• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

आमाबिनाका ४५ दिन : खल्लो घर, भरिएको सम्झना

घरमा आमाको आवाज छैन । बिहान उठ्दा उहाँसँग बोल्नुपर्ने आवश्यकता छैन । खाना खानुअघि उहाँलाई के खान दिने भनेर सोच्नुपर्ने अवस्था छैन । बुवाका लागि पूजा सामग्री तयार गर्ने ती हात छैनन् । हामी गाउँ पुग्दा कसरी बस्ने, के खाने, के ल्याइदिने भन्ने चिन्ता गर्ने आमा हुनुहुन्न ।

आमाको ४५औँ पुण्यतिथिमा सम्झना : ७१ वर्ष बिताएको घर, ४५ दिनदेखि आमाबिनाको छ ।

४५ दिन ! क्यालेन्डरका हिसाबले धेरै लामो समय होइन । तर पछिल्लो ४५ दिन मेरा लागि निकै अतास, अभाव र बिरसिलो बनेका छन् । आमा गुमाएपछि बितेको हरेक दिन कति लामो हुँदोरहेछ, यो ४५ दिनमा महसुस भइरहेको छ । आमाले सात दशकभन्दा बढी बिताएको घरमा एक्ला बुवासँगका यी दिनमा आँखाले आमा खोजिरह्यो, मनले आमालाई सम्झिरह्यो ।
समय आफ्नै गतिमा हिँडिरहेको छ । गाउँ उस्तै छ, घर उस्तै छ, आँगन उस्तै छ । भान्सा, कोठा, बाटाघाटा सबै उस्तै छन् । तर यी सबैमा सदावहार देखिने एउटा अनुहार मात्र यहाँ छैन । यो आँगनमा ७१ वर्षदेखि देखिने आमा हुनुहुन्न । आमा बिनाको घर, आँगन र भान्सा सबै खल्लो लागेको छ ।

कहिलेकाहीँ लाग्छ,—घर त उही हो, तर घरको आत्मा नै हराएजस्तो ।

आमा १२ वर्षको उमेरमा १३ वर्षका बुवासँग विवाह गरेर यो घरमा आउनुभएको रहेछ । आजको दिनमा त्यो सम्झँदा पनि अचम्म लाग्छ । त्यसपछि यही घरमा ७१ वर्ष बिताएर जानुभयो । आमाले आफ्नो जीवनको पूर्ण समय यही घरलाई दिनुभयो । ७१ वर्षसम्म जुन घरमा आमाको पाइला, आवाज, माया, गुनासो, हाँसो र खटनपटन थियो, आज त्यही घर आमाबिनाको भएको छ ।

आमाको स्वभाव अलिक कडा थियो । आमाका अगाडि हामी सबै करिब–करिब डराएको जस्तो अनुभूति हुन्थ्यो ।

१२ वर्षको उमेरमा विवाह भएर आउँदा आमाले कस्तो संसार देख्नुभयो होला ? सासु, ससुरा, श्रीमान् र नजिकै विवाह भएर गएकी अमाजु (कान्छी फूपु) को साथले आमाले काम सिक्नुभयो, घर चलाउनुभयो । उमेर सानै थियो, तर जिम्मेवारी सानो थिएन ।

‘मलाई तेरा बुड्बाले निकै माया गर्नु हुन्थ्यो । म सानै थिएँ, यो बाल्खीलाई बिहान छिटो नउठाउनु, जति बेला उठ्छे, त्यतिबेला दैलो लिप्छे भन्नुहुन्थ्यो,’ ससुराको मायाका बारेमा आमाले हामीलाई बेला–बेला सुनाउनुहुन्थ्यो ।

साच्चिकै, १२ वर्षको उमेरमा घर सम्हाल्नु अनौठो नै थियो ।

२०१९ देखि २०३१ सालसम्म, अर्थात् १९ वर्षदेखि ३१ वर्षको उमेरसम्म आमाले तीन छोरा र तीन छोरीलाई जन्म दिनुभयो । छ जना सन्तान हुर्काउनुभयो, पढाउनुभयो, विवाह गरिदिनुभयो । आज आमाका सन्तानहरु ५० भन्दा बढी छौ ।

त्यो मात्रै होइन, आफ्ना सन्तानसँगै जेठा ससुराका छोरीहरू, अमाजुको परिवार र घरमा आउने–जाने धेरै मानिसको जिम्मेवारी पनि आमाले सम्हाल्नुभयो । कुनै समय २०–२२ जनासम्मको परिवारको भान्सा चलाउनुपर्ने अवस्था थियो ।

बिहानदेखि साँझसम्म खाना पकाउने, खुवाउने, भाँडा माझ्ने, पशुचौपायाको हेरचाह गर्ने, खेतीपाती गर्ने र बालबच्चा हुर्काउने—आमाको जीवन सायद यस्तै कामको अर्को नाम थियो ।

आमाका ससुरा (हाम्रा हजुरबा) लालबहादुर घर्ती क्षेत्री, गाउँका मुखिया हुनुहुन्थ्यो । उहाँका बुवा कर्णवीर, कतिपय लिखित कागजातमा कर्णबहादुर पनि उल्लेख भएका, बाट २००३ सालमा जिम्मेवारी सरेर आएको मुखियाको भूमिकासँगै उहाँ वडा अध्यक्ष, विद्यालय स्थापना, मन्दिर स्थापना लगायतका सामाजिक काममा नेतृत्वदायी भूमिकामा हुनुहुन्थ्यो ।

कृष्ण आधारभूत विद्यालय, कालिका भगवती मन्दिर लगायत वडाका महत्वपूर्ण संरचना निर्माणमा उहाँले अगुवाइ गर्नुभएको रहेछ ।

त्यो समय आजजस्तो होटल र रिसोर्टमा राजनीतिक तथा सामाजिक कार्यकर्ता बस्ने समय थिएन । गाउँका अगुवाको घर नै सामाजिक गतिविधिको केन्द्र हुन्थ्यो । त्यसैले घरमा पाहुना नआएको दिन सायदै हुन्थ्यो ।

पाहुना आएपछि भान्सामा को उभिन्थ्यो ?

आमा !

हामी जान्ने भएपछि पनि तत्कालीन राजनीतिका अगुवाहरूसहित सरकारी कर्मचारी र अन्य क्षेत्रका व्यक्तिहरूको आगमन नियमितजस्तै हुन्थ्यो । पञ्चायतकालका नेताहरू ओमकार प्रसाद गौचन, तेजेन्द्रबहादुर खड्का, तेजाव गौचन, रणसिंह थापा मगर, चित्रबहादुर बर्मालाई हाम्रो घरमा आएको बेला मैले सानैमा चिनेको थिएँ ।

ससुराको निधनपछि उहाँले सम्हालेका मुखिया, वडा अध्यक्षलगायत सामाजिक जिम्मेवारी श्रीमान् अर्थात् हाम्रा बुवाको काँधमा आयो । आमाले श्रीमान्लाई पनि त्यो सम्पूर्ण अभियानमा साथ दिनुभयो ।

ससुरासँग करिब दुई दशक र श्रीमान्सँग सात दशकभन्दा बढीको सामाजिक यात्रामा आमा प्रत्यक्ष पदमा नभए पनि निरन्तर सहयात्री बन्नुभयो ।

वडाको राजनीतिक जिम्मेवारीसँगै विद्यालय व्यवस्थापन समिति, खानेपानी, विद्युत्, धार्मिक कार्य, सडक लगायत समाजमा आइपर्ने काममा बुवाको सक्रियता थियो र अहिले पनि छ ।

घरपरिवारको नियमित काम त छँदै थियो । ससुरा र श्रीमान्को राजनीतिक–सामाजिक यात्रा मात्रै होइन, छोरा, बुहारी, नाति–नातिनाका सामाजिक र राजनीतिक काममा समेत आमाले साथ दिनुभयो । हामीले राजनीतिक–सामाजिक अभियानको मार्गदर्शन हजुरबा र बुवाबाट पाए पनि त्यसको अप्रत्यक्ष साथ दिने काम आमाले गर्नुभयो ।

चार पुस्ताको सामाजिक इतिहास हेर्दा हाम्रो परिवारमा विगतमा हजुरबाहरू, बुवाहरू र पछिल्लो समय छोरा, बुहारी तथा नाति–नातिनासमेत राजनीतिक र सामाजिक कार्यमा अगाडि देखिए ।

चार पुस्ताका यी सबैलाई अगाडि बढाउने घरको अदृश्य शक्ति को थियो ?

आमा !

हाम्रो परिवार राजनीतिक रूपमा खासै ठूलो ओहोदाको जिम्मेवारी पाएको परिवार होइन । हजुरबाले वडा अध्यक्षसँगै केही समय कार्यवाहक प्रधानपञ्चको जिम्मेवारी सम्हाल्नुभएको रहेछ । बुवाले वडा अध्यक्षको जिम्मेवारी १५ वर्ष सम्हाल्नुभयो । सामाजिक गतिविधिमा आजीवन नै सक्रिय रहनुभएको छ ।

आमाले कहिल्यै आफूलाई अगाडि राख्नुभएन । कुनै पद खोज्नुभएन । मञ्च खोज्नुभएन । आफ्नो नाम लेखिएको राजनीतिक इतिहास खोज्नुभएन ।

तर घर सम्हालेर, परिवार सम्हालेर, सन्तान हुर्काएर र श्रीमान्लाई सामाजिक काममा निरन्तर साथ दिएर आमाले आफ्नै किसिमको इतिहास बनाउनुभयो ।

कहिलेकाहीँ आमाले गुनासो गर्नुहुन्थ्यो—

‘राजनीति र सामाजिक काम त तिमीहरूको बिर्तामै आएको रैछ नि, के गर्नु ?’

त्यो गुनासोभित्र पनि माया थियो । हाम्रो व्यस्तताप्रतिको चित्त दुखाइ थियो । सायद हामीले आमालाई चाहेजति समय दिन नसकेको पीडा पनि थियो । हामीले आमालाई समय नदिँदा पनि हाम्रो सक्रियताप्रति आमाको सद्भाव थियो ।

तर आमाको जीवनमा सबैभन्दा ठूलो पीडा आफ्नै सन्तानसँग जोडिएको थियो ।

जेठा छोरा दिप दाइ भारतीय सेनामा जानुभयो । दुईपटक घर आएर फेरि पल्टन फर्किनुभएका उहाँ लामो समयदेखि बेपत्ता हुनुहुन्छ । अन्तिमपटक २०५३ सालतिर घर आउनुभएका दाइलाई त्यसपछि देख्न पाउनुभएन ।

माइलो छोरा मेक दाइ पनि उहाँलाई खोज्दै हिँड्नुभयो, तर उहाँ पनि करिब डेढ दशकदेखि घर फर्किनुभएको छैन ।

आमा अन्तिम समयसम्म पनि छोराहरूको प्रतीक्षामा हुनुहुन्थ्यो ।

आमा पर्खिरहनुभयो ।

सायद आमाको मनले कुनै दिन ढोकामा जेठो छोरा देखिने आशा छोडेन । माइलो छोरा फर्किएर आउने आशा पनि मरेन । जीवनभर सन्तानका लागि प्रतीक्षा गर्ने आमाको मन कस्तो हुँदो हो, हामीले कहिल्यै पूर्ण रूपमा बुझ्न सकेनौँ ।

घरका दुई छोरा सम्पर्कविहीन हुँदा आमाको मनले के–के सोच्थ्यो होला ? हामीले अनुमान गर्न पनि सक्दैनौँ ।

आमाको निधनको २० दिनमै भोटेकोशीमा ठूलो विपत्ति आयो । त्यो विपत्तिमा परेर थुप्रै मानिस सम्पर्कविहीन भए । साच्चिकै ती परिवारको पीडा कति होला ? न सास देख्न पाइयो, न लास । कुशको शव बनाएर काजक्रिया गर्नुपर्ने अवस्था कति दर्दनाक हुन्छ ।

परिवारका सदस्य सम्पर्कविहीन हुने पीडा कस्तो हुन्छ भन्ने कुरा आमा र हामी परिवारले भोगेका छौँ ।

माइली दिदीका श्रीमान् विक्रम कार्की र छोरा विधान कार्कीको अल्पायुमै भएको निधनको पीडा पनि आमाको मनमा गहिरो थियो । सन्तान र सन्तानका सन्तानसँग जोडिएका पीडा आमाले आफूभित्रै राखेर बाँच्नुभयो ।

आमाको स्वास्थ्यमा पनि धेरै उतारचढाव आए ।

२०४४÷४५ सालतिर बेस्सरी थलिनुभयो । २०६६ साल कात्तिकमा पहिलोपटक आमालाई हृदयघात भयो । मणिपाल शिक्षण अस्पतालमा करिब १० दिन उपचार गरेपछि उहाँ ठीक हुनुभयो ।

त्यही समयबाट आमाले चुरोट छोड्नुभयो ।

१३ वर्षको उमेरदेखि ६६ वर्षसम्म, अर्थात् ५३ वर्ष लगातार सेवन गरेको चुरोट छोड्दा हामी परिवार औधी खुसी भएका थियौँ ।

त्यसपछि पनि पटक–पटक उपचार गर्नुप¥यो । २०६६ देखि २०७६ सम्म आमाले मुटुको औषधी खानुभयो । २०७६ माघमा काठमाडौंमा डाक्टर भगवान कोइरालासँग परीक्षण गरेपछि उहाँले औषधी छुटाइदिनुभयो । ‘आमाको मुटुले राम्रो काम गरेको छ, अब औषधी खानुपर्दैन’ भनेपछि आमा औधी खुसी हुनुभएको थियो ।

२०७८ असारमा कोभिड भयो । आठ दिन धौलागिरी अस्पतालमा आमा र म सँगै बस्यौँ । त्यसपछि १२ दिन परिवारसँग बजारमै बस्नुभयो । स्वास्थ्यमा सुधार आएपछि आमा फेरि गाउँ फर्किनुभयो ।

आमालाई बजार बस्ने कुरा निकै गाह्रो लाग्थ्यो ।

त्यतिबेला आमासँग बिताएका २० दिनका अनुभूतिहरू मैले लेखेको थिएँ । त्यसमा एउटा प्रसंग आज पनि मेरो मनमा गढेर बसेको छ ।

अस्पतालमा आमासँगै बस्दा उहाँलाई दिसा–पिसाब गर्नसमेत गाह्रो थियो । आमाहरूले छोराछोरीले त्यस्तो काम नगरिदिऊन् भन्ने सोच्नु स्वाभाविक हो ।

मैले आमालाई भनेको थिएँ—

“आमा, हजुरले सक्दा आफैँ सफा गर्नुभएको छ, नसक्दा पनि हामीले गरेनौँ भने हामी कसरी हजुरका सन्तान भयौँ त नि ?”

एक दिन शरीरमा तेल लगाएर मालिस गरिरहेको थिएँ । आमाले भन्नुभयो—

‘कान्छा, तैले मेरो गुन तिरिस् ।’

आमाको दूधको भारा र जीवनभरको त्यागका अगाडि मैले गरेको काम केही पनि थिएन । तर आमाले त्यसलाई पनि गुन मान्नुभयो ।

आज सम्झँदा त्यो एउटा वाक्यले मन भक्कानिन्छ ।

सायद आमाले त्यतिबेला नै मलाई जीवनको ठूलो ऋण सम्झाइरहनुभएको थियो ।

गाउँमा पछिल्ला वर्षहरूमा आमा र बा मात्र बस्नुहुन्थ्यो । चाडपर्व वा अन्य समयमा हामी परिवारका सदस्य केही दिनका लागि गाउँ पुग्दा आमा औधी खुसी हुनुहुन्थ्यो । तर फर्किने बेला उहाँको मन अमिलो हुन्थ्यो ।

‘छिट्टै आउनू है ।’

यो वाक्य अहिले झन् धेरै सम्झना आउँछ ।

साच्चिकै, सबै कुरा ठिकठाक हुँदा आमा–बासँग समय बिताउन सक्दैनौँ । व्यस्त हुन्छौँ । तर गुमाइसकेपछि ती सबै कुरा मानसपटलमा आउँदा रहेछन् । अनि पछुताउनु बाहेक हामीसंग केही पनि हुदैन ?

यो ४५ दिनमा मेरो दिमागले धेरै कुरा सोच्यो ।

साच्चिकै, आमाले ‘कान्छा, एक दिन बस्ने गरी आइज न’ भन्दा पनि ‘अलि पछि है आमा’ भनियो । अब चाहेर पनि आमासँग बस्न सकिँदैन ।

आमासँग बस्दा म कहिले जिस्किन्थेँ, हँसाउँथेँ, सकेसम्म रमाइलो गर्न खोज्थेँ । कहिलेकाहीँ सिरियस भएर सोध्थेँ—

“आमा, सधैँ यसैगरी हजुरहरू दुई जना मात्रै बस्न भएन । हामीलाई नराम्रो लाग्छ, अरूले पनि नराम्रो सोच्लान् । सँगै बसौँ, बजारमै बसौँ ।”

तर आमाको एउटै जवाफ हुन्थ्यो—

‘मेरो तिउरो पाखुरो चलुञ्जेल म कहीँ जाँदिनँ । सकिनँ भने तिमीहरू छँदैछौ ।’

त्यो वाक्य त्यतिबेला सामान्य लागेको थियो । आज सम्झँदा त्यही वाक्यले मन चिरिन्छ ।

दुर्भाग्य, आमाको तिउरो पाखुरो चल्न छोडेपछि हामीले धेरै दिन स्याहार गर्न पाएनौँ ।

१२ वर्षमा आएको यही घरबाट अन्तिम विदाइ हुने हो, आमाले पटक–पटक हामीलाई भन्नुहुन्थ्यो ।

आमाले बिरामी हुनुभन्दा केही दिनअघि पनि मलाई भन्नुभएको थियो—

“ठिक छु, औषधी खाएकै छु । साउनको ३ गते आउँछु, पोखरा जाउँला ।”

तर असारको अन्तिमतिर नै उहाँलाई अस्पताल लैजानुपर्ने अवस्था आयो ।

असारको तेस्रो शनिवार र मंगलबार पनि आमाले बुवालाई मन्दिरमा पूजा गर्न जाने सामग्री तयार गरिदिनुभएको थियो । खाना आफै बनाएर खानु भएको थियो । अन्तिम समय नजिकिँदै छ भन्ने हामीमध्ये कसैलाई थाहा थिएन ।

त्यसको केही दिनपछि आमा आफैँ बिरामी पर्नुभयो ।

१९ दिनको लगातार उपचारपछि साउन २० गते आमा सदाका लागि जानुभयो ।

तर आमासँगको अन्तिम भेटको एउटा क्षण अझै आँखाअगाडि छ ।

साउन १६ गते बिहान ७ बजे अस्पतालको आइसियूमा चिया र नरिवल पानी लिएर गएको थिएँ । आमाले एक कप कालो चिया पिउनुभयो । अलिकति नरिवलको पानी पनि पिउनुभयो । करिब पाँच मिनेट आमा–छोराबीच कुरा भयो ।

मैले भनेँ—

‘आमा, घरमा जाम है ।’

आमाले भन्नुभयो—

‘बिमार ठिक भएपछि जाउँला कान्छा ।’

त्यसपछि आमाको आवाज सुन्न पाइएन ।

त्यही दिन ११ बजेदेखि आमाको आवाज बस्यो । साउन १७ गते आमालाई घर ल्यायौँ । साउन २० गते आमाले हामीलाई सदाका लागि छोडेर जानुभयो ।

हामीलाई छोडेर होइन, आफ्नो ७१ वर्षको घर छोडेर ।

आज ४५ दिन भयो ।

घरमा आमाको आवाज छैन । बिहान उठ्दा उहाँसँग बोल्नुपर्ने आवश्यकता छैन । खाना खानुअघि उहाँलाई के खान दिने भनेर सोच्नुपर्ने अवस्था छैन । बुवाका लागि पूजा सामग्री तयार गर्ने ती हात छैनन् । हामी गाउँ पुग्दा कसरी बस्ने, के खाने, के ल्याइदिने भन्ने चिन्ता गर्ने आमा हुनुहुन्न ।

तर एउटा कुरा छ—

आमाको सम्झना झन् बढेको छ ।

आमा र बुवा सात दशकभन्दा बढी सँगै हुनुभयो । दुईजना भएपछि हामी ढुक्क थियौँ । उहाँहरूको सादगीपन, सक्रियता, सहकार्य र समन्वयले परिवारलाई उहाँहरूका बारेमा धेरै चिन्ता लिनुपर्ने अवस्था थिएन ।

बिरामी हुँदा हेरेकै छौँ, अगिपछि हामी सक्दासम्म गर्छौँ—उहाँहरूको यही भनाइ थियो ।

हामी परिवारका सदस्य भाग्यमानी पनि हौँ । आमा र बुवाको सँगै चौरासी पूजा गर्न पायौँ । आजसम्म उहाँहरू सँगै भएको देख्न पायौँ ।

तर पनि आमासँगको बिछोड निकै पीडादायी हुँदो रहेछ ।

मृत्यु सत्य हो, स्वाभाविक पनि हो । तर पनि आमा, आमा नै हो । गुमाउँदा सबैलाई पीडा हुनु स्वाभाविक नै हो ।

केही दिनअघि सपनामा आमा घरबाट हराउनुभएको देखेँ । म आमालाई खोज्दै हिँडेँ । धेरै खोजेँ, तर भेटिनँ ।

बिहान उठेपछि थाहा भयो—त्यो सपना रहेछ ।

तर त्यो सपनाले फेरि एउटा सत्य सम्झायो—

जागा नहुँदा पनि म आमालाई खोजिरहेको रहेछु ।

आमा हराउनुभएको होइन ।

आमा हाम्रो आँखाबाट हराउनुभएको हो ।

अर्को दिन म बारीबाट आउँदै थिएँ । आमाले सुन्तला खाँदै गरेको देखेँ । सुन्तलाको बोक्रा लगेर फाल्दै थिएँ, झल्यास्स बिउँझिएँ ।

आमाले सुन्तलाको सिजनमा ‘दिनको दुईवटा खान्छु कान्छा’ भन्नुभएको सम्झना आयो ।

यस्ता साना–साना कुराहरूले आमा बारम्बार सम्झाइरहनुभएको छ ।

उहाँको माया, उहाँको सम्झना, उहाँले सिकाएका कुरा, उहाँको खटनपटन, उहाँका गुनासा र उहाँको आवाज हाम्रो जीवनबाट हराएका छैनन् ।

आमा, तपाईंले ७१ वर्ष बिताएको यो घरमा अब तपाईं हुनुहुन्न । तर तपाईंले बनाएको घर, हुर्काएको परिवार र दिनुभएको संस्कार यहीँ छ ।

तपाईंले चार पुस्तालाई सामाजिक यात्रामा साथ दिनुभयो । आफू भने कहिल्यै अगाडि आउनुभएन । तपाईंको नाममा कुनै पद भएन, कुनै उपाधि भएन ।

तर आज हामीलाई लागिरहेको छ—

परिवारको इतिहासमा सबैभन्दा ठूलो भूमिका खेल्ने मानिस सधैँ मञ्चमै देखिनुपर्दो रहेनछ ।

तपाईं त्यही अदृश्य शक्ति हुनुहुन्थ्यो, आमा !

आज ४५ दिनमा तपाईंलाई सम्झँदा आँखामा आँसु आउँछ । तर आँसुसँगै गर्व पनि लाग्छ,—हामीले ७१ वर्ष एउटै घरमा बसेकी, दुःखमा पनि परिवारलाई सम्हालेकी र सन्तानका लागि जीवन समर्पण गरेकी आमा पाएका रहेछौँ ।

अब तपाईंलाई भेट्न सकिने ठाउँ एउटै छ—

हाम्रो सम्झना !
हाम्रो संस्कार !
र हाम्रो हृदय !

आमा, तपाईं जहाँ हुनुहुन्छ, शान्तिमा रहनुहोस् ।

तपाईंले जीवनभर अरूलाई दिनुभयो ।

अब हामी तपाईंले दिएको माया र संस्कार बोकेर बाँच्नेछौँ ।

आमा बिनाको ४५ दिन बित्यो ।

तर आमा, तपाईं हाम्रो सम्झनाबाट कहिल्यै जानुहुने छैन ।

भावपूर्ण श्रद्धाञ्जली, आमा !