• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

बागलुङमा माओवादी नेताको लस्कर : चुनाव जित्न गठबन्धनकै भर

  • २०८२ कार्तिक १०, सोमबार

बागलुङ । झट्ट हेर्दा नेकपा माओवादी केन्द्रको केन्द्रीय नेतृत्व नै बागलुङमै छ कि ! जस्तो भान हुन्छ । केन्द्रीय पदाधिकारी (हाल सचिवालय) देखि केन्द्रीय सदस्य र प्रदेशमा समेत नेताहरुको प्रभावकारी उपस्थिति छ । नेताहरु दिनानाथ शर्मा, देवेन्द्र पौडेल र हितमान शाक्य हालै विघटन भएको केन्द्रीय कमिटिमा सचिवको जिम्मेवारीमा थिए । केन्द्रीय कमिटि विघटन भई महाधिवेशन आयोजक कमिटि बनेपछि उनीहरु त्यसको सचिवालयमा छन् । ३ मध्ये शाक्यको जिम्मेवारी भने काठमाडौं केन्द्रीत छ ।

साविकको केन्द्रीय कमिटि, हालको महाधिवेशन आयोजक समितिमा बागलुङबाट थप २४ जनाको प्रतिनिधित्व छ । ३ जना केन्द्रीय सल्लाहकार सदस्य छन् । गण्डकी प्रदेश कमिटिमा उपाध्यक्ष सहित ३६ जनाको सहभागिता छ । केन्द्र र प्रदेशमा प्रभावकारी उपस्थिति भएको बागलुङका माओवादी नेताहरुको गृह जिल्लाको राजकीय नेतृत्वको अवस्था भने गठबन्धन नगरी तीन तहकै सत्तामा पुग्न हम्मे हम्मे पर्ने देखिन्छ । विगतका २ वटा निर्वाचन (२०७४ र २०७९) मा माओवादीले विजय प्राप्त गरेका संघीय, प्रदेश र स्थानीय तहको अवस्था हेर्दा गठबन्धनकै भर पर्नु पर्ने अवस्था देखिन्छ । ढुक्कले जित्ने पालिका ताराखोला गाउँपालिका मात्रै देखिन्छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा माओवादीले जिल्लाका ८५ वटा वडा मध्ये १७ वटा वडामा विजय प्राप्त गरेको छ । ५ दलीय गठबन्धनमा सहभागी माओवादी काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाका कुनै पनि वडा र पालिका अध्यक्ष र उपाध्यक्षमा विजय हुन सकेन ।
ताराखोला गाउँपालिकामा ५ वटै वडा अध्यक्ष सहित पालिका अध्यक्ष, बागलुङ नगरपालिकामा एउटा वडा अध्यक्ष सहित उप–प्रमुख, गलकोट नगरपालिकामा २ वटा वडा अध्यक्ष सहित उप–प्रमुख र निसीखोला गाउँपालिकामा एउटा वडा अध्यक्ष सहित उपाध्यक्ष पदमा विजय प्राप्त गरेको थियो ।

पालिका प्रमुख र उपप्रमुख नजिते पनि माओवादीले जैमिनीमा २ वटा वडा अध्यक्ष, तमानखोलामा ३ वटा वडा अध्यक्ष, बडिगाडमा २ वटा वडा अध्यक्ष र ढोरपाटन नगरपालिकामा एउटा वडा अध्यक्ष जित्न सफल भएको छ । ५ दलीय गठबन्धनमा सहभागी माओवादीले प्रदेशसभा सदस्यमा उमेदवार नै दिएन । २०७४ मा एउटा संघीय र एउटा प्रदेश जितेको माओवादी २०७९ मा संघीयमै चित्त बुझाउन वाध्य भयो । गठबन्धनका दलहरुलाई भागवण्डा गर्दा माओवादीले संघीय क्षेत्र नं. २, राष्ट्रिय जनमोर्चाले संघीय क्षेत्र नं. १ र नेपाली कांग्रेसले प्रदेशसभाका ४ वटै क्षेत्रमा उमेदवारी दिएर विजयी भएका थिए ।

२०६२÷०६३ को जनआन्दोलनपछि खुल्ला राजनीतिमा आएको माओवादी २०६४ को संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एक्लै चुनाव लडेको थियो । त्यसबेला पराजित भएको माओवादी त्यस यताका २ संसदीय निर्वाचनमा बागलुङ क्षेत्र नं. २ बाट लगातार विजयी भएको छ । २०७४ को निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनमा रहेको माओवादीका तर्फबाट नेता देवेन्द्र पौडेल सांसद बन्न सफल भएका थिए । उनै पौडेल २०७९ को संसदीय निर्वाचनमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी सहितको गठबन्धनबाट विजयी भए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई बर्खास्त गरी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले दिएको आदेशपछि बनेको देउवा नेतृत्वको सरकारमा पौडेल शिक्षामन्त्री समेत बन्न सफल भएका थिए । बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर स्थायी ठेगाना भएका पौडेलले गठबन्धनकै भरमा आफु मतदाता नरहेको बागलुङ क्षेत्र नं. २ बाट २ पटक सांसद र एक पटक मन्त्री हुने अवसर पाएका छन् । उनै पौडेलको वडामा भने उनको पार्टी नेकपा माओवादी केन्द्रको अवस्था निकै कमजोर देखिन्छ ।

पार्टीका निवर्तमान सचिव समेत रहेका पौडेलको वडामा २०७९ को स्थानीय तह निर्वाचनमा माओवादी सहित नेपाली कांग्रेसको समर्थनमा राष्ट्रिय जनमोर्चाका उमेदवार लोकनाथ शर्माले १७८ मत प्राप्त गर्दा गठबन्धनका विद्रोही उमेदवार कोपिलामणी शर्माले १३३८ मत प्राप्त गरेर विजयी भए । पौडेल मात्रै होइन, अमलाचौर, अर्का निवर्तमान सचिव दिनानाथ शर्मा, महाधिवेशन आयोजक समिति सदस्य बलावती शर्मा, महाधिवेशन आयोजक समिति सदस्य कल्पना शर्मा तथा केन्द्रीय सल्लाहकार मेघनाथ शर्मा, केन्द्रीय लेखा आयोगका सदस्य मित्र शर्माको पनि वडा हो ।


प्रदेश कमिटिका सचिवालय सदस्य टिका कुमारी विश्वकर्मा, प्रदेश कमिटि सदस्यहरु भोजराज आचार्य र जिवन शर्मा लगायत जिल्ला तहका माओवादी नेताहरुको पनि बाक्लो उपस्थिति बानपा–१२ मा रहेको छ । बानपा–१२, अमलाचौर नेकपा माओवादीका नेताहरुको बाक्लो उपस्थिति रहेको वडा हो, तर पछिल्लो स्थानीय तह निर्वाचनमा माओवादी सहितको गठबन्धनका उमेदवारलाई गठबन्धनकै विद्रोही उमेदवारले भारी मतान्तरले पराजित गरेका थिए । दलहरु सबै छुट्टा छुट्टै प्रतिस्पर्धा गर्दा पनि बानपा–१२ मा माओवादी केन्द्रलाई विजय प्राप्त गर्न उकालै लाग्ने स्थानीयहरु बताउछन् ।

माओवादीका निवर्तमान केन्द्रीय सचिव हितमान शाक्य, उनीसंगै महाधिवेशन आयोजक समिति सदस्य अमृता थापा पनि बागलुङकै वासिन्दा हुन्, यद्यपी उनीहरु दुवै जना जिम्मेवारीको हिसावले बागमती प्रदेशमै छन् । महाधिवेशन आयोजक समिति सदस्य कृष्ण केसी, जेष्ठ कम्युनिष्ट मञ्च सदस्य लालचन्द्र राजभण्डारी लगायतको वडा बागलुङ नगरपालिका वडा नं. ३ हो । यो वडामा माओवादी, राजमो, नेकपा एस सहितको गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार सनी केसीले ९८३ मत पाएर विजयी हुदा एमालेका कमल खड्काले ७६० मत प्राप्त गरेका थिए । एमालेले उमेदवार नबनाएपछि स्वतन्त्र उमेदवारी दिएका पुनम शर्माले ६१३ मत प्राप्त गरेका थिए । एमालेले उमेदवार व्यवस्थापन गर्न सकेको भए यो वडामा ५ दलीय गठबन्धन पराजित हुने अवस्था थियो ।

माओवादीका केन्द्रीय र प्रदेश स्तरका नेताहरुको बाक्लो उपस्थिति भएको अर्को ठाउँ ताराखोला गाउँपालिका हो । २०७४ को स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा पनि पालिका अध्यक्ष र उपाध्यक्ष सहित बहुमत पालिका जित्न सफल ताराखोलामा २०७९ को स्थानीय तह निर्वाचनमा गठबन्धनका तर्फबाट क्लीनस्वीप भएकोे थियो । ताराखोलाबाट चन्द्र बहादुर बुढा मगर, निरमाया श्रीस र धन बहादुर विश्वकर्मा (हिमाल) माओवादीको महाधिवेशन आयोजक समिति सदस्य छन् । उनीहरु ३ जना एउटै वडाका हुन् । ताराखोला गाउँपालिका वडा नं. ५ का स्थायी बासिन्दा उनीहरुको वडा र पालिका दुवैमा माओवादीको नेतृत्व छ ।

पालिकामा केन्द्रीय सदस्य हिमाल अध्यक्ष छन् भने वडामा मन बहादुर रोका वडा अध्यक्ष छन् । गत स्थानीय तह निर्वाचनमा रोकाले ८५४ मत पाएर विजयी हुदा एमालेका धन प्रसाद बुढाले २१९ मत पाएका थिए । महाधिवेशन आयोजक समिति सदस्य चन्द्र बहादुर बुढा मगर २०७४ को प्रदेशसभा निर्वाचनमा विजयी भई गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका थिए । बागलुङमा माओवादीको उद्गमस्थलका रुपमा रहेको ताराखोला वडा नं. २ का नेताहरु प्रकाश घर्ति माओवादीका प्रदेश कमिटि सचिवालय सदस्य छन् । सोही वडाकी केसरी घर्ति (एलिना), दिलमाया रोका (दिपा), भद्र बहादुर घर्ति र भविकला घर्ति प्रदेश कमिटि सदस्य, धन बहादुर खत्री राजन, गोरीमाया थापा प्रदेश परिषद सदस्य, कब बहादुर घर्ति प्रदेश सल्लाकारको जिम्मेवारीमा छन् ।

यो वडाबाट प्रतिनिधित्व गर्ने माओवादी नेताहरु मध्ये प्रदेश सचिवालय सदस्य प्रकाश घर्ति ताराखोला गाउँपालिकाका प्रथम अध्यक्ष हुन्, उनी २०७९ को प्रदेशसभा निर्वाचनमा गठबन्धनको विरुद्धमा स्वतन्त्र रुपमा उमेदवार बनेका थिए, उनलाई एमालेको समर्थन थियो । प्रदेश कमिटि सदस्य केसरी घर्ति पूर्व सांसद हुन् । दिलमाया रोका (दिपा) प्रदेशसभाका पूर्व सदस्य हुन् । ताराखोला वडा नं. ४ मा गत स्थानीय निर्वाचनमा प्रदेश सदस्य भद्र बहादुर घर्ति वडा अध्यक्षमा विजयी भएका थिए, उनले ५६४ मत ल्याएर विजयी हुदा स्वतन्त्र उमेदवार मुक्ति प्रसाद रोकाले ४६६ मत पाएका थिए ।

ताराखोला वडा नं. ४ बाट नरेश केसी प्रदेश कमिटि सदस्य र जित बहादुर खत्री प्रदेश सल्लाहकार रहेका छन् । सो वडामा खत्री वडा अध्यक्ष छन् । उनले गठबन्धनका तर्फबाट ६८८ मत प्राप्त गरेर विजयी हुदा एमालेका मन बहादुर थापाले ८० मत प्राप्त गरेका थिए । माओवादी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य फमलाल निउरे गलकोट नगरपालिका वडा नं. ५ का बासिन्दा हुन, उनी हाल गलकोट नगरपालिकाको उपप्रमुख छन् । गठबन्धनबाट कांग्रेसका भरत शर्मा निउरे प्रमुख र उनी उपप्रमुख हुन् । केन्द्रीय सदस्य निउरे, केन्द्रीय सल्लाहकार तथा संविधानसभा सदस्य पूर्ण बहादुर राना मगर, गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य मेख बहादुर वि.क (पहाड), प्रदेश कमिटि सदस्य ललित श्रीसको वडामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेदवार पवन हमालले ७११ मत प्राप्त गरी विजयी हुदा स्वतन्त्र उमेदवार कमला कुमारी ढकालले ३२२ मत पाएकी थिइन ।

केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा गण्डकी प्रदेश कमिटिका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिल र केन्द्रीय सल्लाहकार याम बहादुर श्रीसको वडा गलकोट नगरपालिका–६ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राम प्रसाद कंडेल वडा अध्यक्ष छन् । कंडेलले ५०५ मत ल्याएर विजयी हुदा एमालेका भक्त बहादुर सार्कीले ४४९ मत पाएका थिए । केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक राजिव घिमिरेको बडिगाड गाउँपालिका वडा नं. ५ मा एमालेका विष्णु प्रसाद आचार्यले १०१२ मत ल्याएर विजयी हुदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रमेश बहादुर घिमिरेले ७९० मत पाएका थिए ।

ढोरपाटन नगरपालिका वडा नं. ३ निवासी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य निल बहादुर पुनको वडामा एमालेका खीम बहादुर सुनारले ५९० मत ल्याएर विजयी हुदा गठबन्धनका तर्फबाट राजमोका उमेदवार नारायण घर्तिले ५७६ मत ल्याएका थिए । तमानखोला गाउँपालिका वडा नं. २ का खगेन्द्र छन्त्याल पनि माओवादी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य छन् । उनको वडामा माओवादीका थम बहादुर रोकाले ६१२ मत ल्याएर विजयी हुदा कांग्रेसका दल प्रसाद पुनले ५७४ मत पाए ।

किसान आयोगका उपाध्यक्ष समेत भइसकेका नहेन्द्र खड्का माओवादी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य छन् । बागलुङ नगरपालिका वडा नं. ८ सिगाना निवासी खड्काको वडामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार छम बहादुर कार्कीले ९३३ मत ल्याएर विजयी हुदा एमालेका जीत बहादुर क्षेत्रीले ६३५ मत पाएका थिए । बागलुङकै तर अन्य जिल्लामा कार्यक्षेत्र भएका नेताहरु हिमाल शर्मा (जैमिनी–१), धन प्रसाद सापकोटा (जैमिनी–२), मित्रशरण शर्मा बिहानी (जैमिनी–१), दुर्गा वि.क (ताराखोला–५), भवानी पन्त (हाल जापान) पनि माओवादीको महाधिवेशन आयोजक समितिमा छन् । प्रदेश कमिटि सचिवालय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य कुसुम बुढा र प्रदेश कमिटि सदस्य चिनीमाया कालाको बरेङ गाउँपालिका वडा नं. २ मा गठबन्धनका तर्फबाट राजमोका उमेदवार हिरा बहादुर घर्तिले ८९९ मत ल्याएर विजयी हुदा एमालेका पदमजंग श्रीसले ६७६ मत ल्याएका थिए ।

यस्तै प्रदेश कमिटि सचिवालय सदस्यद्वय यज्ञबल्लभ शर्मा र कुमार विक्रम क्षेत्रीको बानपा–४ मा गठबन्धनका तर्फबाट प्रत्यासी क्षेत्री वडा अध्यक्ष छन् । उनले १०३३ मत ल्याएर विजयी हुदा एमालेका कल्याण केसीले ५९४ मत पाएका थिए । अर्का सचिवालय सदस्य प्रेम बहादुर घर्तिको निसीखोला गाउँपालिका वडा नं. ५ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हर्कमान घर्तिले १०३३ मत ल्याएर विजयी हुदा स्वतन्त्र उमेदवार मिलन घर्तिले २११ मत पाएका थिए । सचिवालय सदस्य घर्ति निसीखोला गाउँपालिकामा गठबन्धनका तर्फबाट उपाध्यक्ष छन् ।
प्रदेश कमिटि सचिवालय सदस्य चन्द्र अर्यालको ढोरपाटन नगरपालिका वडा नं. १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बान बहादुर छन्त्यालले ६८२ मत प्राप्त गरी विजयी हुदा एमालेका चित्र बहादुर भण्डारीले ४०१ मत प्राप्त गरेको थियो ।

माओवादी केन्द्रका केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व लिएका धेरै नेताको वडामा एकल चुनावमा जादा जित्न नसक्ने अवस्था रहेको माओवादीका एक जिल्ला सदस्यले बताए । उनले भने,–‘नेतृत्व निर्माणको प्रक्रिया नै गलत छ, माथिल्लो नेतृत्वको आगह र निगाहबाट पद पाइने भएपछि संगठन गर्नमा ध्यान गएन ।’ एकल प्रतिस्पर्धा गर्दा पनि जितिएका वडाहरु सिमित छन्, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिका बाहेकका धेरै वडामा कांग्रेस, राजमो र नेकपा एसको सहयोगले जितिएको छ, पद पाउनका लागि माथि ताक्ने प्रवृतिको अन्त्य नहुदासम्म तल संगठन विस्तार हुदैन र तल संगठन विस्तार नहुदासम्म एकल प्रतिस्पर्धाका लागि आँट नै आउदैन, प्रदेश कमिटिका एक सदस्यले गुनासो गरे ।
२०६४ मा भएको संविधानसभा निर्वाचनमा मुलुकको सबै भन्दा ठुलो पार्टी बनेको नेकपा माओवादी केन्द्र त्यसयताको २ दशकमा तेस्रो दलका रुपमा खुम्चिएको छ । तेस्रो पनि गठबन्धनका आडमा भएको आरोप पनि माओवादीलाई लाग्ने गरेको छ । २ दशक अगाडि आफ्नै संगठनको बलमा निर्वाचन जितेर आएको माओवादी पछिल्लो समय निर्वाचन आयो कि, गठबन्धन गर्ने दलको खोजीमा रहेको अनुभूति हुने गरेको राजनीतिमा चासो राख्नेहरु बताउछन् ।

गठबन्धनको संस्कृतिले पार्टीको शक्ति कमजोर हुनुका साथै भुगोलमा खटिने कार्यकर्ताहरु भन्दा बाहिरबाट आएर नेतृत्व लिने अवस्था समेत माओवादी र अन्य दलहरुमा समेत देखिन थालेको छ । माओवादीले आफुलाई बलियो बनाउने कि, जसरी पनि सत्तामा जानका लागि गठबन्धनकै भर पर्ने भन्ने विषयलाई रोज्नु पर्ने केन्द्रीय आयोजक समितिका सदस्य तथा जिल्ला संयोजक राजिव घिमिरेले बताए । गण्डकी प्रदेशका उपाध्यक्ष तथा केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य ज्ञामनाथ गैरे (अनिल) ले विगतका कमी कमजोरीको निर्मम समिक्षा गर्दै आगामी दिनमा पार्टीलाई सबल, सक्षम र एकल प्रतिस्पर्धी बनाउनका लागि सम्पूर्ण शक्तिका साथ परिचालन हुने गरी अगाडि बढ्ने र बागलुङलाई माओवादीको आधार इलाकाका रुपमा स्थापित गरिने दावी गरे ।

 

  • २०८२ कार्तिक १०, सोमबार