नगरेको उहाँको भनाई छ । कतिपय ठूलो लागत लाग्ने योजनाहरुमा सानो बजेट आएका कारण कार्यान्वयनमा समस्या भएको जलस्रोत तथा सिँचाइ विकास डिभीजन कार्यालय बागलुङका प्रमुख सुजन खड्का बताउनुभयो । उहाँले एक करोडका योजनामा १० लाख बजेट आएपछि कार्यान्वयनमा चुनौती थपिएको बताउनुभयो । केही योजनाहरुलाई स्रोत सुनिश्चीत गरेर आगामी आर्थिक वर्षदेखि बहुवर्षीय योजनाको रुपमा कार्यान्वयन हुनेगरी ठेक्का लगाएको खड्काको भनाई छ ।
काठेखोलाको रेश, बडिगाडको मालारानी, तमानखोलाको नर्जाखानी लगायतका योजनाहरुलाई १५ वटा प्याकेज निर्माण गरी ठेक्क लगाइएको उहाँले बताउनुभयो । “हामीले नयाँ संरचना निर्माणदेखि पुराना कुलोको मर्मत गरेका छौं, त्यसले गर्दा ८० हेक्टर क्षेत्रफलमा थप सिँचाइ पुगेको हो” खड्का भन्नुहुन्छ “सिँचाइको सुविधाबाट बाँझो जमिनमा समेत यस वर्ष धान रोपेको पाइयो ।”