• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

भकुण्डेमा ३६ परिवारका लागि धारा निर्माण

  • २०८३ भाद्र २८, आईतवार

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे स्थित अर्बाउदीमा लामो समयदेखिको खानेपानी समस्या समाधान भएको छ ।

गोर्खा वेल्फेयर ट्रष्ट को रु ५८ लाख ५० हजार ६ सय १३ र स्थानिय उपभोक्ताको तर्फबाट ९ लाख ७६ हजार २ सय ७५ गरी जम्मा ६८ लाख २६ हजार ८ सय ८८ को लागतमा सो आयोजना सम्पन्न भएको हो ।

आयोजना सम्पन्न पश्चात भएको समारोहमा बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले पर्यटकिय र रमणीय गाउं भकुण्डेमा स्थानिय समुदायको सक्रियतामा ब्यापक जनसहभागितामा निर्माण भएको अर्बाउदी खानेपानी आयोजनालाई आफुले नमुना कामको उत्कृष्ठ उदाहरणको रुपमा लिएको बताउनु भयो । उप प्रमुख खड्काले भकुण्डेमा रहेको खानेपानी समस्या समाधानका लागि नगरपालिकाले बिभिन्न तरिकाले अध्ययन गरिहेको बताउदै मुहान तथा श्रोतको पहिचान गर्न सकिएमा आमनागरिकहरुलाई व्यवस्थित रुपमा खानेपानी धारा बितरणमा प्रतिबद्धता जनाए । आयोजना सम्पन्न गर्न सहयोग गर्ने गोर्खा वेल्फेयर ट्रष्ट नेपाल, पोखरालाई धन्यवाद ब्यक्त गर्दै आयोजनाको दीगोपनाका लागि बागलुङ नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । आयोजनाको मर्मत सम्भारकोषमा नगरपालिकाले २ लाख र स्थानियले ८३ हजार जम्मा गरेका छन ।

कार्यक्रममा गोर्खा वेल्फेयरका तर्फबाट लिला पुन शेरचनले रमणीय गाउंमा देखिएको खानेपानी समस्या समाधानका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आयोजना सम्पन्न गर्न स्थानियले देखिएको सक्रियता र सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । सो अवसरमा वडा सदस्य मन बहादुर थापा, शिक्षक ठगेन्द्र थापा, उपभोक्ता प्रेम थापा र चन्द्रमती थापाले शुभ कामना ब्यक्त गरे । उपभोक्ता टेक बहादुर थापाले संचालन गर्नु भएको कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष सचिन थापाले हिउद र बर्षा दुवै समयमा शुद्ध खानेपानीको प्रबन्ध मिलाइएको बताउदै उपभोक्ताले धाराबाट सिधा पानी पिउन सक्ने जानकारी दिए ।

अर्बाउदी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले मिटर धारा ३६ वटा निर्माण गरेको छ । यसै गरी इन्टेक ३, कलेक्सन च्याम्बर १, डेलिभरी टंकी १, पम्प हाउस १, रिजर्भ टंकी १, जडसन च्याम्बर ४, तारबार संख्या ५, जम्मा पाइप लाइन लम्बाई २५८५ मिटर तयार गरेको अध्यक्ष थापाले बताए ।

पानीगैरा, गग्रेगरा र लोसे मूलको पानीलाई १ घर १ धारा अन्र्तगत निर्माण गर्न ०८१ पौष १ गते उपभोक्ता समिति गठन गरी पौष ५ गते सर्भेक्षण गरिएकोमा ०८२ भाद्र २० गते गोर्खा वेल्फेयरसंग सम्झैता भएको थियो । त्यसपछी ०८२ कार्तिक २१ गते काम प्रारम्भ गरी माघ १५ मा सम्पन्न भएको थियो । आयोजनाको ०८३ भाद्र २५ मा उद्घाटन सम्पन्न भएको हो ।

  • २०८३ भाद्र २८, आईतवार