म्याग्दी । भाडादर निर्धारण समितिले म्याग्दी जिल्ला भित्रको पक्की, कच्ची सडकमा बस, जीप तथा ट्याक्सीको भाडादर निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको बैठकले तत्काल लागुहुने गरी भाडादर कायम गरेको हो ।
बेनी–जोमसोम सडकखण्डमा प्रति किलोमिटर प्रति यात्रु बसभाडा १० रुपैयाँ, जीप भाडा १५ रुपैयाँ तोकेको छ । त्यसैगरी बेनी–दरबाङ र बेनी–रत्नेचौर सडकखण्डमा बसमा प्रतिकिलोमिटर १० रुपैयाँ र जीपमा प्रति किलोमिटर १५ रुपैयाँ भाडा तोकिएको हो । जिल्ला भित्रका सबै ग्राभेल सडकमा प्रति किलोमिटर बसले १८ रुपैयाँ र जिपभाडा २५ रुपैयाँ लिन पाउने छन् ।
त्यसैगरी जिल्ला भित्रका सबै पक्की सडकमा यात्रुबाहक ट्याक्सीलाई प्रति यात्रु, प्रति किलोमिटर १७ रुपैयाँ र कच्ची सडकमा प्रति किलोमिटर ३० रुपैयाँ कायम भएको छ । तोकिएको प्रति किलोमिटर भाडादर बाहेक नगरपालिका र गाउँपालिका भित्र रहेका ग्रामिण सडकको पक्की, ढलान सडकमा यात्रुले प्रति किलोमिटर बसमा यात्रा गर्दा १४ रुपैयाँ र जिप भाडा १८ रुपैयाँ भन्दा बढी लिन नपाइने प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो ।
यात्रुले आफूले यात्रा गरेको किलोमिटरको आधारमा भाडा तिनुपर्ने पर्ने, यातायात ब्यवसायीले अटेर गरेमा, क्षमता भन्दा बढी यात्रु बोकेमा कानुनी कारवाहीका लागि सिफारिस गरिने जनाइएको छ ।
यस अघि सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यको संयोजकत्वमा भाडादर निर्धारण उपसमितिमा गठन भएको थियो । हालसम्म जिल्लामा दुई वर्ष अगाडी बि.स २०८० साल जेठ ५ गते तोकिएको भाडादरमा नै सवारीले सेवा दिइ रहेका थिए ।
