बागलुङ । बागलुङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न तीन वटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–१ मालढुङ्गा क्षेत्रमा रहेको सडकखण्डमा प्रहरी चौकी मालढुङ्गाबाट खटिएको प्रहरी टोलीले गस्ती तथा नियमित सवारी साधन चेकजाँच गर्ने क्रममा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसारमा संलग्न ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीले ध १ त ५५६, ध १ त ३९६ र ध १ त ५७९ नम्बरका तीन वटा ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक याम नारायण अर्यालले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका तीनै वटा ट्र्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि बागलुङ नगरपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी निरीक्षक अर्यालले जानकारी दिनुभयो ।
उहाँको अनुसार तीनवटै ट्र्याक्टरलाई प्रति ट्र्याक्टर रु ५ हजारका दरले जरिवाना गरिएको छ । यसअनुसार तीन ट्र्याक्टरबाट कुल रु १५ हजार जरिवाना भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले नदीजन्य पदार्थको अवैध उत्खनन, ओसारपसार तथा नियमविपरीत सञ्चालन हुने सवारी साधनमाथि निगरानी र चेकजाँचलाई निरन्तरता दिइने जनाएको छ ।