बागलुङ । बागलुङमा पहिलो पटक रु दुई लाख राशीको अन्तर्राष्ट्रिय बागलुङ समाज कप भलिबल प्रतियोगिता हुने भएको छ । शुक्रबार बागलुङमा पत्रकार सम्मेलन गरि जिल्ला भलिबल संघको व्यवस्थापन, बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिको समन्वयमा असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
बागलुङबाट रोजगारीको सिलसिलामा संसारका विभिन्न देशमा गएर बसेका गैर आवासीय नागरिकको संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजले जिल्लाभित्रका पालिकास्तरीय पुरुष भलिबल प्रतियोगता गर्न थालिएको समाजका सचिव तथा खेल उपसमितिका संयोजक राजु थापाले उक्त जानकारी गरी दिनुभयो ।
प्रतियोगितामा बागलुङका १० पालिकाबीच लिगकम नकआउट प्रतियोगिता गर्न लागिएको उहाँको भनाइ छ ।
खेलमा प्रथम हुनेले रु दुई लाख नगद पुरस्कारसहित ट्रफी पदक र प्रमाणपत्र पाउनेछन् भने द्वितीयलाई रु एक लाख र तृतीयलाई रु५० हजार नगद पुरस्कार दिइने थापाले जानकारी दिनुभयो । खेलमा सहभागी हुने समूहले रु २५/२५ हजार नगद पुरस्कार पाउने छन् । समाजले हरेक दुई वर्षमा प्रतियोगिता गर्ने योजना बनाएको थापाले जानकारी दिनुभयो । हरेक दुई वर्षमा समाजको अधिवेशन हुने र त्यो समयमा सबै सदस्य र पदाधिकारी आएको मौका पर्ने भएकोले प्रतियोगिता गर्ने उहाँ बताउनुहुन्छ ।
थापाले भन्नुभयो – “अन्तर्राष्ट्रिय बागलुङ समाजले यसभन्दा अगाडि थुप्रै सामाजिक काम गर्दै आएको छ, यसपाली खेलकुद क्षेत्रमा पनि केही गरौँ भन्ने हिसाबले यो कपको आयोजना गरेको हो, बागलुङ जिल्ला भलिबलमा निकै अब्बल मानिन्छ, त्यसलाई थप टेवा पु¥याउनेमा हामी विश्वस्त छौँ ।”
बागलुङबाट संसारका विभिन्न देशमा पुगेका गैरआवासीयहरुको समाजले सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा लगानी गर्दै आएका छन् । खेलमा उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत उत्कृष्टलाई ५ हजार रुपियाँका दरले पुरस्कार दिइनेछ ।
पत्रकार सम्मेलनमा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले खेलले जिल्लाको पहिचान बढाउने, पर्यटन प्रवर्धन गर्ने लगायतको फाइदा हुने बताउनुभयो । हाल निर्माण सम्पन्न भएर सञ्चालनमा आइरहेको बागलुङ बसपार्क रहेको दावगरामा खेल आयोजना गरिएकोले उक्त स्थानको समेत प्रवर्धन हुने जनाइएको छ ।
अन्तर्राष्ट्रिय बागलुङ समाज, खेलकुद समितिका संयोजक राजु थापाको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका सचिव किशोर छन्त्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा र नेपाल पत्रकार महासङ्घका अध्यक्ष राम थापा ‘अविरल’ले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
