खेमराज गौतम, बागलुङ
पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुण बढ्न थालेपछि किसान कृत्रिम गर्भाधान तर्फ अघि बढेका छन् ।
आर्थिक वर्ष २०८१÷८२ मा अस्पताल तथा गर्भाधान केन्द्रमा पुगेर एक हजार ४५२ गाई र एक हजार ९१ भैसी गरी दुई हजार ५४३ पशुमा कृत्रिम गर्भाधान गरिएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ ।
खासगरी व्यवसायिक पशुपालन फर्मका गाईभैसीलाई कृत्रिम गर्भाधान गर्न थालिएको हो । २०७६÷७७ सालमा एक हजार ६०० गाई भैसीको कृत्रिम गर्भाधान गरेकोमा त्यसको संख्या क्रमश बढेर अहिले दुई हजार ५४३ पुगेको हो ।
आर्थिक वर्ष २०७७÷७८ एक हजार ८००, आर्थिक वर्ष २०७८÷७९, एक हजार ८००, आर्थिक वर्ष २०७९÷८० एक हजार ७००, आर्थिक वर्ष २०८०÷८१ दुई हजार २०० गाई भैसीमा कृत्रिम गर्भाधान गरिएको थियो ।
बागलुङ जिल्लामा हाल ८ वटा कृत्रिम गर्भाधान केन्द्र रहेका छन् भने १२ जना कृत्रिम गर्भाधानकर्ता सक्रिय रहेर सेवा दिइरहेका छन् । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको अस्पताल मार्फत ६४१ पटक र अन्य स्थानमार्फत १९०२ पटक सेवा दिइएको छ ।
पछिल्ला वर्षहरूमा कृत्रिक गर्भाधान सेवाको माग र प्रभावकारिता दुवै बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिनुभयो । किसानको दूधको उत्पादन वृद्धिसंगै उन्नत जातको गाईभैंसी उत्पादनमा कृत्रिम गर्भाधानले ठूलो योगदान पु¥याएको सापकोटाको भनाई छ । विर्य खरिद स्वयं किसानको हुन्छ भने ढुवानी र सेवा पशु विज्ञ केन्द्रको हुनेछ ।
“तीन लिटर दूध दिने गाईले कृतिम गर्भाधान पश्चात ९ लिटर सम्म दूध दिएको रेकर्ड छ, खासगरी फर्म खोलेर बसेका पशुपालक किसानले कृत्रिम गर्भाधान बढी गरेको पाइन्छ” सापकोटाले भन्नुभयो “रोग हटाउने र उत्पादन बढाउने भएकाले कृत्रिम गर्भाधान किसानको रोजाईमा छ ।”
कृतिम गर्भाधानले उत्पादन वृद्धि, जात सुधार, रोग नियन्त्रण, खर्च र समयको बचत लगायतको फाइदा पुग्ने पशुपालक किसान नन्दलाल सापकोटाले जानकारी दिनुभयो । गुणस्तरीय जातका गाईभैंसीबाट प्राप्त बीर्य प्रयोग गर्ने भएकाले दुध उत्पादन गर्ने क्षमता बढी भएको सन्तान प्राप्त गर्ने गरेको पाइन्छ ।
यस्तै विदेशी वा उच्च उत्पादन दिने जातका पशुको वीर्य प्रयोग गरेर स्थानीय जात सुधार गर्न गर्दा दुधको उत्पादनमा तीन गुणा सम्म वृद्धि भएको पशु प्राविधिकहरु बताउछन् ।
कृतिम गर्भाधानले उत्कृष्ट जातका साँढेको वीर्य प्रयोग हुने भएकाले दूध, मासु वा अन्य उत्पादन धेरै हुने सम्भावना बढ्छ भने प्रत्यक्ष हुने रोग (जस्तै प्रजनन प्रणालीका रोग) फैलिने संभावना घटेर जाने गर्दछ ।
यस्तै महँगो जातका साँढा पाल्नुपर्दैन, वीर्य मात्र प्रयोग गर्दा सजिलो र सस्तो हुन्छ । यस्तै छोटो समयमा नै ठूलो संख्यामा गुणस्तरीय पशु प्राप्त गर्न सकिन्छ । एउटा साँढको वीर्य देश–विदेशसम्म पु¥याएर धेरै पशुमा प्रयोग गर्न सकिने भएकाले सहज हुने प्राविधिहरु बताउछन् ।
