• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

‘ओली कुटी’ : बन्ने त हैन, महेशका लागि जीवन बुटी ?

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीको भक्तपुर बालकोटस्थित घरमा २०८२ भदौ २३ र २४ गते भएको प्रर्दशनका क्रममा आगजनी भयो ।

तत्कालिन प्रधानमन्त्री भएकाले ओली बालुवाटारमा बस्दै आएका थिए । आफन्तहरुले सम्हाल्दै आएको उक्त घरमा आगजनी पछि पुनर्निर्माण नगरी बस्न नसक्ने अवस्थामा रहेको छ ।

ओली मात्रै होइन, धेरै नेताका घर यसैगरी त्यो जत्थाले जलायो । जसले जेनजी (नवयुवा)हरुको आन्दोलनको साहरा लिएको थियो । नेताहरुका घर मात्रै होइन देशका ऐतिहासिक सम्पदाहरु सहित भौतिक संरचनामा ठुलो क्षति भयो ।

प्रधानमन्त्री पदबाट राजिनामा दिएका ओलीको घरमा आगजनी भएपछि उनी भक्तपुरको सूर्यविनायक नगरपालिकाको गुण्डुमा बस्दै आएका छन् । उनको बसाईका लागि एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले व्यवस्थापन गरेका छन् ।

भदौ २३ र २४ को त्यो डरलाग्दो अवस्थापछि उत्पन्न परिस्थितिका कारण सेनाको सुरक्षामा बसेका ओली त्यहाँबाट निस्के लगत्तै गुण्डु पुगेका हुन् ।

सैनिक सुरक्षा घेराबाट बाहिरिएपछि गुण्डुको बसाई गरेका ओलीले शुरुमा युवाहरुसँग भेटघाट र सचिवालय बैठक निवासमै सम्पन्न गरेका थिए ।

भक्तपुर जिल्ला कमिटिको कार्यक्रममा सहभागिता, केन्द्रीय कमिटि बैठक, सम्पादकसँग सम्वाद लगायत सार्वजनिक कार्यक्रममा सहभागिता बढाउदै गएका ओलीले एमालेका केही नेताहरु सहित बालकोटस्थित क्षतिग्रस्त निवासको अवलोकन समेत गरिसकेका छन् । निवास अवलोकनकै क्रममा उनले आफु बस्दै आएको बालकोट निवासलाई संग्राहलयका रुपमा राख्ने बताए ।

बालकोटस्थित ओली निवासलाई ओली दम्पत्तीले आफुहरुको निधनपछि सरकारले उपयोग गर्ने गरी सरकारका नाममा गरेको बताएका छन् । ‘यो घर जग्गा हाम्रो होइन, हामी बाचुञ्जेल हामी बस्छौ, हामी दुइजनाको निधनपछि त्यो सम्पूर्ण सम्पत्ती सरकारको हुन्छ’–क्षतिग्रस्त निवास अवलोकनका क्रममा ओलीले भनेका थिए ।

ओली दम्पत्तीका छोराछोरी छैनन् । हाम्रो समाज छोरा नहुँदा त अनेक उपमा दिएर गाली गर्ने समाज हो, अझै छोराछोरी नै नहुनेको हकमा त भनि साध्य छैन् । ओलीको विरोध गर्ने बानी परेका कतिपयले तिनै शब्द प्रयोग गर्ने गरेको पनि पाइन्छ १ यद्यपी पछिल्लो समय परिस्थिति फेरिएको छ । राजनीतिक परिवर्तनसंगै छोराछोरीबीचको विभेद, छोराछोरी नहुनेहरु लगायतलाई गरिने व्यवहारमा परिवर्तन आएको छ । परिस्थिति फेर्नमा ओलीको पनि अहम भूमिका छ ।

यहाँ प्रसंग कोट्ट्याउन खोजिएको ‘ओली कुटी’ को हो । एमाले नेता महेश बस्नेतले कात्तिक ६ गते बिहीवार (तिहारको भाइटिकाको दिन) सामाजिक सञ्जालमार्फत गुण्डुमा ‘ओली कुटी’ बन्न लागेको जानकारी गराएपछि ‘ओली कुटी’को बारेमा विभिन्न तर्क वितर्क उठेका छन्, यही विषयमा केही लेखौ भन्ने लागेर आफ्नो भावना प्रस्तुत गर्दैछु ।

बस्नेतले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुण्डुबासीको भावनात्मक पहल । अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओली कुटी’ निर्माणको संकल्प । स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन् म आफु संयोजकको भूमिकामा रहनेछु । ‘ओली कुटी कस्तो देखिन सक्छ ?’ भनेर अहिले नै फोटो संकलन सुरु भइसकेको छ । देशभरबाट सुझाव र समर्थन आउदैछ ।’ उनले केही तस्विरसंगै यो भनाई सार्वजनिक गरेका छन् । उनको पोष्टमा सकारात्मक नकरात्मक टिप्पणीको ओइरो नै छ ।

२०६३ पछि तत्कालिन विद्रोही नेकपा माओवादी खुल्ला राजनीतिमा आएसंगै उसको भातृ संगठन वाइसियलका गतिविधि बढेका थिए । २०४६ सालको परिवर्तनपछि नै नेपालको बामपन्थी आन्दोलनको अगुवा रहेको एमाले २०६४ को संविधानसभाबाट दोस्रो बामपन्थी दल बनेको थियो । त्यो पनि माओवादीको तुलनामा धेरै कमजोर अवस्था थियो । तत्कालिन पार्टी महासचिव माधव नेपाल, ओली स्वयं लगायत धेरै प्रमुख नेताहरु संविधानसभाको निर्वाचनमा पराजित भएको अवस्था थियो ।

एमाले कर्नरमा थियो, एमालेको मुल नेतृत्व ढुलमुले देखिन्थ्यो । कुनै पनि इस्युमा स्पष्ट मत दिन नसक्ने अवस्थामा एमाले थियो । झलनाथ खनाल अध्यक्ष थिए, माधव नेपाल दोस्रो वरियता र ओली तेस्रो वरियताका नेता थिए ।

ओली संस्थापनको तारो थिए, उनलाई पार्टीका आधिकारीक फोरमहरुमा कमै बोलाइन्थ्यो । उनी पनि संस्थापनको प्रखर विरोधी नै थिए, हरेक विषयमा संस्थापनको खरो आलोचना गर्थे । एमालेमा संस्थापन भन्दा संस्थापन इतर समुहका गतिविधि बढी देखिन्थे ।

ओली कर्नरमा हँुदा मदन भण्डारी फाउण्डेशन र राष्ट्रिय युवा संघ नेपाल ओलीका खास सहयोगी भए । यिनैको सहयोगमा ओलीले देशव्यापी समानान्तर जस्तै संगठन चलाइरहेका थिए । त्यो बेला फाउण्डेशन र युवा संघ हाँक्ने नेताहरु मध्ये धेरै अहिले पनि ओलीका सारथीका रुपमा रहेका छन् ।

ओली संस्थापक अध्यक्ष रहेर २०४७ सालमा स्थापना भएको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल (हाल राष्ट्रिय युवा संघ, नेपाल) ओलीको संकटको सारथी बन्दै आएको छ ।

एमालेको बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनमा झलनाथ खनालसंग अध्यक्षमा पराजित हुँदा महेश बस्नेत युवा संघमा थिए । अध्यक्षमा पराजित भए पनि राष्ट्रिय राजनीतिमा ओली अध्यक्ष खनालकै हैसियतमा प्रस्तुत हुन्थे ।

विशेष गरी तत्कालिन संविधानसभाको प्रमुख दल नेकपा माओवादी केन्द्र (तत्कालिन नेकपा माओवादी) बाट हुने गतिविधिमा ओलीले राख्ने फरकमत अर्थात विरोधको चर्चा हुने गर्दथ्यो । मुलधारका मिडियाहरुमा ओलीको विशेष अन्तर्वार्ता आउने गर्दथे ।

एमालेको संस्थापन माओवादीप्रति अलि बढी सकारात्मक थियो, माओवादीलाई चिढाउन नहुने पक्षमा संस्थापन थियो भने ओली त्यसको ठिक विपरित थिए । माओवादीलाई वाइसियलको निकै ठुलो साथ थियो, वाइसियलले देशभर एक किसिमको राजनीतिक दवाव बढाउदै गएको थियो ।

वाइसियलका गतिविधिलाई रोक्न नसक्दा एमालेको अवस्था दिन प्रतिदिन कमजोर हुने आंकलन एमाले नेतृत्वले गरेरै होला एमालेले युथफोर्स बनाएर वाइसियललाई काउण्टर दिन थाल्यो । ओलीकै सक्रियतामा युथफोर्स बन्यो र त्यसको संयोजक महेश बस्नेत बने । बस्नेतको अगुवाईमा युथफोर्सले एमालेलाई रक्षात्मकबाट आक्रामक बनायो । ओलीको रोजाइ महेश, महेशको अगुवाई युथफोर्स ? राजनीतिमा एमालेको पुनरागमन र नेतृत्वमा ओलीका लागि एउटा टर्निङ प्वाइन्ट बन्यो । एमालेलाई २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो दलबाट दोस्रो दल बन्न युथफोर्सको सहयोगी भूमिका रहेको पाइन्छ ।

युथफोर्सको संयोजक बनेर वाइसियलसंग आमने सामने टक्कर गर्दै एमालेलाई दोस्रो शक्ति बनाउने युवा दस्ताका अगुवा बस्नेत त्यसयता सकारात्मक, नकरात्मक दुवै कोणबाट नेपालको राजनीतिमा चर्चामा छन् ।

वाइसियलका गलत गतिविधिको काउण्टर गरेर एमालेको वर्तमान संस्थापनको नजिक र लोकप्रिय बनेका बस्नेत युवा संघ नेपालको २ पटक अध्यक्ष भए । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा पनि पराजित भए । ओलीलाई अध्यक्ष बनाउन युवा परिचालनको जिम्मेवारीमा रहेका उनी आफु भने पराजित बने ।

नवौँ महाधिवेशनको समयमा ओलीको स्वास्थ्य ठिक थिएन, स्वास्थ्यकै विषयलाई लिएर माधव नेपाल समुहले प्रहार गर्दा बस्नेत भने ‘ह्वील चियर’ मा बसेर भए पनि ओलीले अध्यक्ष चलाउछन् भन्दै ओलीलाई अध्यक्ष बनाउन युवा परिचालनको नेतृत्वदायी जिम्मेवारीका साथ मैदानमा होमिएका थिए ।

पार्टीको केन्द्रीय सदस्यमा पराजित भएका र सांसद समेत नभएका बस्नेत नेपाली कांग्रेस र एमालेको गठबन्धनमा बनेको सुशिल कोइरालाको नेतृत्वको सरकारमा उद्योगमन्त्री बने । २०७० मंसिरको निर्वाचनपछि बनेको सरकारमा उद्योगमन्त्री बनेका कर्ण थापालाई २०७१ असोजमा हटाएर ओलीले महेशलाई उद्योगमन्त्री बनाएका थिए ।

२०७४ मा भक्तपुर क्षेत्र नं. २ बाट सांसद निर्वाचित भएका उनी मन्त्री बन्ने दौडमा थिए, तर ओलीले उनलाई मन्त्री बन्ने अवसर दिएनन्, मन्त्री बन्न नपाउदा बेला बेला ओलीको सचिवालयप्रति तिखा टिप्पणी गर्ने महेशलाई दशाँै राष्ट्रिय महाधिवेशनमा ओलीले केन्द्रीय सदस्य बनाए । अहिले उनी पोलिटव्यूरो सदस्य छन् ।

भदौ २३ को आन्दोलन र २४ को ‘अराजक ज्यादती’ मा स्वयं बस्नेतको पनि घर जलाइएको छ, अरु धेरै नेताहरु जस्तै उनी पनि भागेरै जोगिएका हुन्, भेटेको भए महेश माथि पनि राम्रै कुटपिट हुन सक्थ्यो ? आफ्नो सम्पूर्ण समस्यालाई एकातिर राखेर उनी भने यतिबेला आफ्नो भन्दा अध्यक्ष ओलीको संरक्षणमा ढाल बनेर उभिएका छन् ।

ओली दम्पत्तीका छोरा छोरी छैनन्, तर बस्नेतले उनीहरुको असल छोराको भूमिका निर्वाह गरेका छन् । अभिभावकले छोराछोरीको संरक्षणका लागि जति योगदान गर्छन्, सबै छोराछोरीले अभिभावकको त्यति संरक्षण नगर्ने वर्तमान परिवेशमा बस्नेतले ओलीप्रति गरेको व्यवहार आफैले जन्माएको सन्तानको भन्दा धेरै गुना बढी छ । यो विषयलाई सकारात्मक मान्नेहरु धेरै छन्, उत्तिकै संख्यामा नकरात्मक टिका टिप्पणी गर्नेहरु पनि छन् ।

यो समाजमा सबै सकारात्मक पनि छैनन्, सबै नकरात्मक पनि छैनन् । जसले जे गरे पनि समर्थन गर्ने र विरोध गर्नेहरु हुन्छन् नै, यो बेलामा महेशले जे गरेका छन्, बढी नकरात्मक धारणा राख्नेहरु छन् । समयक्रममा तिनै कुरा सकारात्मक पनि हुन सक्छन् । राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हँुदैनन् भन्ने धेरै पटक देखिएकै छ, भोगिएकै छ ।

ओलीले नेपालको राजनीतिमा खेलेको भूमिका उल्लेखनीय छ, झापा विद्रोहबाट उदाएका, १४ बर्ष जेल जिवन विताएका, स्वास्थ्य प्रतिकूल हुँदा पनि निरन्तर देशकै बारेमा काम गरेका ओलीका सकारात्मक मात्रै कुरा देख्नेहरु पनि धेरै छन्, ओलीले नेपाली राजनीतिमा देखाएका नकरात्मक प्रवृतिका बारेमा आलोचना गर्ने, विरोध गर्ने र निषेध गर्नेहरु पनि छन् । यो स्वभाविक नै हो । सबै मान्छेका जस्तै उनका पनि सकारात्मक र नकरात्मक विषय छन् ।

नेपालमा जातीय राज्यको विषय उत्कर्षमा हुँदा, संविधानसभाबाट संविधान निर्माण गर्न अवरोध हुँदा होस वा भारतीय नाकाबन्दीका बेला चट्टानी अडान राखेर, चुच्चे नक्सा नेपालको हो भन्ने कुरा संसदको करिव करिव पूर्ण सहमतिमा पारित गराएर ओलीले मुलुकको स्वाधिनताका पक्षमा आफुलाई उभ्याएका छन् ।

मुलुकको विकास निर्माणमा सपना देखाएर, पेट्रोलको संभावना, सुरुङमार्ग लगायत दिर्घकालिन योजना अगाडि बढाएर उनले मुलुक निर्माणमा संभावनाको सन्देश प्रवाह गरेका छन् ।

आफ्नै बहुमतको सरकार हँुदा पार्टीको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले आफ्नै नेता अर्थात ९ जनाको सचिवालय सम्हाल्न नसकेर संसद विघटन गर्ने, जनताले प्रतिपक्षको म्याण्डेट दिएका बेला गठबन्धन भत्काउने नाममा माओवादीसंग सत्ता सहकार्य र पछिल्लो समय प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेससंग सत्ता सहकार्य, सत्तामा गएपछि अरुलाई हेप्ने, पेल्ने जस्ता कुराका कारण ओली आलोचित छन् । विपक्षलाई मात्र होइन, आफ्नै सहयात्रीहरुलाई समेत भित्तामा पु¥याउने उनको प्रवृतिप्रति पनि आम जनताको चासो छदैछ ।

यो आलेखको सन्दर्भ ‘ओली कुटी’ कै हो, परिवारका कुनै सदस्यलाई अप्ठेरो पर्दा त्यो परिवारको अर्को सदस्यले साथ सहयोग दिन्छ, संकटमा पर्दा ढाल भएर उभिन्छ । ओली दम्पत्तीका आफ्नै सन्तान छैनन् तर महेश बस्नेतले स्वयंले जन्माएका छोराले भन्दा धेरै अगाडि बढेर ओली दम्पत्तीलाई गुण्डुमा बासको व्यवस्थापन लगायत सुरक्षा, राजनीतिक गतिविधिमा साथ दिने कार्य स्वागतयोग्य छ ।

अल्पकालिन बासको मात्र होइन, उनी यतिबेला ओलीलाई गुण्डुमा स्थायी रुपमा राख्न चाहन्छन् । उनले संयोजन गरेर गुण्डुबासीको सहयोगमा बन्ने भनिएको ‘ओली कुटी’ का बारेमा धेरै बहस गर्न सकिएला ? एउटा असल छोराले अभिभावक संकटमा पर्दा साथ दिएको भन्दा धेरै साथ दिएको विषयलाई लिएर अनेक तर्क वितर्क गर्न सकिएला ? उनले गरेका कार्यका बारेमा प्रश्न उठाउन सकिएला ? तर पनि यतिबेला ओली दम्पत्ती र एमालेको वर्तमान मुल नेतृत्वका लागि महेशको भूमिका असल छोराको, असल कार्यकर्ताको, असल सहयात्रीको भन्दा बढी नै रहेको छ ।

स्वभाविक रुपमा ओलीलाई महेशले संरक्षण गरेको कुरा जेन जी आन्दोलन र अन्य राजनीतिक दलहरुलाई समेत मन परेको छैन । ‘एमाले बिनाको मुलुक र ओली बिनाको एमाले बनाउन चाहन्छन् केही मान्छेहरु’ भन्ने ओलीको संकेतलाई मनन गर्दा ति मान्छेहरुका नजरमा महेशले गरेको काम ‘अति’ हो ।

विरोधीहरु मात्र होइन, एमाले भित्र नै ओलीको विकल्प चाहनेहरुले पनि महेशको भूमिका प्रति प्रश्न उठाएका विषय नौला छैनन् । सचिवालय बैठकमै ‘ठिक भएको छैन है ।’ भन्ने विषय उठेको कुरा सञ्चारमाध्यममा आएकै छन् । सामाजिक सञ्जालमै प्रत्यक्ष अप्रत्यक्ष रुपमा उनको भूमिकाप्रति विरोधका आवाज मुखरित भएका छन् ।

संकटमा परेको नेतृत्वको रक्षा कवच बन्ने कुरामा एमालेका युवा नेता महेश बस्नेतबाट सिक्न जरुरी छ । अन्य दलका केही युवा नेताहरु र स्वयं एमालेका केही युवा नेताहरुले मुल नेतृत्व संकटमा परेको यही समयलाई आफ्ना लागि अवसरका रुपमा लिएको जस्तै गरी भूमिका निर्वाह गरेको वर्तमान सन्दर्भमा महेशले खेलेको भूमिकालाई उनका विरोधीहरुले समेत नेता होस त महेश बस्नेत जस्तो भन्ने गरेको पनि नसुनिएको होइन ।

महेशको अगुवाईमा बन्न थालेको ‘ओली कुटी’ का बारेमा धेरैले धेरै अड्कल काटेका छन्, धारणा व्यक्त गरेका छन् । ‘कुटी’ शब्दकै अपमान भएको लगायतका चर्चा भएका छन् । यहाँ ति सबै विषयमा छलफल गर्न खोजिएको छैन । खासमा ओली दम्पत्तीले राज्यका नाममा दिएको घर जलेको र बस्न लायक नभएकोले त्यो घरलाई भदौ २४, २०८२ मा भएको विध्वंशको सम्झनाका रुपमा राख्ने र ओली दम्पत्तीका लागि गुण्डुमा निवास निर्माण गर्ने नै मुख्य कुरा हो । त्यसमा महेशले गरेको अगुवाई, ओलीको सुरक्षाका लागि गरेका कार्यहरुले यतिबेला महेशका बारेमा देशभर छलफल चलिरहेको छ ।

महेशलाई कुनै समय, समाजमा गुण्डाका नाइकेका रुपमा चित्रित गरियो, तर उनी आफै भने गुण्डागर्दीमा लागेकाहरुलाई समाजमा स्थापित गर्न आफुले भूमिका निर्वाह गर्दै आएको दावी गर्छन् । राजनीतिमा उनको भूमिका, उनीप्रतिका धारणा सकारात्मक नकरात्मकमा कुन बढी छ, छलफलको विषय बन्न सक्छ, तर भदौ २४ पछि आफ्नो घर जलेको, आफु भागेर ज्यान जोगाउन पर्ने त्यो कहाली लाग्दो अवस्थामा पनि उनले आफ्नो घर परिवार भन्दा बढी ओलीका लागि चिन्ता लिएका छन्, भूमिका निर्वाह गरेका छन्, त्यो धेरै नै सह्रानिय कार्य हो भन्ने लाग्दछ । यद्यपी महेशले ओलीका लागि गरेको व्यवस्थापनलाई उनीप्रतिको सम्मान, जिम्मेवारी र जवाफदेहिता कि ? अवसरको खोजी ? भन्ने कोणबाट पनि चर्चा भएकै छन् । एमाले भित्रै त्यो खालको आभास देखिन थालेको छ ।

एमालेको ११ औं राष्ट्रिय महाधिवेशन सम्मुखमा छ, वर्तमान केन्द्रीय समितिको ठुलो संख्या ओलीको पक्षमा छ, कतै महेश महत्वपूर्ण पदमा पुग्ने त हैनन् ? ओली पक्षका एमाले र ओली इतरका एमालेमा पनि चर्चा शुरु भएको छ । ओलीले चाहदा तलको मान्छे ह्वात्तै माथि पुगेका र माथिका मान्छे किनारामा लागेका दर्जनौ उदाहरण आम नेता कार्यकर्ताका अगाडि छर्लङ्गै छन् ।

ओलीका अगाडि भन्न सक्नेहरुले त भने नै, भन्न नसक्नेहरु पनि धेरै छन्, आन्तरिक बसाई, चियागफ लगायत भेटघाटका क्रममा महेशका गतिविधिले ‘ठिक’ भएको छैन है, भन्नेहरु ओली क्याम्पकै नेताहरु छन्, तर तिनलाई ओलीका अगाडि ठिक भएको छ भन्नु पर्ने वाध्यता छ । किनकी महाधिवेशन संघारमा छ ?

राजनीतिमा विचार नमिल्दा काट्ने र विचार मिल्दा चाट्ने प्रवृति छ । महेश बस्नेतसंग कुनै दिन मेरो पनि केही सम्बन्ध थियो, उनी उद्योगमन्त्री भएको एक साता नहुदै २०७१ असोजमा हाम्रो संस्थामा प्रमुख अतिथि बनाएर कार्यक्रम गरिएको थियो । यद्यपी त्यो दिन बाहेक महेशसंग आजको दिनसम्म प्रत्यक्ष वार्तालाप भएको छैन । तर उनका गतिविधि आम जनताले जस्तै मैले पनि नियालिरहेको छु ।

नवौ र दशौ महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन पर्छ भन्ने विषयमा एउटै धारमा रहेका महेश र म ? अहिले फरक धारमा छौ । एघारौ महाधिवेशनबाट ओलीले सहज अवतरण गर्नु पर्छ भन्ने मान्यतामा म छु, यद्यपी मेरो मान्यताले त्यहा केही अर्थ राख्दैन, म एमालेको महाधिवेशनको मतदाता पनि होइन, म त्यहा भित्र जान पाउने मध्यको मान्छे पनि होइन । तर हिजो हाम्रोतिर ओलीलाई अध्यक्ष बनाउनै हुदैन ? भन्ने समयमा म बनाउन पर्छ भन्ने मान्यता राख्थे, अहिले हाम्रोतिर ओलीको विकल्प छैन ? भन्नेहरु धेरै हुदा मेरो फरक धारणा छ । मेरो मनले भन्छ, हिजो ओलीको आवश्यकता थियो, ११ वर्ष ओलीले नेतृत्व गरे, अब ओलीको होइन, नयाँको आवश्यकता छ, ओली अभिभावक बनेर मार्गदर्शन गर्न सक्नु पर्छ ।

ओली २ कार्यकाल (११ वर्ष) अध्यक्ष भए, ३ पटक (करिव ६ वर्ष) प्रधानमन्त्री भए । उनले सम्हालेका यि दुवै पदमा उनका धेरै सकारात्मक विषय छन्, केही नकरात्मक विषय छन् । ओलीले देशको राजनीतिक परिवर्तनका लागि, मुलुक निर्माणका लागि अवसर पाएकै छन् र सकेको गरेकै छन् । उनले लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको नेपाली जनताले कदर गरेकै छन् । कतिपय भूमिकामा असहमति हुने कुरा स्वभाविक नै छ ।

एमाले लगायत राजनीतिक दलहरुमा एउटा जवरजस्त समस्या छ, नेतृत्वमा पुग्यो कि ? छोड्न धौ धौ हुने ? माधव नेपालले एमालेको १५ वर्ष नेतृत्व गरे, निकै छटपटाहटका साथ १४ वर्ष बाहिर बसेका उनी ४ वर्ष अगाडि पार्टी विभाजन गरेरै सही, मुल नेतृत्वमै छन् । अन्य पार्टीहरुमा पनि त्यो रोग कायमै छ । अर्को नेपालको राजनीतिमा नेताहरुलाई आलोचना मन पर्दैन । आलोचना ग¥यो कि ! भित्तामा पुराउने अवस्था छ । एमालेमा त्यो अझै बेसी देखिन्छ । तलदेखि माथिसम्म आलोचना नपचेका थुप्रै उदाहरणहरु छन्, यदी आलोचनालाई सकारात्मक रुपमा लिएको भए, तोप पड्काउदा पनि ढल्दैन भनेको निवर्तमान सरकार ढल्ने थिएन ।

युवाहरु आक्रोशित छन्, नवयुवाहरु नेताहरुप्रति नकरात्मक धारणा राख्छन्, नेताहरुको भूमिका देखेर नयाँ पुस्ता विरक्त भएको छ भनेर स्वस्थ आलोचना गर्दा उनीहरुलाई नै उडाइयो, कमजोर सावित गर्न खोजियो, जसका कारण आज समस्या सिर्जना भयो, सत्ता मात्रै गएन, ‘ओली कुटी’ निर्माण गर्नु पर्ने अवस्था आइलाग्यो । यो परिस्थिति निर्माणका साझेदारहरु हामी को को हौ ? जनताले कुनै न कुनै रुपमा जवाफ त पक्कै देलान ?

यतिबेला ओलीका खास मान्छे महेश बस्नेतलाई भुइमान्छेको तर्फबाट सानो सुझाव छ, जेन जी को अगुवाईमा भदौ २३ गते भएको आन्दोलन र त्यसमा भएको ज्यादतीलाई सामान्य ठान्ने प्रयत्न गरियो भने त्यो प्रत्युत्पादक हुन सक्छ ? घुसपैठका नाममा त्यसलाई नजरअन्दाज गर्ने काम नगरौ ।

खरबारीमा खर सुकेर विजोग अवस्थामा थियो, आगोको सानो झिल्कोले खरबारी सखाप पार्ने अवस्था थियो, सरकारले सामाजिक सञ्जाल नामको सलाई कोरेर आगो झोस्ने कार्य गरेको हुनाले मुलुकमा यति ठुलो वितण्डा बनाएको कुरालाई पनि विषयान्तर नगरौ ?

नेपालको राजनीति लगायत समग्र क्षेत्रमा थुप्रै समस्या छन्, समस्याको मुल कारक राजनीति भएको छ, त्यसका सहायकका रुपमा विभिन्न क्षेत्रमा तलदेखि माथिसम्म जिम्मेवारी लिने हामी पनि भएका छौ । नेतृत्व निर्माणदेखि विकास निर्माणमा भ्रष्टाचार छ, बेथिती छ, चाकडी चाप्लुसीको सुरुङ छ, घुुस नदिई काम नै नहुने अवस्था आज पनि छ, पदमा पुग्नका लागि साम–दाम–दण्ड–भेद सबै प्रयोग गर्नु पर्ने अवस्था छ, पैसाका बलमा चुनाव जित्ने, नेताहरुलाई पैसा दिएर समानुपातिक सांसद बन्ने, नेताका आफन्तले मात्र त्यो पद पाउने ! प्रवृति छ्वाङ्छ्वाङ्ती देखिएको छ, राजनीतिका तीन प्रमुख खेलाडि (ओली, देउवा र प्रचण्ड) ले रेफ्री अदली बदली गरेरै भए पनि मैदान हत्याउने अवस्था पछिल्लो २ दशक दर्शकका रुपमा जनताले नांगा आँखाले हेरेका छन् । यि लगायतका तमाम बिसगंती सबै देखेर, भोगेर आजित भएको पंक्तिले भदौ २३ मा आन्दोलन गरेको थियो, त्यो आन्दोलनमा सरकारका तर्फबाट जुन खालको ज्यादती भयो, त्यसलाई सामान्य ठान्ने, विषयान्तर गर्ने, अरुलाई दोष दिएर उम्कने काम तत्कालिन सरकार र त्यस सम्बद्ध निकायहरु, गणतन्त्रपछि सरकारको नेतृत्वमा रहेका राजनीतिक दलहरुलाई छुट छैन, यो गल्ती नगरौ ।

भदौ २३ को आन्दोलनमा भएको ज्यादतीलाई अवसरका रुपमा लिएर त्यसको बहानामा भोलीपल्ट भएको ‘अराजक ज्यादती’ लाई ठिक ठान्नेहरुमा मानवियता नै छैन । त्यो अराजकता फैलाउनेहरुलाई छुट दिने अवस्था छैन, त्यसका लागि सरकारको अगुवाईमा सबैको साथ आवश्यक छ, त्यसमा हातेमालो गरौ । सरकारले कतै कमजोरी पो गर्छ कि ? खबरदारी गर्नु पर्नेमा ध्यान दिऔ । यदी त्यो ‘अराजक ज्यादती’ गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन सकिएन भने भोलीका दिनमा यस्ता अराजक प्रवृतिहरुको चाङ लाग्ने अवस्था आउन सक्छ ।

राजनीतिमा आफ्नो पार्टीलाई अगाडि बढाउन, सत्तामा लैजान, टिकाउन जे पनि गर्न पर्छ भन्ने सोच त्यागौ, तर शान्तिपूर्ण रुपमा आफ्ना गतिविधि गर्न, जनतालाई आफु र आफ्नो दलप्रति आकर्षित गर्न स्वतन्त्र गतिविधिमा कसैले अवरोध गर्छ भने त्यसको विरुद्धमा लाग्नुलाई अन्यथा मानिदैन ।

एक पटक गंभिर भएर सोचौ झापा विद्रोह शुरु गर्दा केपी ओली जेनजी नै थिए, २०३७, २०४६, २०६२÷०६३, मधेशमा भएका आन्दोलन पनि जेन जीहरुको सक्रिय सहभागितामा सफल भएका थिए । जेन जी अर्थात नवयुवाहरुलाई जिस्क्याउने, होच्याउने, गिज्याउने, कमजोर देखाउनु भन्दा उनीहरुले अगाडि बढाएका मागहरुको सम्बोधन गर्दै उनीहरुलाई मुलधारको राजनीतिमा अगाडि बढाउन आवश्यक छ । स्वयं महेश बस्नेत जेन जी अवस्थामै गाविस अध्यक्ष भएको कुरालाइ मनन् गरेर राजनीतिमा युवाहरु, अझै नवयुवाहरुलाई प्रेरित गर्न, राजनीति र समग्र क्षेत्रमा भएको गलत प्रवृतिलाई अन्त्य गर्न लाग्नु नै समयको माग हो कि ?

एमाले सुव्यवस्थित संगठन संरचना भएको शक्ति हो । यसले मौका पाउदा अरुले भन्दा केही भिन्न काम गरेको छ तर सबै राम्रो गरेको छ भन्ने भ्रमबाट पनि मुक्त बनौ र सच्चिने, सच्याउने र फेरी धुलो टकटकाउदै अगाडि बढ्ने प्रण गर्नु नै महेश बस्नेत र अन्य युवा नेताहरुको जिम्मेवारी हो कि ?

ओलीलाई संरक्षण गर्नु राम्रो हो, ओलीका लागि कुटी निर्माण गर्नु राम्रो हो, त्यो संगै आन्दोलनमा मारिएका, अंग भंग भएका, ओलीको जस्तै सम्पत्ती नष्ट भएकाहरुको बारेमा के गर्ने होला भन्ने विषय पनि प्राथमिकतामा पर्नु पर्ने हो कि ?

अन्त्यमा, एमालेको आगामी मंसिर अन्तिम साता हुने ११ औं महाधिवेशनबाट ओलीलाई नै तेस्रो कार्यकालका लागि अध्यक्ष बनाउने महेश बस्नेतको जुन धारणा छ, त्यसमा मेरो स्पष्ट असहमति छ, म अब नयाँ मान्छेलाई अध्यक्ष बनाएर ओली सर्वमान्य नेता भएर बस्नु पर्छ भन्ने मान्यता राख्छु, तर बस्नेतले ओली दम्पत्तीका लागि भक्तपुरको गुण्डुमा बनाउन लागेको ‘ओली कुटी’ का लागि मेरो समर्थन छ ।
धन्यवाद