• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

बागलुङ । यस वर्ष बागलुङमा रु एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरि दुई सिजनमा आलु खेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेको हुँदा वर्षेनी करोडौँको आलु उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङ आलु खेतीमा लगानी गर्दै आएपछि किसानसमेत यसतर्फ आकर्षित हुँदै गएका छन् ।

बागलुङको तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिका लगायतका क्षेत्रमा आलु उत्पादन बढी हुने गर्छ । यस वर्ष दुई हजार ८६० हेक्टर क्षेत्रफलमा आलु लगाइएकोमा ५५ हजार ६०० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष खेती गरेको क्षेत्री र उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।

उहाँका अनुसार गत वर्ष तीन हजार ७०० हेक्टर क्षेत्रफलमा आलु लगाइएको थियो भने ५६ हजार २४० मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ८४० हेक्टर कम क्षेत्रफलमा आलु लगाइएको थियो । किसानले उत्पादन गरेको आलु प्रति किलो रु ३५ मा विक्री भएको अधिकारीले जानकारी दिनुभयो । ज्ञान केन्द्रले २०८०/०८१ मा रु दुई करोड ६० लाख, २०८१/०८२ मा रु एक करोड ५९ लाख र चालु आर्थिक वर्षमा रु ५५ लाख ९० हजार लागतमा नयाँ क्षेत्र विस्तार गरेको छ ।

“बागलुङको माथिल्लो क्षेत्र आलु उत्पादनका लागि यपयुक्त हावापानी छ, यहाँ खायन आलु राम्रो उत्पादन हुने गरेको छ, किसानहरु पनि उत्साहित भएर लाग्नु भएको छ, तीन वर्षदेखि यसको क्षेत्र विस्तार र उत्पादन बढाउनका लागि हामीहरु पनि लागि रहेका छौँ,” अधिकारीले भन्नुभयो – “खायन आउलु क्षेत्र विस्तारसँगै नयाँ प्रबिधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिंचाइ व्यवस्थापन गरि उन्नत जातको बिउ लगाइने छ, यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु लगानी लक्ष्य रहेको छ ।”

बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, बुटवल, चितवन लगायतका शहरमा पुग्ने गरेका छन् । किसानले अघिल्लो वर्ष हिउँदे आलु प्रतिकिलो रु ४० र बर्खे आलु प्रतिकिलो रु ५० मा बिक्री गरे पनि यस वर्ष रु ३५ मात्रै मूल्य पाएको ज्ञान केन्द्रले जनाएको छ । आलु लगाउने बेला लामो समयखडेरी पर्दा यस वर्ष उत्पादनमा थोरै गिरावट आएको हो । गाउँका बारीमा उत्पादन हुने आलु सहरहरुमा पुग्ने गरेको ढोरपाटन–९ का किसान मनबहादुर घर्तीले बताउनुभयो । गत वर्ष करिब पाँच लाखको आलु विक्री गरेकोमा यस वर्ष रु चार लाखको मात्रै विक्री गरेको उहाँको भनाइ छ ।