• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

ट्याङ्कर कुर्दै गरेको उपभोक्ताको लाइनले देखाएको बागलुङको खानेपानी व्यवस्थापनको कमजोरी

  • २०८३ आश्विन १६, शुक्रबार

सम्पादकीय । बागलुङ बजारमा अहिले एउटा दृश्य सामान्य बनेको छ,—हातमा गाग्री, बाल्टी र जर्किन बोकेर पानीको लाइनमा बसेका नागरिक । बिहानदेखि बेलुकासम्म पानीको खोजीमा दौडिरहेका बजारबासीको पीडा हेर्दा लाग्छ, हामी कुनै ठूलो संकटको बीचमा छौँ । तर यो संकट अचानक आएको होइन । असोज ८ देखि ११ गतेसम्मको भारी वर्षापछि आएको बाढीले खानेपानीको पाइपलाइनमा क्षति पु¥यायो । पानी रोकियो । त्यसपछि सुरु भयो ट्याङ्करको यात्रा र नागरिकको लाइन । प्राकृतिक विपत्ति आउनु अस्वाभाविक होइन । पहिरो जान सक्छ, बाढी आउन सक्छ । तर हरेक पटक बाढी आउँदा बागलुङ बजारको खानेपानी प्रणाली नै थला पर्ने अवस्था भने स्वाभाविक होइन । किनकि यो पहिलो घटना होइन । विगतमा पनि पटक–पटक खानेपानी अवरुद्ध भएको छ । कहिले पाइप पहिरोले बगाएको छ, कहिले मुहानमा समस्या आएको छ, कहिले फोहोर पानी आएको गुनासो उपभोक्ताले गरेका छन् । तर समस्या समाधानको स्थायी बाटो खोज्नेभन्दा तत्कालको संकट टार्ने प्रवृत्ति हावी देखिएको छ । समस्या आएपछि ट्याङ्कर चलाउने, नागरिकलाई केही दिन पानी बाँड्ने र अवस्था सामान्य भएपछि सबै कुरा बिर्सने प्रवृत्तिले बागलुङ बजारलाई कहिलेसम्म पछ्याउने ?

प्रश्न बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र बागलुङ नगरपालिकामाथि हो,—वर्षौंदेखि दोहोरिरहेको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि योजना कहाँ छ ? बाढीले पाइप बगाएको हो, तर हरेक वर्ष पाइप बग्ने जोखिम थाहा हुँदाहुँदै वैकल्पिक व्यवस्था नगर्नु कसको कमजोरी हो ? मुहान, पाइपलाइन र जोखिमयुक्त संरचनामा निर्भर खानेपानी प्रणालीले आधुनिक बजारको आवश्यकता धान्न सक्दैन । बजार बढिरहेको छ, जनसंख्या बढिरहेको छ, उपभोक्ताको आवश्यकता बढिरहेको छ । तर व्यवस्थापन भने अझै पुरानै शैलीमा चलिरहेको छ । नागरिकले पानी मागेका हुन्, बहाना होइन । उनीहरूले ट्याङ्करको पानीका लागि लाइन बस्न चाहेका होइनन् । उनीहरूले नियमित, स्वच्छ र भरपर्दो खानेपानी सेवा चाहेका हुन् ।

बागलुङमा विकासका ठूला–ठूला कुरा भइरहेका छन् । सडक बनेका छन्, भवन बनेका छन्, बजार विस्तार भइरहेको छ । तर जीवनको आधारभूत आवश्यकता खानेपानीमा अझै संकट दोहोरिरहनु विडम्बना हो । अब जिम्मेवार निकायले भन्नुपर्छ,—अर्को वर्ष फेरि यही समस्या आउँदैन भन्ने आधार के छ ? वैकल्पिक व्यवस्थाको खोजी कहाँ पुग्यो ? जोखिमयुक्त पाइपलाइनको पहिचान भयो कि भएन ? आकस्मिक अवस्थामा तत्काल पानी आपूर्ति गर्ने योजना के छ ? दीर्घकालीन खानेपानी सुरक्षा योजना कहिले सार्वजनिक हुन्छ ? यी प्रश्नको जवाफ नागरिकले खोजिरहेका छन् । संकटको समयमा ट्याङ्कर पठाउनु आवश्यक छ । तर ट्याङ्कर व्यवस्थापनलाई उपलब्धि ठान्नु हुँदैन । ट्याङ्कर त असफल व्यवस्थापनको अस्थायी उपचार हो । अब बागलुङ बजारलाई गाग्री बोकेर लाइन बस्ने होइन, सुरक्षित खानेपानी पाउने बजार बनाउनेतर्फ ध्यान दिनुपर्छ । नत्र हरेक वर्ष एउटै कथा दोहोरिनेछ,— बाढी आउँछ, पाइप बग्छ । पानी रोकिन्छ, ट्याङ्कर आउँछ । नागरिक लाइन बस्छन्, जिम्मेवार निकाय बहाना सुनाउँछन् । यो चक्र कहिलेसम्म ? अब बहाना होइन, स्थायी समाधान चाहिएको छ ।

  • २०८३ आश्विन १६, शुक्रबार