• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

त्रिशुली ‘३ बी’ : तित्याङका इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, फर्कने आशमा परिवार

  • २०८३ भाद्र २२, सोमबार

बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला पाठक त्रिशुली ‘३ बी’मा काम गर्दथे । प्राविधिक दक्षता कमाएका दम्पतीका जुम्ली छोरा–छोरी समेत साथमै थिए ।

भोटेकोशी बाढी आउनुभन्दा आधा घण्टा अघि राजेशको परिवार सम्पर्कमै थियो । आधाघण्टा अघि राजेशको आमा बुबासंग सम्पर्क भएको आफन्त बताउछन् । जब भदौं १० गते भोटेकोशीमा हिमबाढी आयो त्यसपछि एकै परिवारका चारजना सम्पर्क विहीन बने । सम्पर्क विहीन इन्जिनियर छोरा–बुहारी र नाती नातीना खोज्न परिवार तीन पटक सम्म बाढी प्रभावित क्षेत्रमा पुग्यो । तर अझै उनिहरुको अवस्था अज्ञात छ ।

इन्जिनियर ३३ वर्षीय राजेश शर्मा पौडेल, उहाँकी ३१ वर्षीया श्रीमती इन्जिनियर प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोराछोरी आदित्य शर्मा पौडेल र आदिती शर्मा पौडेल १२ दिन यता सम्पर्कविहीन छन् । एकै परिवारका चार जना भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीमा परी बेपत्ता भएपछि परिवार, आफन्त र गाउँ शोकमा डुबेको छ ।

परिवारका चारै जना एकसाथ बेपत्ता भएपछि आमाबुबा, आफन्त र गाउँले गहिरो पीडामा छन् । भोटेकोशीको आएको यो विपत्तिले तित्याङमा सन्नाटा छाएको छ । आफ्ना प्रियजन सकुशल फर्किने आशामा परिवारका सदस्यहरू बाटो हेर्दै बसेका छन् । परिवारका सदस्यहरु सम्पर्क विहीन खोज्न तीन पटक गएपनि इन्जिनियरद्वय कार्यरत रहेको त्रिशुली ‘३ बी’मा पुग्न नसकिएको सम्पर्क विहीनका आफन्त विष्णु शर्माले जानकारी दिनुभयो ।
“खोजी कार्यमा ढिलाई भएको छ, छिट्टै उनिहरु फसेको भनिएको विद्युत गृहमा पुग्न सक्नुपर्दथ्यो, अहिले सम्म आश मरेको छैन, उनिहरु जलविद्युत गृहमा रहेको र उक्त घर जलविद्युतका विज्ञहरुले समेत सुरक्षित हुन सक्ने बताएका छन्” आफन्त शर्माले भन्नुभयो “परिवारका चारै जनाको अवस्था अज्ञात छ, खोजबिनका लागि तीन पटक सम्म बिदुर भन्दा माथी पुगेपनि हेलिकप्टर बिना सम्पर्क विहीन भएको स्थानमा पुग्न सकिने अवस्था भएन, सरकारले खोजी र उद्दार अलि छिटो गर्नुप¥यो ।”

शर्माका अनुसार बाढी आउनुअघि छोरा–छोरी विद्यालय समेत नगएको पाइएको छ । उनिहरु आमा बुबासंगै भूमिगत विद्युत गृहमा रहेको पाइएको छ । चार वर्षका बालबालिकासहित आमाबुबा नै बेपत्ता भएपछि परिवारमा पीडासँगै बेचैनी बढेको छ । आफन्तहरू उनीहरू सकुशल भेटिने आशामा उद्दार भइरहेको अवस्थाको पल–पल जानकारी लिइरहेका छन् ।

बेपत्ता परिवारका आफन्तले सम्भावित सबै स्थानमा तत्काल खोजी तथा उद्दारलाई तीव्रता दिन सरकार तथा सम्बन्धित सुरक्षा निकायसँग आग्रह समेत गरेका छन् । बागलुङका वेपत्ताको विषयमा संसदमा समेत ध्यानाकर्षण भएको छ भने बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले खोजीका लागि केन्द्रमा पहल गरिरहनु भएको छ ।

त्रिशुली ‘३ बी’को विद्युत गृह भित्रको ठूलो भवनमा रहेकाले उनिहरु बाच्न सक्ने संभावना अझै रहको आफन्तहरु बताउछन् । इन्जिनियर राजेश शर्मा पौडेल परिवारका एक्ला छोरा हुनुहुन्थ्यो । आमा गिता देवि शर्मा बुबा भिम प्रसाद शर्माका चार जना सन्तानमध्ये कान्छो सन्तानको रुपमा इन्जिनियर शर्मा हुनुहुन्थ्यो । शर्माका तीन दिदी हुनुहुन्छ । परिवारले सम्पर्क विहीनको बाटो कुरिरहेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले इन्जिनियरका परिवारको खोजीका लागि केन्द्रसंग पहल गरिरहेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बाढीमा परेर रसुवाको त्रिशुली हाइड्रोपावर, हाकुवेशीमा काम गर्न गएका तमानखोला गाउँपालिकाका ९ जना, ढोरपाटन नगरपालिकाका २ जना, गलकोट नगरपालिकाका १ जना र नुवाकोटको त्रिशूली–३ बी जलविद्युत् आयोजनामा काम गर्दै आएका बागलुङ नगरपालिकाका २ जना इन्जिनियर र २ बालबालिका गरि १६ जना वेपत्ता रहेको र उनिहरुको अवस्था अहिले सम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र प्रसाईले बताउनुभयो ।

 

  • २०८३ भाद्र २२, सोमबार