बागलुङ
२०५७ सालमा १४१ लिटर दूधको कारोबार गर्दै स्थापना भएको बागलुङ दूग्ध उत्पादक सहकारी संघ लिमिटेड यतिबेला वार्षिक रु. ११ करोडको कारोबार गर्ने ठूलो संस्थाको रुपमा परिचय कमाएको छ । बागलुङ जिल्लालाई दूधमा आत्मनिर्भर गराउन उल्लेख्य भूमिका खेल्दै आएको सहकारी संघ स्थापना कालमा पाँच वटा दूग्ध उत्पादक सहकारी संस्था मिलेर बनेको थियो ।
अहिले संघमा १५ उत्पादक सहकारीका झण्डै एक हजार ५०० किसानले दैनिक दूध उत्पादन गरेर बजारीकरणका लागि पठाउने गरेका छन् । १४१ लिटर दैनिक दूधको कारोबार गर्ने संघ अहिले दैनिक तीन हजार ५०० लिटर दूधको संकलन, प्रशोधन र बजारीकरणमा तल्लिन छ । किसानको दूधको बजारको ग्यारेण्टी, पशुधन बीमा, अनुदान, स्वास्थ्य उपचार लगायतका कारण किसानहरु सहकारीमा आबद्ध भएर गाउँमा रकम भित्राइरहेका छन् । संघले पछिल्लो समय दूध संगै दूग्धजन्य पदार्थको समेत बजारीकरण गर्दै आएको छ । संघले उत्पादन दुधबाट उत्पादन गरेको छुर्पी अन्तराष्ट्रिय बजारमा समेत पुग्ने गरेको छ ।
“२४ वर्ष अघि १४१ लिटर दूध लिएर बजारमा पठाउन बिक्री भएन, अहिले जस्तो भण्डारणको व्यवस्था थिएन, न त त्यतिबेला दही, छुर्पी र अन्य परिकार बन्थ्यो” संस्थापक उपाध्यक्ष ओमनाथ सापकोटाले स्मरण गर्दै भन्नुहुन्छ “बिक्री नभएको दूध, नालीमा बगाइन्थो, पहिला सहकारीको दूध कसैले किन्दैनथे, क्रमश बजार समेत बिस्तार भयो, समय बद्लियो अहिले दूध भनेकै बागलुङ उत्पादक सहकारीको हो भन्ने ब्राण्ड भइसक्यो, सहकारीमार्फत शहरको पैसा गाउँ पठाउने, रोजगारी सृजना गर्ने र बजारको ग्यारेण्टी गर्ने काम भइरहेको छ ।”
हरेक उपभोग्य बस्तु शहरबाट खरिद गर्दा गाउँको रकम शहर पुगेको सन्दर्भमा यहाँका दुग्ध उत्पादक किसानले भने शहरको करोडौ रकम गाउँ भित्राउन सफल भएका छन् । सहकारी मार्फत दूधको संकलन, प्रशोधन र बजारीकरण मार्फत बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका किसानले दूध बेचेरै आर्थिक वर्ष २०८१÷८२ मा मात्रै रु. ८ करोड ९३ लाख बढी रकम गाउँ भित्राएका छन् ।
बागलुङका किसानले दूध बिक्री गरेर शहरको पैसा गाउँमा भित्राउन थालेपछि दूध मार्फत आत्मनिर्भरता तर्फ अग्रसरता रहेका छन् । तीन पालिकाका १५ सहकारीका एक हजार ४०० भन्दा बढी किसानले एक वर्षमै रु. ८ करोड ९३ लाख ३६ हजार गाउँमा भित्राउन सफल भएका हुन् ।
उत्पादित दूध सहकारीमार्फत संकलन, प्रशोधन र बजारीकरणको ग्यारेण्टीले किसानलाई सहज भएको बानपा–७ का किसान जयराम जैसीले जानकारी दिनुभयो । बजारको ग्यारेण्टीले दूग्ध किसानहरु हौसिएर उत्पादन समेत बढाउदै लगेका छन् । बजारको मात्रै सुनिश्चित नभएर पशुधन बीमा, उपचार, अनुदान तथा नगद अनुदानले उत्साहित भएको जैसीले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका १४ वटा दूग्ध सहकारीमा आबद्ध रहेकोमा गत वर्षदेखि जैमिनी नगरपालिकाको पञ्चदेव कृषि तथा दुग्ध सहकारी थपिएको बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार वार्षिक एक करोडको कारोबारमा वृद्धि भइरहेको छ । दूध, दही, घ्यु, छुर्पी, पनिर र खुवा बिक्री गर्दै आएको छ ।
यहाँ उत्पादन भएको छुर्पी अमेरिका समेत निर्यात भइरहेको छ । सहकारीमा आबद्ध किसानले गत आर्थिक वर्षमा उत्पादनका आधारमा प्रति लिटर रु. पाँचका दरले रु. ३७ लाख नगद रकम बुझेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिनुभयो । सहकारीको दूधको बजारीकरण देशमै मोडल नयाँ भएको सापकोटाको भनाइ छ ।
