• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

कालीगण्डकी नदीबाट उत्खनन् गरिएको बालुवा जफत, १५ लाख राजश्व संकलन

बागलुङ
नियमविपरीत कालीगण्डकी नदी उत्खनन् गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ ।  नियम विपरित संकलन गरेको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कार्वाहीको लागि पठाइएको छ ।

जिल्ला समन्वय समितिको सक्रियतामा बागलुङ नगरपालिका भित्र अवैध रुपमा कालीगण्डकी दोहन गरेर संकलन गरिएको बालुवा जफत गरेर राजश्व संकलन गरिएको छ ।

दोहन भइरहेको कालीगण्डकी किनारको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ र बागलुङ नगरपालिका स्थित भाटेखोला बगरबाट संकलन गरिएको चार हजार ९७२ घन मिटर बालुवा जफत गरेर बागलुङ नगरपालिकालाई राजश्व संकलनका लागि पठाइएको थियो ।

बागलुङ नगरपालिकाले भाटेखोला बगर, दब्ल्याङ बगर लगायतका बगरबाट अवैध रूपमा उत्खनन् गरी बालुवा संकलन गर्ने विभिन्न व्यक्तिलाई कार्वाही गरी जफत गरिएको र रु. १५ लाख राजश्व संकलन गरिएको बागलुङ नगरपालिकाका राजश्व शाखा प्रमुख सरस्वती रेग्मीले जानकारी दिनुभयो ।

नगरपालिकाले जरिवानास्वरुप विभिन्न क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु. १५ लाख राजस्व संकलन गरिएको हो ।
असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था भएपनि नदीजन्य पदार्थको रातको समयमा दोहन गरी नदी छेउमा राखिएको ठूलो परिणामको जफत गरेर राजश्व संकलन गरिएको रेग्मीको भनाई छ ।

कालीगण्डकी नदीबाट नदीजन्य पदार्थको उत्खनन् भइरहेपछि जिल्ला समन्वय समिति बागलुङले अनुगमन गरेर बागलुङ नगरपालिकालाई कार्वाहीको लागि पठाएको थियो । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राज्यलाई कर छलेर अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुवाको परिणाम मुल्याङ्कन गरी बागलुङ नगरपालिकालाई दण्ड तथा जरिवाना गर्न निर्देशन दिइरहेको बताउनुभयो ।

“अहिले कालीगण्डकीबाट बालुवा निकाल्ल पाइँदैन, ठेक्का लगाएपछि मात्रै मापदण्ड अनुसार निकाल्न मिल्छ तर मध्यरातमा दोहन भइरहेको छ, हामीले दोहन भएर बिक्रीका लागि राखिएको बालुवाको परिणामका आधारमा जरिवाना गर्न थालेका छौँ, यो अभियान बागलुङ नगरपालिकामा मात्र सीमित नभई जिल्लाभर चलाइनेछ, स्थानीय तहले राजस्व गुमाउने र नदीजन्य पदार्थको दोहन भइरहने परिपाटीको अन्त्य हुन आवश्यक छ” जिसस प्रमुख थापाले भन्नुभयो ।