• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

म्याग्दीको दूध पोखरामा

म्याग्दी । म्याग्दीका दुग्ध उत्पादक कृषकले यहाँको दुध पोखरा पठाउन थालेका छन् । दुधको बजारिकरणमा समस्या आएपछि बेनी नगरपालिका वडा नम्बर ४ सिंगाका कृषकले दुध संकलन गरेर पोखरा पठाउन थालेका हुन् । बास्कुना कृषि सहकारी संस्था लिमिटेडको अगुवाइ तथा बेनी नगरपालिका ४ को समन्वयमा स्थानीयले उत्पादन गरेको दूुध संकलन गरेर पोखरा पठाउन थालिएको हो ।

बास्कुना कृषि सहकारी संस्थाले स्थानीय किसानले उत्पादन गरेको दुध सिंगा स्थित संकलन केन्द्रमा संकलन गर्ने र बजारीकरणको व्यवस्था मिलाएको हो । संकलन केन्द्र सञ्चालन र बजार सुनिश्चितता भएपछि दूध बिक्रीका लागि बजार खोज्दै भौतारिनु पर्ने, हिउँदमा बिक्री नहुने र मिल्क होलिडेको समस्या समाधान भएको बास्कुना कृषि सहकारीका अध्यक्ष तथा अगुवा कृषक तिलक गुरुङले बताउनुभयो ।

बेनीका डेरीले भैसीको दूध मात्र बिक्री गर्दा गाईपालन गरेका कृषक दूधले बजार नपाउँदा समस्या भएको थियो तर अहिले स्थानियले उत्पादन गरेको दूध सबै पोखरा पठाउनका लागि सम्झौता भएसँगै कृषकको समस्या हटेको छ गुरुङले भन्नुभयो ।

बास्कुना कृषि सहकारीको अगुवाइमा दूध संकलन थालिए दुध खेर नजाने बेनी नगरपालिका ४ का वडा अध्यक्ष अणबहादुर खड्काले बताउनु भयो । संकलन केन्द्र मार्फत गाईभैसी र सबै समुदायका किसानले उत्पादन गरेको संकलन गरेर पोखरा स्थीत सुजल डेरी उद्योग प्रालिमा पठाउन थालिए पछि अब दूधको बजार सुनिश्चितता भएको छ उहाँले जानकारी गराउनुभयो ।

पहिलो चरणमा हाल शुरु भएको संकलन केन्द्रमा हाल २० जना कृषकले दैनिक पाँच सय लिटर दूध ल्याएका छन् । पोखरामा रहेको सुजल डेरी उद्योगले सिंगामा उत्पादन भएको दूध खपत गर्ने सम्झौता गरेको छ । दुधको गुणस्तर अनुसार मूल्य दिने र दैनिक दश हजार लिटर सम्म दुध खरिद गर्ने उद्योगले सहमति गरेको उद्योगका प्रतिनिधि भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।

पहिलो चरणमा उद्योगको ट्याङ्कर दुई दिनमा एक पटक सिंगा आएर दुध दुवानी गरेर पोखरा लैजान्छ सुजल डेरीका गुरु पौडेलले भन्नुभयो । उहाँका अनुसार स्थानीय कृषकले उत्पादन बढाएको खण्डमा दैनिक रुपमा पोखरा दुध लैजाने योजना छ । सहकारीले किसानहरुले उत्पादन गरेको दुध संकलन र सुरक्षित भण्डारण गर्ने व्यवस्था मिलाएको छ । दूधको गुणस्तर अनुसार मूल्य पाउनेछन् ।

सिंगाकै शुभकामना कृषि सहकारी संस्था लिमिटेडले पनि नियमित रुपमा दुध संकलन गरेर बेनीमा विक्री बितरण गर्ने गरेको छ । उक्त सहकारीका सदस्यहरुले बेनीमा विक्री गर्ने बाहेक थप दूध उत्पादन गरेर पोखरा पठाउन गाईपालन गर्न थालेका छन् । शुभकामना सहकारीले गत आर्थिक वर्षमा एक लाख १० हजार लिटर दूध विक्री गरेको थियो ।

हाल बेनी नगरपालिका ४ मा उत्पादन हुने भैसीको दूध सदरमुकाम बेनीमा खपत हुने गरेको छ । बेनीमा खपत नहुने दूधलाई पनि बास्कुना कृषि सहकारीसँग समन्वय गरेर पोखरामा खपत गराउन सकिने वडा अध्यक्ष खड्काको भनाई छ । उत्पादीत दूधको बजार सुनिश्चित भएपछि सिंगामा दूध उत्पादन मार्फत आयआर्जन र स्वरोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनेको बास्कुना कृषि सहकारीका अध्यक्ष गुरुङले बताउनुभयो ।