बागलुङ । बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल विहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अगेनो छ । मन्दिरमा भक्तजन आउन पूर्वनै मल्लले ‘रोट’ बनाउन सुरु गर्नु हुन्छ । मन्दिरमा आउने भक्तजन मल्लको रोट पकाउने अगेनो छेउमै आएर तात्तातो रोट लिएर चढाउन जान्छन् । मल्ल विहानदेखि साँझसम्मै रोट बनाउनमा व्यस्त हुनुहुन्छ । अहिले उहाँको दैनिकी रोट बनाउने र विक्री गर्नमै बित्ने गरेको छ ।
मन्दिरमा आउने दर्शनार्थीले प्रसादका रुपमा आयातित तयारी मिठाई तथा नरिवल चढाउने प्रचलन बढेपछि मल्लले मन्दिर गेटमै पसल स्थापना गरेर रोट बनाउन थाल्नु भएको हो । अहिले उहाँले उत्पादन गरेको रोट बागलुङमा ब्राण्ड बन्दै गएको छ । मन्दिरमा आउने हरेक दर्शनार्थीले मल्लले रोट बनाएको हेर्छन् । कतिले किन्छन् त कतिले रोट बनाएको देखेर मुख मिठाउँदै फर्किन्छन् । भगवनलाई चढाउने रोट मल्ले बागलुङमा बनाउन थालेपछि कालिका मन्दिरसँगै म्याग्दी, पर्वत र मुस्ताङका अन्य मन्दिर पनि यहाँबाट किनेर लैजाने गरेका छन् ।
डम्मरले आयातित प्रसाद रोक्न छ वर्ष अगाडिदेखि यहाँ रोट बनाउन थाल्नु भएको हो । बागलुङ कालिकामा दुई दशक अगाडिसम्म रोट चढाइन्थ्यो । लामो समय मिठाई, नरिवल लगायत अन्य प्रसाद चढाउन थालिएको कालिकामा अहिले फेरि रोट चढाउन सुरु भएको छ । पहिले पूजा अर्चन ागर्न आउने दर्शनार्थीले घरबाटै तयारी रोट लिएर कालिका मन्दिरलाई चढाउने गरेकोमा अहिले मल्लको पसलबाट किन्न थालिएको छ । बागलुङमा रोट बनाउने मल्ल एक्लो व्यवसायी हुनुहुन्छ । भगवनलाई स्थानीय उत्पादननै चढाउनु पर्छ भन्न उद्देश्यले रोट बनाउन थालेको मल्ल बताउनुहुन्छ ।
पहिले हरेक नागरिकले मन्दिरमा पूजा गर्न आउँदा रोट ल्याउने गरेको स्मरण गर्दै त्यो परम्परालाई पुनः फर्काउनु पर्ने उहाँले बताउनुभयो । रोटलाई कालिका मन्दिर चढाइने शुद्ध र चोखो प्रसादको रुपमा लिने हुँदा पछिल्लो समय धेरैले रोट चढाउन थालेको मल्लको भनाइ छ । दुई/तीन वर्ष अगाडिसम्म बुढापाकाले मात्र रोट किनेर चढाउने गरेको भए पनि पछिल्लो समय युवायुवतीले पनि रोट चढाउन थालेको उहाँले सुनाउनुभयो ।
“कालिकामा रोट चढाउने त पुरानो प्रचलन हो, मौलिकता हो, तर पछिल्लो समय धेरैले बाहिरबाट ल्याएको प्रसाद चढाउन थाले, त्यसले गर्दा रोटको महत्व घटेको थियो, अहिले फेरि धेरैमा रोट चढाउनु पर्छ भन्ने सोचको विकास भएको छ,” मल्लले भन्नुभयो – “यहाँ बनाउने रोट शुद्ध हुन्छ, केही मिसावट हुँदैन, भक्तजनलाई उहाँहरुकै आँखा अगाडि रोट बनाएर दिन्छौँ, अहिले त धेरैले रोट चढाउनु पर्छ भनेर आउनुहुन्छ, विस्तारै रोट चढाउने थीति बस्दैछ ।”
मल्ले रोग बनाउन थालेपछि सुरुमा विक्री हुँदैनथ्यो । उहाँलाई स्थापित हुन निकै गाह्रोसमेत भएको थियो । तर अहिले मल्लको व्यवसाय फस्टाउन थालेको छ । अहिले पनि मन्दिरमा हजारौँ भक्तजन आए पनि सीमितले मात्रै रोट चढाउने गरेका छन् । तर यसबाट मल्ल भने सन्तुष्ट रहेको बताउनुहुन्छ मल्लले दसैँ अवधिमा मात्रै रु दुई लाखको रोट विक्री गर्नु भयो । हरेक दिन ५० देखि १०० रोट विक्री हुने उहाँले सुनाउनुभयो ।
चामलको पिठोमा चिनी, नरिवल, बदाम, काजु मिसाएर घ्युमा रोट पकाउने गरिन्छ । प्रति गोटा रोटलाई चार सयका दरले विक्री गर्ने गरेको मल्लले सुनाउनुभयो । वार्षिक रु सात लाख बराबरको रोट विक्र हुने उहाँको भनाइ छ । रोट विक्री गरेर भगवानको सेवा गरेको भन्दै यहीबाट आफ्नो परिवार चलाएको मल्लले बताउनुभयो ।
पछिल्लो समय कालिका मन्दिरमा बर्सेनि ५० लाखभन्दा बढीको नरिवल बिक्री हुने गरेको छ । कालिका दर्शन गर्न आउने जोकोहीको हातमा पनि नरिवल हुन्छ । तर, पछिल्लो पुस्ताले बिर्सिएको रोट चढाउने परम्परा अहिले पुनः प्रचलनमा आउन थालेको छ । मन्दिर आउने बुढापाकाले रोट खोजेरै चढाउन लैजाने गरेका छन् ।
