• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

समयमै खरिद हुँदैन औषधी : मर्कामा बिरामी

बागलुङ। सेवालाई गुणस्तरीय बनाउदै लगेको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ चिकित्सककले लेखेका औषधी पाइएन ।

अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध बिरामीले नियमितरुपमा सेवन गर्ने थाइराईड, कोलिस्टोर, प्रेसर सुगर र मुटु लगायतका औषधी नपाएको गुनासो गरेका छन् ।

तीन महिना अघि थाइराइडको औषधी नपाएर रित्तोहात फर्कनुभएको तुलसी शर्माले  मेडिकल पसलमा पुगेर औषधी लैजानुभयो । दोस्रो पटक अस्पताल आउदा समेत उहाँले थाइराइडको औषधी पाउन सक्नुभएन । यो त प्रतिनिधि पात्र मात्रै हुन् । अस्पताल आउने बिरामीले परिक्षण राम्रो भएपनि औषधी नपाएको गुनासो गरिरहेका छन् ।

थाइराइड २५ र थाइराइड १२.५ को औषधी अहिले अस्पताल फार्मेसीमा उपलब्ध छैन । अस्पतालले समयमै औषधी ल्याउन नसक्दा बिरामीहरु महङ्गो मुल्यमा औषधी खरिद गर्न बाध्य भएका छन् ।

अस्पतालका केही स्वास्थ्यकर्मीको स्वार्थका कारण अस्पतालले सबै औषधी समयमै उपलव्ध गराउन नसकेको बिरामी बताउछन् । अस्पतालका स्वास्थ्यकर्मी र फार्मेसीको बाहिर आफ्नो निजी पसल समेत भएकाले अस्पतालमा औषधी अभाव बनाइराख्ने गरेको बिरामीको गुनासो छ ।

अस्पतालमा अहिले थाइराइडको मात्रै हैन मुटुसम्बन्धी औषधीको समेत अभाव रहेको छ । समय–समयमा जीवन जल र सिटामोलको समेत अभाव देखाउदै आएको अस्पतालले गुणस्तरीय सेवालाई वृद्धि गर्दै अघि बढेको जनाएपनि सिमित व्यक्तिहरुले औषधीमा कमिसनको खेल गर्दै औषधी खरिदमा ढिलाई गर्दै आइरहेका छन् । खासगरी स्वास्थ्यमीमाका बिरामीले औषधी नपाएको गुनासो गर्दै आएका छन् । अस्पतालमा स्वास्थ्य परिक्षण राम्रो भएपनि बीमा मार्फत औषधी नपाएको अस्पतालमा उपचारका लागि आउनुभएको सिसम बोहोरा बताउनुहुन्छ ।

उहाँले चिकित्सकले सिफारिस गरेका अधिकांश औषधी अस्पतालको फार्मेसीमा नपाइएको गुनासो गर्नुभयो । अस्पतालले सिटामोलको समेत अभाव गराएको समय–समयमा समाचार बाहिर आउने गरेको थियो । अस्पतालले निःशुल्क प्रदान गर्ने रेबिज खोप, एनएस र सुई जस्ता सामान्य औषधीजन्य पदार्थहरु समेत बाहिर खरिद गर्न भन्दै आएको पाइएको छ ।

फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले औषधी ट्रान्सपोर्टमा आउन समय लागेको बताउनुभयो । इन्चार्ज सुवेदी अधिकांश समय फार्मेसीमा भन्दा अन्यत्रै देखिनु हुन्छ । औषधीको स्टक हेरेर समयमै खरिद गर्दा यस्तो समस्या नआउने भन्दै धौलागिरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. किरण तिवारीले अभाव भएका औषधी तत्कालैपूर्ती गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

“औषधी अभाव हुन नदिन नियमित खरिद भइरहेकै हुन्छ तर धेरै औषधी खरिद तिहार लगत्तै ठेक्कामा जाने गरी तयारी गरिएको छ, फार्मेसीलाई चुस्त बनाउन थप लागि पर्दछु” तिवारीले भन्नुभयो “नागरिकलाई सर्वसुलभ ढंगबाट औषधी प्रदान गर्न व्यवस्थापन टिक खटेको हुन्छ, केही औषधी अभाव भएको गुनासो आएको छ, तत्कालै समस्या समाधान गर्दछौं ।” अस्पतालको फार्मेसकीका कर्मचारीहरुले बिरामीलाई झर्कने गरेको समेत गुनासो आएको छ । कर्मचारीले औषधीको विषयमा राम्रो जानकारी नदिने र निजी पसलमा ध्यान दिने बिरामीको गुनासो बढेको पाइएको हो । सस्तो औषधी कमिसनको लोभमा खरिद गर्ने प्रचारले नागरिकको स्वास्थ्यमा गम्भिर खेलवाड समेत भइरहेको छ ।