मुस्ताङ। हिमालपारीको जिलला मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले आफ्नो ५९ औं स्थापना दिवस विविध कार्यक्रम सहित मनाएको छ ।
शीतोष्ण फलफूल तथा तरकारी विकास तथा प्रवद्र्धनका लागि भनेर वि.स. २०२३ सालमा स्थापना भएको शीतोष्ण बागवानी विकास केन्द्रले फलफूत तथा तरकारी उत्पादन तथा प्रशारण लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । शुक्रबार आयोजित केन्द्रको स्थापना दिवसको अवसरमा जिल्लामा कृषि क्षेत्रमा योगदान दिएका एक जना उत्कृष्ट कृषकसहित केन्द्रमा कार्यरत कर्मचारी, मजदुर र समाजसेवीलाई समेत सम्मान गरिएको थियो ।
केन्द्रले स्थापना दिवसको अवसरमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ तिरी गाउँका कृषक सानोकान्छा गुरुङलाई जिल्लाको कृषि फलफूल तथा तरकारीजन्य बालीहरुको विकासमा महत्वपूर्ण योगदान पु¥याएकाले नगद पाँच हजार सहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको थियो । कृषक गुरुङ विगत १० वर्षदेखि निरन्तर कृषि कर्ममा सक्रिय रहँदै आईरहनु भएको छ । सम्मानित गुरुङलाई गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन, मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल र केन्द्र प्रमुख पद्मनाथ आत्रेय लगायतले सम्मान गर्नुभएको थियो ।
शीतोष्ण बागवानी केन्द्र स्थापनाका महत्वपूर्ण योगदान पु¥याएका घरपझोङ—२ मार्फाका अंग्रज समाजसेवी भक्तिराज हिराचनलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरियो । त्यस्तै केन्द्रले कर्मचारी तथा केन्द्र फार्ममा कार्यरत कामदार तारा राईलाई नगद पाँच हजार पुरस्कार पुरस्कृत गरीएको थियो । केन्द्रका पूर्व प्रमुख भिमसेन भण्डारीलाई समेत केन्द्र स्थापनाका दिवसको अवसरमा सम्मान गरिएको थियो ।
केन्द्रको ५९ औं स्थापना दिवसको अवसरमा प्रदेश सभा सदस्य विकल शेरचनले केन्द्रले गरेका कामलाई धन्यवाद दिँदै अबका दिनमा गर्नु पर्ने कामको बारेमा सुझाब दिनुभएको थियो । मुस्ताङका प्रजिअ विष्णुप्रसाद भुसाल, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, लोघेकर दामोदरकुण्डका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट, वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामगेल गुरुङ र समाजसेवी विष्णुराज हिराचन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरुले यहाँको शीतोष्ण बागवानी विकास केन्द्रले यहाँका कृषकहरुलाई फलफूल तथा तरकारी खेती गर्न सिकाएको बताएका छन् । यहाँको कृषि प्रणाली र पर्यटन क्षेत्रमा भईरहेको विकास लोभलाग्दो भएको उल्लेख गर्दै वक्ताहरुले कृषि र पर्यटनको अनुभव बुझ्न मुस्ताङ एक महत्वपूर्ण जिल्लाका रुपमा रहेको दावी गरेका छन् । यसअघि केन्द्र स्थापना दिवसको अवसरमा कार्यालय प्रमुख पद्मनाथ आत्रेयले केन्द्रको स्थापनादेखि हालसम्म भईरहेका क्रियाकलाप र केन्द्रले गरेको योगदान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।