• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

ढोर, बुकीपाटन : स्वर्णिम सम्भावनाको गन्तव्य

बागलुङ
ढोरपाटन उपत्यका मात्र पुग्दा पनि धेरैलाई लाग्छ, यो भन्दा सुन्दर मनोरम ठाउँ कहाँ छ रु पहिलो पटक ढोरपाटन पुग्ने जो कोहीलाई यहाँको सुन्दरताले मोहित तुल्याउँछ । उपत्यकाकै सुन्दरताको मोहनीमा परेका आगन्तुक थप सुन्दर र अभूतपूर्व बुकीपाटन उक्लिदा कस्तो अनुभूति होला रु सोँच्दा मात्रै पनि छुट्टै या भिन्न संसारको परिदृश्य अधिकांशको मानसपटलमा आउँछ । शान्त र मनोरम वातावरण, स्वच्छ लेकाली हावा, त्यहाँ देखिने र त्यहाँबाट सेरोफेरोमा देखिने अनगिन्ती मनमोहक दृश्यले साँच्चिकै द्रवीभूत बनाउँछ ।

समुन्द्री सतहदेखि चार हजार मिटर उचाईबाट सुरु हुने बुकीपाटन ४५ सय मिटरको उचाई सम्म फैलिएको छ । दुई वर्ष अघि सम्म ओझेलमा रहेको बुकीपाटन गत वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ । खोलानाला, भिर पहरा र जङ्घार पार गर्दै पुगिने बुकीपाटन निकै मनमोहक छ ।

पहिले पहिले भेडा र भैंसी गोठाला मात्रै बस्ने बुकीपाटनमा हिजोआज पर्यटकको चहलपहल बढेको छ । पदयात्रा गर्न रुचाउनेहरुका लागि त झन् बुकीपाटन उत्कृष्ट गन्तव्य बनेको छ । उच्च पहाडी हावापानी, शान्त वातावरण र मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्छ । गाउँबाट होस् या सहरबाट युवाहरुको जमातले बुकीपाटन पुग्ने पर्यटकको पदमार्गमा चहपहल छ ।

सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट बुकीपाटनको व्यापक रुपमा प्रचार प्रसार हुन थालेपछि पर्यटको संख्या बढेको स्थानीय बताउँछन् । बुकीपाटनमा पुग्ने पर्यटकले नजिकैबाट दर्जनौँ हिमश्रृङ्खला, गोठाले जीवन देख्न र अनुभूति गर्न र गर्मी याममा शितल हुने हुँदा पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटनमा गर्पाछेडा, फुर्से देउराली, टीकाधारा, फागुने, च्यार्सुन लगायत थुप्रै पर्यटकीय गन्तव्य छन् । जहाँ बागलुङ सहित रोल्पा, रुकुम, डोल्पा र म्याग्दीका दर्जनौ पशुपालक किसानका हजारौँ भेडाका बथान भेटिन्छन् । जुन पर्यटक आकर्षित गर्ने माध्यम पनि बनिरहेको छ ।

कसरी पुग्न सकिन्छ बुकीपाटन ?
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटनमा थुप्रै आकर्षक र सम्भावनायुक्त ठाउँ छन् । बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ सम्म पोखरा, काठमाडौँ लगायतका स्थानबाट पक्की सडक मार्फत पुग्न सकिन्छ । बुर्तिबाङ ढोरपाटनको प्रवेशद्वार हो, ढोरपाटन नगरपालिकाको केन्द्र हो । यो उदियमान शहरको सूचिमा पनि दर्ज छ ।

यहाँबाट ३२ किलोमिटर कच्ची सडकको यात्रा पछि ढोरपाटन उपत्यकामा पुग्न सकिन्छ । ढोरपाटन उपत्यकाबाट करिब साढे चार घण्टाको पैदल यात्रामा पुग्न सकिने बुकीपाटन । अघिल्लो वर्षसम्म बुकीपाटन गोठाला र वस्तुभाउ हिँड्ने गोरेटोमा यात्रा गर्नु पथ्र्यो भने अहिले पदमार्ग निर्माण भएको छ ।

बुकीपाटन चढ्ने याम असारदेखि असोजसम्म उत्तम मानिन्छ । ढोरपाटन उपत्यका स्थित पाखाथर पावर हाउस हुँदै खोलैखोला चेप्टा ढुङ्गा निस्किन सकिन्छ । पदमार्ग हुँदै ठाडोखोला सम्म त्यत्ति उकालो नभए पनि त्यसभन्दा माथि यात्रा गर्न अलि कठिन हुन्छ ।

पर्यटकका लागि पदमार्ग र विश्रामस्थल
पोहोर सालसम्म बुकीपाटन जाने पर्यटकका लागि गतिलो पदमार्ग थिएन । साँघुरो गोरेटोमा जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता थियो । तर, अहिले पदमार्ग र छेउछाउमा विश्रामस्थल निर्माण गरिएको छ । पहिले घण्टौंको पैदल यात्राले थकित पर्यटक गोरेटो छेउमै विश्राम लिन्थे । अहिले उक्त समस्या समाधान भएको छ । पदमार्गको छेउमा निर्माण गरिएका विश्राम स्थलले आन्तरिक तथा बाह्य पर्यटकको बुकीपाटन यात्रालाई सहज बनाई दिएको छ ।

पर्यटन तथा उद्योग कार्यालय बागलुङले २० लाख रुपैयाँ लगातमा ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि गर्पाछेडा सम्मको पाँच किलोमिटर पदमार्ग उपभोक्त समिति मार्फत निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पदमार्गसहित चेप्टाढुङ्गा, ढुङ्गे देउराली र गर्पाछेडा गरी तीन स्थानमा विश्राम स्थलसमेत बनाइएको छ ।

प्रमुख थापाले भन्नुभयो–“बुकीपाटन पुग्न पर्यटकको सहजताका लागि यो पदमार्ग निर्माण गरिएको हो, काम सकिएर अहिले पर्यटकहरु उक्त पदमार्गमा हिँड्न थालेका छन्, पहिले साह्रै अप्ठ्यारो हुँदा यात्रा गर्न समस्या थियो, अब सहज हुनेछ, पाँच किलोमिटर पदमार्ग मध्ये केही ठाउँ पक्की र केही ठाउँ कच्ची छ, ठाउँ ठाउँमा विश्रमस्थल र काठका पुलहरु बनेका छन्, यसले पर्यटकको यात्रालाई थप रमणीय र आरामदायी बनाउने छ ।”

विश्रामस्थलमा पर्यटकले रातसमेत बिताउने गरेका छन् । उच्च पहाडी क्षेत्र भएको हुँदा यहाँको मौसम निकै चिसो हुने हुँदा विश्रामस्थलमा बास बस्दा न्यानो कपडा भने आवश्यक पर्छ । अघिल्लो वर्षदेखि चर्चामा आएको बुकीपाटन यसवर्ष दैनिक १०० बढी पर्यटक ढोरपाटन उपत्यकादेखि उक्लिने गरेका छन् । ढोरपाटन पुगेका पर्यटक जति बेला पनि बुकीपाटन उक्लिदाँ बिच बाटोमा अलपत्रसमेत पर्ने गरेका छन् ।

ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य
हिउँदमा हिउँ पर्ने हुँदा बुकीपाटन सुनसान प्रायः हुन्छ । घाँस र बुट्यानहरु सुक्ने हुँदा उराठिलो बन्छ, तर बर्खाको समयमा हरियाली हुने र वनफूलले रंगीचंगी देखिने हुने निकै सुन्दर र हराभरा देखिन्छन् । बुकीपाटन पदयात्रा ‘ट्रेकिङ’का लागि अझ बढी उपर्युक्त मानिन्छ । ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टामा पुग्न सकिने बुकीपाटनमा युवा पुस्ताको आकर्षण बढी छ ।

बर्खायाममा बुकीपाटन बढी मनमोहक हुने हुँदा पदयात्रमा जाने पर्यटक बढी आउने गरेको ढोरपाटनका होटल व्यवसायी धिरेन्द्र घर्ती मगरले बताउनुभयो । पहिले ढोरपाटन आउने पर्यटक उपत्यकाबाट मात्रै फर्किने गरेको तर अहिले अधिकांश पर्यटक बुकीपाटनमै पुग्ने गरी आउने गरेको उहाँको भनाइ छ । स्थानीयहरु बर्खामा वस्तुभाउ लिएर बुकीपाटन उक्लिने र हिउँदमा बेसी झर्ने गर्दै आएको सुनाउनँदै पहिले बाहिरी मान्छे खास्सै नजाने गरेको उहाँले बताउनुभयो । यो याममा दैनिक ५० जना युवाहरु बुकीपाटनमा जाने गरेको घर्तीको भनाइ छ ।

“अहिले त घुमफिर गर्ने चलन आयो, युवाहरु खुब रमाइलो गर्दै बुकी चड्छन्, स्टिलका लौरा समातेका, झोला बोकेका, फोटो खिँच्दै हिँड्छन्, हामीहरुलाई देखे भने पुराना पुराना कुरा सोध्छन्, कोहीले त हाम्रो फोटो लगेर मिडियामा देखाउँछु भन्छन्, घुम्न आउनेहरुलाई त रमाइलो नै हुन्छ होला, हामी जस्तो दुःख गर्ने मान्छेलाई के रमाइलो भन्ने के नरमाइलो भन्ने” उहाँले भन्नुभयो ।

पहिले गुमनाम रहेको बुकीपाटनमा अहिले दैनिकजसो पर्यटक ‘ट्रेकिङ’ जाने गरेको छन् । पोखरा, काठमाडौँ, बुटवल, चितवन लगायतका ठाउँबाट युवाहरु पदयात्रा गर्न आउने गरेको घर्तीले बताउनुभयो । अहिलेसम्म ओझेलमा थियो रहेको बुकीपाटन सामाजिक सञ्जाल र मिडियामा प्रचार हुँदा धेरै पर्यटकको आमगन भएको उहाँ बताउनुहुन्छ ।

काठमाडौँबाट घुम्न आउनु भएका रुपेश वाइबाले ठाडोखोलाखेखि माथि निकै उकालो रहेको हुँदा ढुङ्गे देउराली पुगेपछि दुई घण्टा विश्रामस्थलमा आराम गरेर गर्पाछेडा पुगेको बताउनुभयो । पदमार्ग छेउमा बनेका काठका फल्याक र जस्तापाताले छाएका विश्रामस्थलले आफू जस्ता पर्यटकलाई ठूलो राहत दिएको उहाँको भनाइ छ ।

“यस्तो विकट स्थानमा पनि विश्रामस्थल बनाउनु भएको रहेछ, यहाँ त रातिमा पनि बस्न सकिदो रैछ, गोठमा भन्दा त विश्रामस्थलमा बस्न धेरै आनन्द हुँदो रैछ” वाइबाले भन्नुभयो–“विश्रामस्थलमा अल्लि व्यवस्थित ढोका बनाएको भए अझ राम्रो हुन्थ्यो, हामीहरु त माथि जाँदा पनि आराम ग¥यौँ फर्किदा पनि थाकाई लागेर आराम ग¥यौँ ।”

पर्यटक आकर्षित गर्ने भेडीगोठ
बुकीपाटनमा पुग्ने पर्यटकलाई आकर्षित गर्ने अर्को माध्यम बनेको छ । भेडीगोठ र भेडाका बथान । बर्खामा बुकीपाटनमा घाँस पलाएर हरियाली बनेको छ । त्यही हरियालीमा सेताम्मे भेडाका बथाले बुकीपाटनको सुन्दरतालाई बढाएको छ । पाँच वर्ष अगाडिसम्म बुकीपाटन भेडा गोठालाका लागि मात्रै प्यारो थियो । तर अहिले प्राकृतिक सुन्दरतासँग रम्नेका लाग अझ बढी प्रिय बनेको छ । भेडाका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् ।
एकै ठाउँमा हजारौँ भेडा देख्दा पर्यटक दंग हुने गर्छन् ।

गर्पाछेडा पुग्दा बित्तिकै चारै तिर हजारौँका संख्यामा छरिएर चर्दै गरेका भेडाका बथान देख्दा पर्यटकको थकाननै मेटिने गर्छ । बुकीपाटनमा आउने अधिकांश पर्यटक भेडाका बथानसँग रमाउने ढोरपाटनका भेठी गोठाला भक्त अदैले बताउनुभयो । तीन वर्ष अगाडिसम्म गोठाला र भेडाका बथानबाहेक कोही पनि बुकीपाटनमा नआउने गरेको भन्दै पछिल्लो समय दिनदिनै सहर बजारबाट पर्यटक घुम्न आउने गरेको उहाँको भनाइ छ ।

“हामीहरू रहरले बुकीमा बसेका हैनौँ, तर अहिले त मान्छेहरू रहरले घुम्न आउँछन्, भेडा पाल्ने हाम्रो बाध्यता हो, यहीबाटै हामीहरूले जीविकोपार्जन गर्छौं, पहिले गाठाला मात्रै हुन्थ्यो, बाहिरी मान्छे कोही आउँदैनथ्यो, अहिले हिउँदसम्मै बाहिरी मान्छेको चाप हुन्छ”, उहाँले भन्नुभयो “सहर बजारका मान्छेले भेडाको बथान नदेखेको भएर होला, यहाँ आए भने घण्टौँ भुल्छन्, हामीहरूलाई पनि अनेक जिज्ञासा राखेर जान्छन्, कोही त दुई÷तीन दिननै यही बस्छन् ।”

दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुनेलगायत थुप्रै बुकीपाटन क्षेत्र पर्छन् । यो याममा बागलुङसहित पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौँ गोठाला अस्थायी गोठ बनाएर बस्दै आएका छन् । दर्जनौ जनाको हजारौँ संख्यामा भेडाबाख्रा, गाईभैँसीले बुकी पाटननै ढाकिएका हुन्छन् । एउटै गोठालाको पाँच हजारसम्म भेडा हुन्छन् । धेरै स्थानबाट गोठालाहरूले भेडा लिएर आउँदा सिङ्गो पहाडनै ढपक्क ढाकिने गर्छ ।

भैरवाहदेखि बुकीपाटन आएको प्रकाश ज्ञवालीले यहाँको प्राकृतिक सुन्दरता र भेडाका बथानले आफूलाई लोभ्याएको बताउनुभयो । आठ जनाको समूहमा ढोरपाटन उपत्यका घुम्न आएको बेला होटल व्यावसायिकले बुकीपाटन जान सुझाएपछि बुकी उक्लिएको उहाँको भनाइ छ । आफूले अहिलेसम्म एकै ठाउँमा हजारौँ भेडा नदेखेको ज्ञवालीले सुनाउनुभयो ।

“बुकीपाटनमा म पहिलोपटक आएको हुँ, यति अग्लो उचाइमा पहिलोपटक आएको, त्यसमाथि जिन्दगीमै पहिलोपटक पहाडै ढाकिने गरी चर्दै गरेका भेडाका बथान देखेँ, यो मेरो ‘लाइफ’कै अविस्मरणीय हुनेछ, यहाँका गोठाला कति सहयोगी, कति मायालु, सबैभन्दा बढी त म यहाँको गोठ र भेडाहरूले प्रभावित भए, अहिले छोटो समयका लागि आएको थियौँ, अर्को पटक आउँदा धेरै दिन बस्ने गरि आउने छौँ” उहाँले भन्नुभयो ।

पर्यटकका लागि बुकीपाटनमै गोठ–स्टे
बुकीपाटन पुग्न पर्यटका पहिले भेडी गोठालासँग गोठमै बस्नु पर्ने बाध्यता थियो । तर, अहिले खान र बस्नका लागि बुकीपाटनको गर्पाछेडामामा गोठबास ९गोठस्टे० सञ्चालनमा ल्याइएको छ । गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा स्थानीय सन्देश थापाले गोठस्टे सञ्चालनमा ल्याउनुभएको हो । बुकीपाटन पुग्ने पर्यटकका लागि खाने र बस्नेको सुविधा नहुँदा उनीहरु भेडी गोठालेसँगै गोठमा रात बिताउने गर्थे । गोठमा रात बिताउँदा चिसोका कारण कति त बिरामीसमेत पर्थे । तर अहिले त्यो समस्याको कम भएको छ ।

थापासँगै स्थानीय महेन्द्र घर्ती मगरले पनि यस वर्षदेखि गोठ–स्टे सञ्चालनमा ल्याउनु भएको छ । घर्तीले गर्पाछेडासँगै टीकाधारामा पनि गोठस्टे संचालन गर्नु भएको छ । घण्टौँको यात्रापछि गर्पाछेडा पुग्ने पर्यटक लागि गोठस्टे विश्रमस्थल बनेको छ । गोठस्टेबाट पर्यटकले उच्च पहाड, हिमश्रङ्खला र गोठलाको जनजीवन अनुभूत गर्न पाउँछन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकीपाटन आउने पर्यटक बढेको गोठस्टे सञ्चालक सन्देश थापाले बताउनुभयो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचारप्रसार हुन थालेपछि पर्यटक बढ्न थालेको उनको भनाइ छ ।

उहाँले भन्नुभयो “बुकीपाटनमा पर्यटक आउन थालेको धेरै भएको छैन, केही समय अघिसम्म यो क्षेत्र पर्यटकका लागि ओझेलमै थियो, दुई÷तीन वर्षदेखि यहाँ बढी मात्रामा पर्यटक आउन थालेका हुन्, पोहोर सालदेखि मैले गोठस्टेसुरु गरे, यसवर्ष अर्को एक जना साथीले पनि सुरु गर्नुभएको छ”, उनले भने, “पहिले पर्यटक बुकीपाटन आउँदा गोठालासँग गोठमा बस्नु बाध्यता थियो, उहाँहरुलाई खाना र सुत्नका लागि निकै समस्या थियो, अहिले त्यो समस्याको समाधान गरेका छौँ ।”

अव्यवस्थित सडकले पर्यटकलाई सास्ती
बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने करिब ३२ किलोमिटर सडक स्तरोन्नती नहुँदा पर्यटकले सास्ती खेप्नु परेको छ । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको एक दशक बिति सक्दा पनि स्तरोन्नति हुन नसक्दा पर्यटक र स्थानीयले सास्ती खेप्नु परेको छ । बुर्तिबाङदेखि बोबाङसम्म सडक सहज भए पनि त्यसभन्दा माथि निकै अप्ठ्यारो छ ।

साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा पर्यटकका सवारी साधान ढोरपाटन पुग्न हम्मेहम्मे हुने गरेको छ । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारी साधान बीचबाटोमै बिग्रिने हुँदा उनीहरुसमेत अलपत्र पर्ने गरेका छन् ।

वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको हुँदा यात्रा गर्न निकै कठिन भएको छ । तराई र पहाडलाई जोड्ने गरि रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडेको छ । नवलपुरबाट ढोरपाटन घुम्न आउनु भएका तुफान सापकोटाले फल्लेघरभन्दा तल पट्टीको सडकमा गाडी बिग्रिदा दुई दिन अलपत्र परेको गुनासो पोख्नुभयो ।

समाजिक सञ्जालमा ढोरपाटनको मनमोहक तस्बिर र भिडियो देखेर घुम्न आएको सुनाउँदै सडकका कारण दुःख पाएको उहाँको भनाइ छ । राज्यले पर्यटक बढी आउजाउ गर्ने ठाउँलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने सापकोटाले बताउनुभयो । वि।सं. २०७१ सालमा बागलुङ खण्डमा यस सडकको ट्रयाक खुलेको थियो । गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलो मिटर सडक पर्छ ।

सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । वि।सं। २०७७ भदौ १७ गते राति आएको भिषण बाढीले विभिन्न स्थानमा सडक बगाएको थियो । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतीका लागि चार वर्ष अगाडि कार्तिकमा ठेक्का सम्झौता भएको थियो ।

थपिदै होटल, फस्टाउँदै व्यवसाय
एक दशक अगाडिसम्म ढोरपाटनमा जनैपूर्णिमाका अवसरमा मात्रै तीर्थयात्रु ढोरबराह मन्दिरमा पूजा अर्चना जाने गर्थे । घुम्नका लागि खास्सै जाँदैनथे । ढोरपाटन पुग्नेहरु गाईभैसीँ बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे । खाना खाने र सुत्ने होटलको सुविधा थिएन । अहिले बाह्रै महिना पर्यटक ढोरपाटन पुग्न थालेका छन् । पहिलेको जस्तो हिँडेर ढोरपाटन पुग्नु पर्ने अवस्था छैन । अहिले कच्ची भए पनि सडक पुगेको छ ।

हरके वर्ष ढोरपाटन उपत्यकामा होटल तथा घरबास पनि थपिँदै छन् । अहिले करिब ३५ वटा होटल तथा घरबास ९होम–स्टे० संचालनमा आएको ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले जानकारी दिनुभयो । सडक र होटल संचालनमा आएपछि अहिले ढोरपाटन पुग्ने पर्यटकलाई सहज भएको उहाँको भनाइ छ । ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा होटल तथा घरबास संचालनमा आएका छन् ।

होटल संचालनमा आएपछि बाहिरबाट आउने पाहुनाले समस्या भोग्नु परेको छैन । काठैकाठले बनेका घर रहेको यस क्षेत्रमा पछिल्लो समय माटो, ढुङ्गाको साथै कङ्क्रिटका घरहरु बन्न थालेका छन् । स्थानीयसँग बाहिरबाट समेत ढोरपाटनमा पुगेर घर बनाउने र होटल संचालन गर्नेहरु पनि धेरै रहेको उहाँ बताउनुहुन्छ ।

“पहिले खास्सै मान्छे आउँदैनथे, स्थानीय पनि स–साना घर बनाएर बस्ने गर्थे, होटल व्यवसाय गर्ने चलननै थिएन, जब ढोरपाटनमा पर्यटकको संख्या बढ्दै गयो,” पुनले भन्नुभयो – “त्यसपछि यहाँका स्थानीयमा पनि व्यवसाय गर्नुपर्छ भन्ने सोचको विकास भएको छ, सबैजसो होटलमा पाहुना भरिभराउ भएपछि उत्साहित पनि छौ ।” अब होटल, होम–स्टे, गोठ–स्टेलाई थप व्यवस्थित र पर्यटक पाहुनाको यात्रालाई अविस्मरणीय बनाउने योजनामा रहेको उहाँले बताउनुभयो ।