• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

बजेट अभावमा निसीखोला अस्पताल अलपत्र

बागलुङ । चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । २०८० सालमा निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो । निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शैयाको आधारभूत अस्पताल निर्माणका लागि वि.सं. २०७८ साल माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो ।

रु आठ करोड २४ लाख रुपैयाँमा निर्माण सुरु भएको अस्पताल वि.सं. २०८० पौष महिनामा सम्पन्न गर्ने गरि निर्माण सुरु भएको थियो । हालसम्म ८० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस/एसी जेबी कन्ट्रक्सनका प्रमुख दीपक कुमार अदैले जनाकारी दिनुभयो । बजेट नआउँदा एक वर्षदेखि काम रोकिएको उहाँको भनाइ छ ।

पालिकाबाट भुक्तान गर्न बाँकी रहेको रु एक करोड १० लाखसहित थप रु ६० लाख व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उहाँ बताउनुहुन्छ । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको अदैले सुनाउनुभयो । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्षनै अस्पताल सम्पन्न भई सक्ने उहाँको भनाइ छ । पोहोर सालनै सकिनु पर्ने अस्पतालको काम बजेट नआएपछि गत असार मसान्तसम्म म्याद थप भएको थियो । बजेट नआएसम्म काम गर्न नसकिने अदै बताउनुहुन्छ ।

अदैले भन्नुभयो – “यो अस्पतालको काम अब धेरै छैन, रङरोघन, विद्युत जडान र फिनिसिङको काम बाँकी छ, बजेट हुने हो भने केही समयमै काम सम्पन्न हुने थियो, तर पालिकाले अहिलेसम्म करोड बढीको रकम भुक्तानी गरेको छैन, त्यो बाहेक अझै थप बजेट आवश्यक पर्छ, त्यसको व्यवस्थापन गर्न सके काम अगाडि बढ्थ्यो, बजेट नआउँदा काम गर्न सकिएन ?”

निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले रु एक करोड ५० लाख संघीय सरकारबाट नआउँदा काम अलपत्र परेको बताउनुभयो । संघीय सरकार अन्तरगतको योजना रहेको हुँदा पालिकाले बजेट हाल्न नमिल्ने उहाँको भनाइ छ । बजेट व्यवस्थापनका लागि स्वास्थ्य र अर्थमन्त्रालयमा पत्र पठाए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको पुन मगरले बताउनुभयो । अहिले पनि बजेटका लागि पहल भइरहेको उहाँ बताउनुहुन्छ ।