बागलुङ । खेलकुदमा आफ्नो पहिचान बनाउदै आएको बागलुङ जिल्लामा त्यही खेलकुदकार्यालय राख्ने ठाउँ समेत पाउन सकेन । खेलकुद विकास समिति बागलुङको कार्यालयले घर भाडा तिर्न नसक्दा कार्यालयलाई स्थानान्तरण गरेर काठेखोला गाउँपालिका–५ बिहुँ पु¥याइएको छ ।
जिल्ला खेलकुद विकास समितिको कार्यालय सदरमुकाम बागलुङ बजारबाट काठेखोला गाउँपालिका–५ बिहुँकोटमा सारेर शनिबारदेखि सेवा दिन थालेको छ । सदरमुकामदेखि २० किमी पश्चिममा रहेको बिहुँस्थित बिहुँकोट खेलकुद तथा समाज विकास केन्दको कवर्ड हलमा कार्यालय सारिएको समितिका अध्यक्ष कृष्णप्रसाद कंडेलले जानकारी दिनुभयो । कँडेलले घर भाडा तिर्न नसकेको, स्थानीय तह तथा जिल्लाका सरकारी कार्यालयले भाडा तिर्नका लागि रकम विनियोजन नगरेको, कार्यालयको खाली कोठा समेत नदिएपछि बाध्य भएर कार्यालयलाई बिहुँकोट सारिएको बताउनुभयो ।
सदरमुकाममा घर भाडा लिनका लागि रकम अभाव भएको, सरकारी कार्यालयहरुमा एउटा कोठा पनि नपाएपछि जिल्ला कार्यसमितिको बहुमतले कार्यालय सारेको बताउनुभयो ।
अध्यक्ष भएपछि आफ्नै कर्मस्थल रहेको बिहुँकोटमा निःशुल्क रुपमा कार्यालय सञ्चालन गर्न सार्न बाध्य भएको उहाँले बताउनुभयो । यसअघिका कार्यसमितिलाई घर भाडाबापत रकम आउने गरेको थियो । तर चालु आर्थिक वर्षदेखि भाडा कटौती भएको जानकारी आएपछि कार्यालय सञ्चालनमा कठिनाइ भएको थियो । उक्त कार्यालय बिहुँकोट सारिएको कँडेलले एक पत्रमार्फत सामाजिक सञ्जालमा जानकारी गरानुभएको थियोे ।
समितिले जिल्लामा हुने खेल गतिविधिलाई समन्वय गर्ने र राष्ट्रपति खेलकुद कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सदरमुकाममा रहेको कार्यालयलाई अध्यक्षले आफ्नो घरपायकमा सारेको भन्दै सामाजिक सञ्जालमा भने व्यापक विरोध भएको छ ।