बागलुङ । होटल व्यवसायी संघ बागलुङले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको उद्धार र राहतका लागि रु. एक लाख ४५ हजार एक सय सहयोग गरेको छ ।
संघले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्नका लागि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलाई उक्त रकम हस्तान्तरण गरिएको छ । उक्त नगद रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकाले प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको संघका उपाध्यक्ष ललिता थापाले बताउनुभयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले विपद्को कठिन परिस्थितिमा सहयोग गर्ने सम्पूर्ण होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई धन्यवाद दिँदै पीडित परिवारको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहकार्य आवश्यक रहेको जनाएको छ ।