• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

बागलुङकी लक्ष्मी म्याग्दीमा लास जाँच गर्दै

म्याग्दी । पद कार्यालय सहयोगी । काम ‘शव चिर्ने’ । सुन्दा जति भयानक छ, यो काम गर्दा त्यति पीडाकर । विभिन्न कारणले अस्पतालको शैयामा मृत्युवरण गरेका व्यक्तिको लासजाँच (पोष्टमार्टम) गर्ने काममा २० वर्षदेखि खटिएकी लक्ष्मी मृतकका आफ्न्तको रोदनले मन छिया छिया हुने गरेको बताउनु हुन्छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ की लक्ष्मी किसान पछिल्लो २० वर्षदेखि प्रदेश अस्पताल बेनीमा कार्यालय सहयोगी पदमा कार्यरत हुनुहुन्छ । तर, उहाँको काम अस्पतालमा मृत्युवरण गरेकाको लासजाँच गर्ने हो ।

उहाँले लासजाँच सम्बन्धी अध्यन गर्नु भएको छैन् । तालिम पनि लिनु भएको होइन । तर, अस्पतालका चिकित्सकले यसरी गर्नुस भने अनुसारनै काम गर्दै जाँदा सिकेको उहाँको भनाई छ ।

अस्पतालको मुर्दा घरमा राखिएका शव चिरेर डाक्टरको सल्लाह अनुसार प्रहरी र अदालतलाई चाहिने रिपोर्टमा उल्लेख गर्नुपर्ने विषयवस्तु दुरुस्तसँग निकाल्ने काममा लक्ष्मी पोख्त भइसक्नु भएको छ ।

लक्ष्मीका श्रीमान सोम किसानले २०५७ सालदेखि बेनी अस्पतालमा लासजाँचको काम गर्नु हुन्थ्यो । उहाँले २०६२ सालमा काम छोड्नु भयो । श्रीमानले काम छोडेपछि २०६२ सालमा बेनी अस्पतालमा कार्यालय सहयोगीको रुपमा प्रवेश गरेकी लक्ष्मीले २० वर्षमा ३ हजार लासजाँच गरेको बताउनु हुन्छ ।

लक्ष्मीले वार्षिक १ सय ३० भन्दा बढी सवजाँच गरेको बताउनु हुन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्मका मृत शरिर शवगृहमा हुन्छन् । सबैभन्दा बढी पीडा बालबालिकाको लासजाँच गर्दा हुने लक्ष्मीको भनाई छ ।

‘जब स–साना बालबालिकाहरुको शव चिर्न पर्छ नि त्यो बेला मन कटक्क खान्छ’ लक्ष्मी भन्नुहुन्छ ‘मृतकका आफन्तहरु पीडाले छट्पटिदै रुने, कराउने गर्दा भित्र आफूले शव चिर्नु असाध्यै कठिन हुन्छ ।’ अघिल्लो हप्ता गाडीको ठक्करबाट मृत्यु भएको ३ वर्षियाको शब चिर्न पनि निकै कठिन भएको उहाँको भनाई छ ।

बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर रामु सापकोटा लक्ष्मी सिस्टरको सहउोगमा अस्पतालको सेवा प्रवाह सहज भएको बताउनु हुन्छ । ‘म बेनी आएपछि मैले पोष्टमार्टम गर्ने समयमा कुनै पनि शवहरुको म्यानेज गर्ने क्रममा चिरफार गर्ने, ‘ह्याण्डल’ गर्ने जस्ता सबै काममा उहाँले बिमती जनाउनु भएन’ सापकोटाले भन्नुभयो ‘आफ्नो काम गर्नका लागि निडर, कर्तव्य र जिम्मेवारीमा निकै बफादार हुनुहुन्छ ।’

‘कुनै पनि काम गर्दिन र कुनै पनि समयमा काम गर्दिन नभन्नु नै लक्ष्मीको सबल पक्ष हो, मध्यरात होस् वा बिहान, साँझ र दिउँसो लक्ष्मीले देखेका र भनेका काम सबै गर्छिन्’, अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष बेलबहादुर कटुवालले भन्नुभयो । पोष्टमार्टम गर्नका लागि आएका शवहरु चिर्नु, बाथरुम तथा ट्वाइलेटहरुको सरसफाइको नेतृत्व लक्ष्मीकै हो ।

अध्यक्ष कटुवालका अनुसार लक्ष्मीलाई वार्षिक रुपमा अस्पतालबाट इन्सेन्टिपवापत रकम आउँछ भने अन्य अवस्थामा आवश्यकता अनुसारको भत्ता पनि हुन्छ । राज्यले तोकेको कार्यालय सहयोगीको तलब लक्ष्मीले पाउँदै आउनुभएको छ ।

बेनी अस्पतालकी लक्ष्मी सिस्टरले कहिल्यै पनि लास सडेको, वा अन्य कारण देखाएर चिरफार गर्न आनाकानी गर्नुहुन्न । अस्पतालले आवश्यक ठानेर खबर गरेको जुनसुकै समयमा पनि उपलब्ध हुने उहाँको सानो पद भनिने भए पनि निकै ठूलो जिम्मेवारीका साथ खट्नुहुन्छ ।