बागलुङ । बागलुङबाट यसवर्ष ५४ लाख बराबरको छुर्पी बिक्री भएको छ । दुध र दुग्धजन्य पदार्थको विक्रि वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी संघले ५४ लाख ८८ हजार २ सय ४० रुपैयाँ बराबरको छुर्पी बिक्री गरेको संघका अध्यक्ष दिपक गौतमले बताउनु भयो ।
बागलुङमा उत्पादित छुर्पी नेपालमा मात्र होइन् विदेशमा पनि बिक्री हुँदै आएको छ । संघले विभिन्न संघ संस्था र व्यक्तिलाई बेच्दै आएको यहाँको छुर्पी काठमाडौँ हुँदै अमेरीका समेत पुग्ने गरेको अध्यक्ष गौतमको भनाई छ ।
अघिल्लो वर्ष ३८ लाख ५४ हजार ४ सय १० रुपैयाँको छुर्पी बेचेको सहकारीले अघिल्लो वर्षको तुलनामा यसवर्ष १६ लाख भन्दा बढीको बिक्री गरेको हो ।
दुग्ध सहकारीले यस वर्ष १० करोड ९९ लाख १७ हजार ८ सय ५५ रुपैयाँ बराबरको दुध र दुग्धजन्य वस्तुको कारोबार गरेको अध्यक्ष गौतमको भनाई छ । अध्यक्ष गौतमका अनुसार सहकारीबाट दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवाको उत्पादन हुँदै आएको छ । त्यसमध्ये अन्तर्राष्ट्रिय बजारमा सहकारीको छुर्पीको माग उच्च रहेको छ ।
दुग्ध सहकारी संघ बागलुङले बागलुङका १५ वटा सहकारी संस्थाको दुध संकलन गरेर दुध र दुग्धजन्य वस्तुको बिक्री गर्दै आएका छन् । जसमा १ हजार ५ सय भन्दा बढी कृषकहरु आवद्ध छन् ।
सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा ७ करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको थियो । आर्थिक वर्ष ०८१/०८२ मा ७ करोड ५२ लाख ९१ हजार १ सय ८२ रुपैयाँको दुध, २ करोड १३ लाख ८५ हजार ८ सय ४२ रुपैयाँको सादा दही, ३० लाख ६५ हजार ५ सय ७१ रुपैयाँ प्याकेट दही, २१ लाख ४९ हजार ६ सय ४४ रुपैयाँको घ्यू, २१ लाख ९९ हजार ६ सय ८१ रुपैयाँको पनिर र ३७ हजार ६ सय ९५ रुपैयाँको खुवा बेचेको हो ।
हाल सहकारी संघले छुर्पी प्रतिकिलो एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् । सहकारी संघमा १७ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका अध्यक्ष गौतमले बताउनुभयो ।
