बागलुङ । शुक्रबार र शनिबार परेको अविरल वर्षाको कारण कालीगण्डकी नदीमा आएको बाढीका कारण बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलमा क्षति पुगेको छ ।
पुलमा पुगेको क्षतीको कारण बागलुङको सडक यातायात प्रभावित बनेको छ । पुलसँगै जोडिएको सडकको बाहिरी भाग नदीले कटान गरेपछि दुई जिल्लाबीचको नियमित आवतजावत ठप्प भएको हो । मालढुंगा पुल बागलुङका लागि केवल एउटा पुल मात्रै नभई जिल्लालाई पर्वत,पोखरा तथा काठमाडौँ तथा विभिन्न जिल्लासँग जोड्ने महत्वपूर्ण सडक कडी हो । यही मार्ग हुँदै मध्यपहाडी लोकमार्गको यात्राबाट पश्चिम नेपालका बागलुङ,रुकुम,रोल्पा,जाजारकोट लगाएतका विभिन्न स्थानका नागरिकले यही सडक हुँदै राजधानी काठमाडौँ पुग्ने गरेका छन् ।
पुलमा क्षति पुगेपछि लामो दूरीका सवारीसाधन सञ्चालनमा समस्या भएको छ । अत्यावश्यक कामका लागि यात्रा गर्ने सर्वसाधारण, बिरामीको लागि बैकल्पिक सडकको सहज पहुँच नहुदा समस्या भएको छ । विशेषगरी पोखरा तथा अन्य जिल्लाबाट बागलुङ आउजाउ गर्ने यात्रुले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था आएको छ । ठूला सवारीसाधनका लागि वैकल्पिक मार्ग सहज नहुँदा यातायात व्यवसायीसमेत समस्यामा परेका छन् । दैनिक उपभोग्य सामग्रीको ढुवानीदेखि निर्माण सामग्री तथा अन्य व्यापारिक वस्तुको आवागमनमा समेत यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ ।
“बागलुङ भित्रिने मुख्य नाका बन्दहुँदा बागलुङ बजारमा पेट्रोलिएम पदार्थ तथा खाद्यान्न सम्म अभाव हुन सक्छ,चाडपर्वको समय सुरु भएको छ यो वेला बजारमा चहलपहल हुनु पर्ने हो सुनसान छ ”उद्योगव वाणिज्य संघ बागलुङका अध्यक्ष राजन शाक्यले भन्नुभयो । मालढुंगा पुलमा भने पुलको मुख्य संरचनामा ठूलो क्षति नभए पनि पुलसँग जोडिएको वाल फिलिङ नदीले कटान गरेको सडक डिभिजनको प्रारम्भिक निरीक्षणबाट देखिएको छ ।
सडक डिभिजन कार्यालय, पोखराका डिभिजन प्रमुख कृष्णराज अधिकारीका अनुसार अस्थायी ग्याविन र जियोब्याग बनाएर फिलिङ गर्ने तयारी गरेको बताउनुभयो । दोस्रो विकल्पको रुपमा बेलिब्रिज निमार्ण गर्ने योजना रहेको बताउनु भयो । “हामी निरन्तर काममा लाग्छौ,सकेसम्म एक हप्ता भित्रमा सञ्चालन गर्न सकिने गरी काम सक्छौ दशै अगाडी त सञ्चालनमा आउछ”डिभिजन प्रमुख अधिकारीले भन्नुभयो ।
वैकल्पिक सडक तत्काल सञ्चालनमा आए पनि मालढुंगा पुलबाट हुने नियमित र सहज यातायातको विकल्प बन्न कठिन देखिन्छ । बागलुङका नागरिकका लागि पोखरा, काठमाडौं लगायतका सहरसँगको यातायात सम्पर्क, बिरामीलाई उपचारका लागि लैजानुपर्ने अवस्था, दैनिक उपभोग्य सामग्रीको आपूर्ति र व्यवसायिक गतिविधिसमेत सडकको अवस्थासँग प्रत्यक्ष जोडिएकाले पुल छिटो भन्दा छिटो सञ्चालनमा आउनु पर्ने उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजन शाक्यले बताउनु भयो ।
पुल सञ्चालनमा नआउदा बागलुङ बजारमा व्यवसायी तथा स्थानीयलाई व्यवसायीक असर गरेको अध्यक्ष राजन शाक्यको भनाई छ । चाडपर्व समेत नजिकिन थालेकाले मालढुंगा पुलको क्षति तत्काल मर्मत गरी यातायात सहज बनाउनु अहिलेको प्रमुख आवश्यकता बनेको छ ।
साथै, बाढी तथा पहिरोका कारण बारम्बार सडक अवरुद्ध हुने अवस्थालाई ध्यानमा राख्दै दीर्घकालीन रूपमा सुरक्षित वैकल्पिक सडक र पुलको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
