बागलुङको काठेखोला गाउँपालिकाले कार्यपालिका सदस्यदेखि हाकिमसम्मलाई सवारी साधानको सुविधा दिएको छ । भौगोलिक हिसाबले जिल्लाका अन्य स्थानीय तहभन्दा सुगम रहेको यस पालिकाले मितव्ययिता नअपनाउँदा सवारी साधानमा मात्रै वार्षिक लाखौँ रुपैयाँ खर्च गर्दै आएको छ । गाउँपालिकाले कार्यापालिका सदस्य टीका संगम विकदेखि प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीसम्मलाई गाडी र मोटरसाकइकलको सुविधा दिएको हो ।
सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला भौगोलिक हिसाबले त्यति विकट पनि छैन । तर यही पालिकाका जनप्रतिनिधि र कर्मचारीले सवारी साधन बढी प्रयोग गर्दै आएका छन् । आठ वटा वडा रहेको गाउँपालिकामा तीन वटा गाडीसहित २० वटा सवारी साधन प्रयोग हुने गरेका छन् । गाउँपालिकाका सूचना अधिकारी मनोज कार्कीका अनुसार हाल तीन वटा गाडी, तीन वटा स्कुटर र १४ वटा मोटरसाइकल रहेका छन् ।
कार्कीले आठ वटै वडामा मोटरसाइकल तथा स्कुटर रहेको भन्दै बाँकी पालिकामा कर्मचारीले प्रयोग गर्ने गरेको बताउनुभयो । अहिले एउटा बाइक कार्यपालिका सदस्यलाई पनि उपलब्ध गराएको उहाँको भनाइ छ । गाउँपालिकामा प्राबिधिक धेरै रहेको हुँदा फिल्डमा जानु पर्ने हुँदा मोटरसाइकलको प्रयोग हुने कार्की बताउनुहुन्छ ।
बागलुङका धेरैजसो गाउँपालिकामा एउटा र केहीमा दुई वटासम्म गाडी छन् । तर काठेखोलामा भने अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा (तिलक) र प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की तीन जनाले नै गाडी प्रयोग गर्दै आएका छन् । गाउँपालिकामा दुई वटा पालिकाकै नामका गाडी छन् भने एउटा मासिक ८० हजार रुपैयाँ भाडा लिइएको छ । पालिकाका दुई वटा गाडी अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आउनु भएको छ भने भाडाको गाडी उपाध्यक्षले प्रयोग गर्नु भएको छ ।
भाडामा गाडी प्रयोग गर्दा पालिकाले वार्षिक १५ लाख रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ । गाउँपालिकाले गाडीको मात्रै वार्षिक भाडा ९ लाख ६० हजार रुपैयाँ, चालकको तलब तीन लाख २४ हजार रुपैयाँ (भत्ताबाहेक), र मासिक न्यूनतम २० हजार रुपैयाँ भाडाको गाडीमा इन्धन प्रयोग हुने गरेको छ । मर्मत खर्च छुट्टै आउने गाउँपालिकाका लेखा अधिकृत माधव शर्माले जानकारी दिनुभयो ।
वार्षिक इन्धनमा करिब २४ लाख खर्च हुने गरेको उहाँको भनाइ छ । गाउँपालिकामा डोजरसमेत हुँदा त्यसमा बढी इन्धन लाग्ने शर्मा बताउनुहुन्छ । लेखा अधिकृत शर्माले पालिकाको सवारी साधान मर्मतमा वार्षिक झण्डै २२ लाख रुपैयाँ खर्च हुने गरेको जानकारी दिनुभयो । नेपाल सरकारले उपसचिवभन्दा माथिल्लो पदका कर्मचारीलाई मात्र गाडीको सुविधा दिए पनि काठेखोलाले गाउँपालिकाका हाकिमलाईनै गाडी सुविधा दिएको छ ।
बागलुङका अन्य कुनै पनि गाउँपालिकाले हाकिमलाई गाडीको सुविधा दिएको पाइँदैन । काठेखोला गाउँपालिकाका अधिकांश कर्मचारीले कार्यालयभन्दा बाहिरको समयमा पनि पालिकाकै मोटरसाइकल प्रयोग गर्दै आएका छन् । कर्मचारी बजार नजिक भएको बहानामा गाउँपालिका वरपर बस्दैनन् । हरेक दिन बागलुङ बजारबाटै आउजाउ गर्ने गर्छन् ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले अन्य गाउँपालिकाको तुलनामा चार पाङ्ग्रे सवारी साधान बढी भएको स्वीकार गर्नु भयो । गाडीको आवश्यकताका बारेमा कार्यपालिका बैठकमा छलफल गर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – “पहिलेदेखि नै तीन वटा गाडी संचालनमा थिए, हामीहरु आएपछि पनि यसलाई निरन्तरता दिएका छौँ, गाडीका बारेमा धेरै टिका टिप्पणी भएका छन्, यस बारेमा कार्यपालिका बैठकमा छलफल गरेर व्यवस्थापन गर्ने छौँ ।”
