• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

तीन महिनापछि खुल्यो बागलुङ–कुश्मिसेरा सडक

बागलुङ । पहिरोले अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि संचालनमा आएको छ । वर्षाका कारण सडक भासिएपछि अवरुद्ध बनेको उक्त सडक बुधबारदेखि संचालनमा आएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा भिषण पहिरो जाँदा झण्डै १०० मिटर सडक भासिएको थियो । गत असारदेखि बन्द भएको सडक खुलाउनका लागि मंगलबारदेखि मेसिन लगाइएको थियो ।

सडक अवरुद्ध हुँदा बागलुङ नगरपालिका–१० गलुवा, भकुण्डे, वडा नम्बर १३ पैयुँपाटा, वडा नम्बर १२ को अमलाचौरसहित दक्षिण बागलुङका हजारौँ नागरिकले सास्ती खेप्नु परेको थियो । बलेवा क्षेत्रबाट २० मिनेटमा सदरमुकाम बागलुङ बजार आउन सकिने भए पनि पहिरोका कारण दुई घण्टाको घुमाउरो बाटो प्रयोग गरेर आउनु पर्ने बाध्यता थियो ।

पूर्वाधार विकास कार्यालय बागलुङले गत साता पहिरोको अवस्था बुझेर यसलाई तत्काल सूचारुका लागि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत इष्टिमेटसहित स्विकृतीका लागि पठाएको थियो । मन्त्रालयबाट अझै स्विकृत हुन बाँकी रहेको पूर्वाधार विकास कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर अनिल बर्देवाले जानकारी दिनुभयो । बडा दसैँ नजिकिएपछि नागरिकको आजतावत बढ्ने हुँदा सडक खुलाएको उहाँको भनाइ छ ।

सूचना अधिकारी बर्देवाले भन्नुभयो – “लामो सडक बन्द हुँदा हजारौँ नागरिकको सास्ती खेप्नु प¥यो, निरन्तर वर्षा र पहिरो झरिराख्दा सडक खुलाउन समस्या थियो, अहिले वर्षा केही कम भएपछि दुई दिनसम्म मेसिन लगाएर खुलाएका हौँ, खर्च व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयमा लागत इष्टिमेट स्विकृतिका पठाएका छौँ, अझै स्वीकृत भएको छैन, होला भन्ने आशा छ ।”

विगत तीन वर्षदेखि यो पहिरोमा रु करोड बढी रुपैयाँ खर्च भइसकेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो । अघिल्लो साल मात्र पूर्वाधार विकास कार्यालय र नगरपालिकाले झण्डै रु ५० लाख रुपैयाँ खर्च गरेर पहिरो माथिको पानीलाई नजिकैको न्वारे खोलामा व्यवस्थान र सडकको माथिल्लो भागमा जाली लगाउने काम गरेको उहाँको भनाइ छ ।

पहिरो व्यवस्थापनका लागि भू–गर्वविदले अध्ययन गरेर प्रतिवेदनसमेत बुझाइ सकेको छ । प्रतिवेदन अनुसारको रकम नहुँदा यसको नियन्त्रण र सडकको दीर्घकालिन समाधान गर्न समस्या भएको छ । चालु आर्थिक वर्षमा पहिरो व्यवस्थापनका लागि संघीय सरकारबाट रु तीन करोड रुपैयाँ विनीयोजन भएको उपप्रमुख खड्काले बताउनुभयो ।

पहिरोका कारण कालिगण्डकी करिडोरसमेत अवरुद्ध हुँदै आएको छ । बर्खा भरि सडक अवरुद्ध हुँदा गाउँमा उत्पादन भएका तरकारी र दूध बजारमा पु¥याउन समस्या भएको स्थानीय किसान कुलराज पौडेलले बताउनुभयो । दूध र तरकारी बजार पु¥याउनका लागि यात्रिक पुलमार्फत कुश्मा हुँदै बागलुङ ल्याउने गरेको उहाँको भनाइ छ । घुमाउरो सडक प्रयोग गर्दा ढुवानी बढी तिर्नु परेको पौडेलले सुनाउनुभयो ।