• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

तिर्थ र ताराको बागलुङकै ‘कालिका साबुन’

बागलुङ । पछिल्लो समय बागलुङ बजारका किराना र डिपार्टमेन्टल स्टोरहरुमा ‘कालिका सबुन’ छ्याप छ्याप्ती भेटिन्छ । कपडा धुने र भाँडा धुने कालिका सबुन बागलुङकै उत्पादन हो ।

बागलुङको काठेखोला गाउँपालिका ७ रेशका तिर्थ गौतम र तारा शर्माले पछिल्लो २ वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आउनु भएको छ । २८ वर्षीया तारा र ३२ वर्षीय तिर्थले २०७६ सालमा विवाह गर्नु भएको थियो । स्नाकोत्तर उर्तिण गरेका तारा र तिर्थलाई समकालिन साथिहरु विदेशिदा तिमीहरु पनि विदेश जाउ भनेर सल्लाह दिनेहरु नभेटिएका होइनन् । परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प देखिदैन भन्थे ।

तर, तिर्थ र ताराले विदेशको विकल्प रोज्ने होइन्, नेपालमै उद्यमी बन्ने सपना देखे । यतिबेला उनिहरु २ वर्षको छोरासँगै २ वर्षको आफ्नो उद्योगलाईसँगै हुर्काइ रहेका छन् । स्वदेशमै स्वरोजगार सिर्जना गरेका तिर्थ र ताराको उद्योगमा ६ जनाले रोजगार पाएका छन् ।

बागलुङ बजारको हल्लनचोक नजिकै रहेको टि एण्ड टि म्यानुफ्याक्चरिङ्ग उद्योगबाट तिर्थ र ताराले भाँडा धुने र कपडा धुने साबुन उत्पादन गरेर बागलुङ बजारसँगै गलकोट, बुर्तिवाङ, कुश्मिसेरा, बरेङ र म्याग्दीसँगै पर्वत जिल्लाका मुख्य सहरहरुमा विक्रि गर्दै आउनु भएको छ ।

२०७८ सालमा पर्यटन तथा उद्योग कार्यालय बागलुङ र बागलुङ नगरपालिकामा उद्योग दर्ता गरेका तिर्थ र ताराले २०८० सालबाट साबुन उत्पादन गरेर विक्रि गर्न थाल्नु भएको हो । ५० लाख लगानी गरेर सुरु गरेको उद्योगमा १ करोडभन्दा बढी लगानी पुगेको छ । निकट भविश्यमै सरफ, हार्पिक र कुलिन समेत उत्पादन गर्ने लक्ष्य रहेको ताराको भनाई छ ।

साबुन उत्पादनका लागि अधिकाशं कच्चा पदार्थ भारत र केही काठमाडौँबाट खरिद गर्ने गरेका तिर्थ र ताराले वार्षिक ५० लाख बराबरको कारोबार गरेको बताउनुभयो । २०० ग्रामको कपडा धुने कालिका साबुनलाई ५० रुपैयाँमा विक्रि गर्दै आएको शर्माले बताउनु भयो । उत्पादनमा मात्र नभएर उत्पादित साबुनको गुणस्तरमा समेत ध्यान दिने गरेको उहाँको भनाई छ ।

उद्याेगबाट दैनिक १५ सय किलाे साबुन उत्पादन गर्दै आएको गाैतमले बताउनुभयाे ।