बागलुङ : गलकोट नगरपालिका ११ रिघाका भविन्द्र विक बागलुङ बजार छिरेको १५ वर्ष भयो । परिवारसहित बागलुङ नगरपालिका ३ रातामाटामा बसोबास गर्दै आएका भविन्द्र लोकल कुखुरा, हाँस, बाख्रा र च्याउ खेती गर्ने कृषको रुपमा परिचित हुनु हुन्छ ।
वैदेशिक रोजगारिको शिलशिलामा मलेशिया पुगेका भविन्द्र भने जस्तो नभएपछि नेपाल फर्कनु भयो । आफु विदेश हुँदा २ छोरी र १ छोरालाई पढाउ श्रीमती जुनु विक सहित बागलुङ बजार छिरेका उहाँलाई गाउँ फर्किन मन लागेन ।
नेपालमै केही गरौँ भन्ने सोचका साथ २०७८ सालबाट बट्टाई पाल्न थालेका भविन्द्र अहिले च्याउ खेती गर्दै हाँस र बाख्रा पाल्दै आउनु भएको छ ।
भविन्द्रलाई उहाँका श्रीमती जुनुको दरिलो साथ छ । श्रीमतीको मात्र होइन् व्यवसायनै परिर्वतन गरौँ या पुनः विदेश जाउ भन्ने सोचिरहेको समयमा कृषिमै टिकिराख्न भविन्द्रलाई कृषि ज्ञान केन्द्र बागलुङ र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले साथ दिएका छन् ।
कृषि ज्ञान केन्द्रको सहयोगमा भविन्द्र र जनुले ३ वटा फलाम र १ वटा बाँसको टनेल निर्माण गर्नु भएको छ । ज्ञान केन्द्रबाटै उहाँलाई च्याउ खेतीका लागि पराल पकाउने मेसिन र काटने मेसिन समेत प्राप्त भएको छ ।
च्याउमा समस्या आएको समयमा ज्ञान केन्द्रबाट प्राविधिक सहयोग समेत मिल्दै आएको उहाँले बताउनु भयो । भविन्द्रको फर्ममा यतिबेला १ सय भन्दा बढी हाँस र ८ वटा माउ बाख्रा छन् । २०८० सालबाट भविन्द्रले च्याउ खेती सुरु गर्नु भएको हो । च्याउको टनेल निर्माणमा भविन्द्रको ६ लाख लगानी पुगेको छ । ३ वटा टनेलमा च्याउ खेती गर्दा प्रत्येक पटक उहाँलाई छुट्टै २ लाख लगानी लाग्छ ।
२ लाख लगानी गरे सम्पूर्ण खर्च कटाएर २ लाख नै आम्दानी गर्न सकिने उहाँले बताउनु भयो । हरेक वर्ष १० वटा बोका बेच्दै आउनु भएका भविन्द्रले उत्पादिन सामग्री बेच्न बजारको अभाव नभएको बताउनु हुन्छ ।
‘हाँस र बाख्रा यहि विक्रि हुन्छ,’ भविन्द्र भन्नुहुन्छ ‘च्याउ एकैदिन धेरै उत्पादन हुने हुँदा म्याग्दीको बेनी र गलकोटसम्म पु¥याएर बेच्ने गरेको छु ।’
